News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलिया बसोबास गर्ने निष्प्रभ सजीले नेपाली प्रवासी जीवन, प्रेम, पीडा र सामाजिक विषयवस्तुमा उपन्यास, कविता र गजल लेख्छन्।
- उनले नेपाली राजनीति, समाज र साहित्यमा आफ्नो दृष्टिकोण राख्दै पत्रकारिताको निष्पक्षता र विकासमा जोड दिएका छन्।
अस्ट्रेलिया बसोबास गर्ने निष्प्रभ सजी उपन्यास, कविता र गजल विधामा लेख्छन् । २०१५ मा प्रकाशित ‘हार्लिङ हार्बर’ उनको पहिलो उपन्यास हो । यसबाहेक हालै बजारमा आएको ‘याली’ उनको दोस्रो उपन्यास हो । उनका दुई कविता संग्रह पनि प्रकाशित छन् । उनको लेखनमा नेपाली प्रवासी जीवन, प्रेम, पीडा, सामाजिक विषयवस्तु र दैनिक भावनाहरू प्रमुख रूपमा झल्किन्छन् ।
सामाजिक सञ्जालमा निकै सक्रिय रहेर आफ्ना कविता, गजल र मुक्तकहरू समेत उनले नियमित रूपमा शेयर गरिरहेका हुन्छन् । उनको ‘निष्प्रभ सजी आर्ट्स एन्ड इन्टरटेनमेन्ट’ नामक युट्युब च्यानल समेत छ ।
यस पटक उनले अनलाइनखबरसँग दिलै खोलेका छन् ।
हिजोआज
पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनुभयो ?
कुनै कुरा अथवा समाचार भन्दा पनि नेपाली जनताले जुन परिवर्तनको बाटो रोजेका छन्, त्यो असाध्यै खुसीको विषय लागिरहेको छ।
दिक्क बनाएको कुरा ?
नेपाली जनताले परिवर्तनको बाटो रोजे पनि नयाँ सरकारले त्यो परिवर्तन र शक्तिलाई संवदेनशीलता र मानवीयताको कोणबाट हेर्न सकिरहेको छैन कि जस्तो लाग्दा दिक्क लाग्दोरहेछ । यद्यपि सँगसँगै देशको दूरगामी हितका लागि यो सरकार सफल होस् भन्ने चाहना पनि छ ।
अचेल सबभन्दा रोचक लागेको विषय वा व्यक्ति ?
नेपाली राजनीति र बालेन
नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
हामी देशलाई माया गछौं । देशका लागि एकजुट पनि हुन्छौं । तर विज्ञान र विकासभन्दा पनि धर्म र संस्कृतिको मियोमा चाहिने भन्दा बढी बेरिएका छौं ।
पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
केही निकै राम्रा पत्रकारहरू हुनुहुन्छ, जसलाई पछ्याइरहन्छु । तर, निष्पक्ष पत्रकारिताको अभाव छ । पत्रकारिताले पनि आफ्नो मूल्य र मान्यताप्रति सचेत र आफ्नो कार्यशैलीमाथि समीक्षा गर्नु आवश्यक छ । लोकतन्त्रका लागि पत्रकारिता निर्भयका साथ बाँचिरहनु आवश्यक छ ।
इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
मैले जीवनमा जे बाटो रोजेँ, त्यो मेरो रोजाइ मात्र थिएन । त्यसमा विभिन्न घटना परिघटनाहरू सहायक थिए । र, म जीवनका हरेक निर्णयहरूलाई केही हदसम्म संयोग मान्ने गर्छु । त्यस्तो भएको भए सायद म सम्बन्ध र स्वभावमा केही परिवर्तन अलि चाँडै गर्थें होला ।

बाल्यकाल र किशोरावस्था
सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो ?
धेरै त फुटबल नै पो खेलियो । अलि पछि भने क्रिकेट खुबै खेलिन्थ्यो ।
साथीहरूले तपाईंको निकनेमहरू केके राखिदिएका थिए ?
निकनेम त धेरै खालका राखिदिएका थिए नि । राम्रा नराम्रा । तर मेरो माधव नामलाई बिगारेर मादेउ भन्थे । त्यो मलाई प्रिय लाग्थ्यो।
तपाईंको कोहीसँग झगडा परेको थियो ?
केटाकेटीमा साथीहरूसँग हुन्थ्यो । तर एकैक्षणमा हामी मिलिहाल्थ्यौं। हाम्रो त्यस्तो झगडाले कहिल्यै बिराट रुप लिएन ।
तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?
थिए नि ! तर, समयसँगै फेरिँदै गए । अहिले नाम नै लिन पर्दा नेपालीमा गौरी मल्ल र हिन्दी सिनेमामा माधुरी दिक्षित सर्वप्रिय थिए ।
सिनेमा
पहिलो चोटी सिनेमा हेर्दाको सम्झना कस्तो छ ?
पहिलो चोटि हलमा आफैं गएर हेरेको सिनेमा चैं अजय देवगनको जिगर थियो । पोखराको पूर्णिमा हलमा हेरेको थिएँ । फिल्म हेरिसकेपछि पनि कथामा मनमनै उपकथा जोड्न खुब मन लाग्थ्यो ।
कस्ता फिल्म हेर्न मन पर्छ ?
सबै खालका हेरिरहेको छु । तर विधा अनुसारभन्दा ऐतