News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु शृङ्खलाको अन्तिम खेल ८ जेठमा अमेरिकासँग खेल्नेछ।
- नेपालले लिग २ अंकतालिकामा २२ अंकसहित पाँचौं स्थानमा रहेको छ र शीर्ष ४ मा पर्न जित आवश्यक छ।
- कप्तान सन्दीप लामिछानेले बाँकी सबै खेल जितेर शीर्ष ४ मा पर्न लक्ष्य राखेको बताएका छन्।
३ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले घरेलु शृङंखलाको अन्तिम खेल शुक्रबार खेल्दै छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीचको यस शृङ्खलामा खेलेका तीनमध्ये नेपालले दुई खेल जितिसकेको छ ।
पहिलो खेलमा स्कटल्यान्डसँग जितको नजिक पुगेर पराजित भएको नेपालले त्यसपछि अमेरिकालाई अनि स्कटल्यान्डलाई पराजित गरेर अंकतालिकामा लामो समयपछि बटम २ अर्थात् पुछारको दुई स्थान छाडेको छ ।
हाल २२ अंकका साथ लिग २ अंकतालिकामा पाँचौं स्थानमा रहेको नेपालले अब शृङ्खलाको अन्तिम खेलमा अमेरिकालाई जितेमा २८ खेलमा २४ अंक हुनेछ, जसले नेपालको शीर्ष ४ सम्भावना बलियो बनाउने छ ।
नेपालभन्दा माथि अब नेदरल्यान्ड्स २४ खेलमा २८ अंकका साथ चौथो स्थानमा छ भने तेस्रोमा ओमान २८ खेलमा ३१ अंकसहित छ । शीर्ष २ मा अमेरिका र स्कटल्यान्ड समान ३८ अंकका साथ छन् ।
नेपालले अब यसपछिका शृङ्खलामा नेदरल्यान्ड्स र ओमानसँग पनि खेल्न बाँकी रहेकाले नेपालको शीर्ष ४ भित्र पर्ने सम्भावना अझै पनि राम्रै देखिन्छ । त्यसका लागि जित भने आवश्यक हुनेछ ।
अब हुने अन्तिम खेलमा नेपाल घरेलु शृङ्खलाको छैटौं जित निकाल्न चाहनेछ । ओमान र यूएईसँगको शृङ्खलामा पनि ३ खेल जितेको नेपालले जारी अमेरिका र स्कटल्यान्डसँगको शृङ्खलामा पनि तेस्रो जित निकाल्ने लक्ष्य राखेको छ ।
मंगलबार भएको स्कटल्यान्डसँगको खेलपछि कप्तान सन्दीप लामिछानेले बाँकी सबै खेलहरू महत्त्वपूर्ण रहेकाले जितको लक्ष्य राख्ने बताएका थिए । ‘हामीलाई जसरी हुन्छ जित्नैपर्ने अवस्था छ, बाँकी जति खेल छ त्यो सबै जितेर ढुक्कले शीर्ष ४ मा परेर बस्नेछौं’ सन्दीपले भनेका छन् ।

समान किसिमको लय कायम गर्न नसकेको आलोचना खेप्दै आएको नेपालले जारी शृङ्खलामा लगातार दोस्रो जितको लयलाई निरन्तरता दिँदै त्यही विनिङ मोमेन्टम कायमै राख्ने प्रयास गरिरहेको छ ।
शृङंखलाका बारेमा प्रशिक्षक स्टुअर्ट लले पनि सधैं पहिलेको जस्तो चमत्कार नहुने बताउँदै जति खेल बाँकी छ त्यस खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका थिए ।
यस्तै बुधबार स्कटल्यान्डलाई हराएपछि अमेरिकाका पेस बलर सौरभ नेत्रभल्करले भोलिको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् । ‘नतिजा के हुन्छ त्यो त म अहिल्यै भन्न सक्दिनँ, तर खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेको छु’ सौरभले भने, ‘नेपाली खेलाडीलाई एनपीएलले धेरै सहयोग पुगेको मैले देखें ।’
‘हामी राम्रो खेल प्रस्तुत गर्नेछौं, टीयू मैदानमा कन्डिशन चाँडै परिवर्तन हुन्छ । त्यो कन्डिशनमा अडाप्ट हुन सक्नुपर्छ’ उनले थपे ।
पछिल्लो लय र हेड टु हेड
लिग २ अंकतालिकामा अमेरिका फेरि शीर्षस्थानमा फर्किएको छ । अमेरिकाको २७ खेलमा ३८ अंक छ । शृंखला सुरु हुनुअगाडि पनि अमेरिका शीर्षमा थियो । तर स्कटल्यान्डले लगातार दुई जित निकाल्दै शीर्षमा उक्लिएको थियो ।
स्कटल्यान्डको पनि ३२ खेलबाट समान ३८ अंक छ । नेट रन रेटमा अमेरिकाभन्दा पछाडि रहेकाले स्कटल्यान्ड दोस्रोमा रहेको हो । नेपालको २७ खेलमा २२ अंक छ ।
अमेरिकाले जारी शृङ्खलामा लगातार दुई हारपछि पहिलो जित निकालेको छ । अमेरिकाले बुधबार स्कटल्यान्डलाई पराजित गरेको थियो । अमेरिका पनि विनिङ मोमेन्टम कायम राख्ने लक्ष्यमा छ ।
नेपालले जारी शृङंखलामा दुई जित र एक हारको नतिजा निकालेको छ । नेपालले यसअघि यही शृङ्खलाको खेलमा अमेरिकालाई पराजित गरेको थियो ।
हेड टु हेडको कुरा गर्दा नेपाल र अमेरिका हालसम्म ओडीआई फर्म्याटमा १२ पटक आमनेसामने भएका छन् । नेपालले ५ खेल जित्दा ६ खेलमा पराजित भएको छ । एक खेल टाई भएको छ ।
कीर्तिपुरमा हालसम्म भएका तीनवटै खेल नेपालले जितेको छ ।

टिम कम्बिनेशन र सम्भावित ११
नेपालले अमेरिकासँगको खेलमा कुशल भुर्तेल र आसिफ शेखकै ओपनिङ जोडीलाई खेलाएको थियो जसलाई स्कटल्यान्डसँगको खेलमा पनि निरन्तरता दियो । लगातार जित निकालिरहेको नेपालले भोलिको खेलमा पनि त्यही प्लेइङ ११ खेलाउने सम्भावना देखिन्छ ।
अमेरिकाका कप्तान मोनांक पटेलले भने शृङ्खलाको पहिलो खेलपछि कुनै खेल खेलेका छैनन् । औंलाको चोटबाट रिकभर गरिरहेका उनी नेपालसँगको खेलमा उपलब्ध हुने नहुनेबारे जानकारी आइसकेको छैन ।
अमेरिकाले यसअघिको टोली नै खेलाउने सम्भावना छ । मोनांक उपलब्ध भएमा सन्जय कृष्णमुर्ती बाहिरिन सक्छन् । पहिलो खेलमा सन्जय बाहिर रहेर मोनांक खेलेका थिए ।
नेपालको सम्भावित ११ : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, इशान पान्डे, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी
अमेरिकाको सम्भावित ११ : साइतेजा मुक्कामल्ला (कप्तान), स्मित पटेल, शयान जहांगिर, शेहान जयसूर्या, शुभम रन्जाने, मिलिन्द कुमार, सन्जय कृष्णमुर्ती, हर्मीत सिंह, नोशथुस केन्जिगे, रुसिल उगार्कर, सौरभ नेत्रभल्कर
प्लेयर्स टु वाच

नेपालका लागि ब्याटिङमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीमाथि नै मुख्य नजर रहनेछ । भुर्तेलले पछिल्ला दुई खेलमा राम्रो ब्याटिङ गरिरहेका छन् । पावरप्लेमा उनकै प्रदर्शनले नेपालतर्फ खेलको मोमेन्टम ल्याउने गरेको छ ।
यस्तै दीपेन्द्र पनि पछिल्लो समय लयमा छन् । उनको अलराउन्ड प्रदर्शन नेपालका लागि महत्त्वपुर्ण रहनेछ । दीपेन्द्रले ब्याटिङ मौका पाएका पछिल्ला ६ खेलमा १ शतक र दुई अर्धशतक बनाएका छन् । यस्तै घरेलु शृङ्खलाका ७ खेलमा ९ विकेट पनि लिएका छन् ।
यस्तै बलिङमा सन्दीप लामिछाने मुख्य अस्त्र हुन् । उनले शानदार लय देखाइरहेका छन् । यसअघिको शृङ्खलामा ८ विकेट लिएका सन्दीपले जारी शृङ्खलाका ३ खेलमा ८ विकेट लिएका छन् ।
अमेरिकाका लागि स्मित पटेल र साइतेजा मुक्कामल्ला ब्याटिङमा चम्किन सक्छन् । स्मितले जारी शृङ्खलामा ३ खेलमा १९२ रन बनाएका छन् । साइतेजाले ३ खेलमा १४३ रन बनाएका छन् ।
बलिङमा हर्मीत सिंह र सौरभ नेत्रभल्कर अमेरिकाका दुई प्रमुख विकेट टेकिङ बलरका रूपमा छन् ।
***
खेल : नेपाल भर्सेस् अमेरिका
मिति र समय : ८ जेठ, विहान ९:३०
मौसम : दिउँसो वर्षाको सम्भावना
नेपालको टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, इशान पान्डे, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, करण केसी, विनोद भण्डारी, अर्जुन कुमाल
अमेरिकाको टोली : मोनांक पटेल, साइतेजा मुक्कामल्ला, स्मित पटेल, शयान जहांगिर, शेहान जयसूर्या, शुभम रन्जाने, मिलिन्द कुमार, सन्जय कृष्णमुर्ती, हर्मीत सिंह, नोशथुस केन्जिगे, रुसिल उगार्कर, सौरभ नेत्रभल्कर, जेसी सिंह, रितभिक अपिडी
प्रतिक्रिया 4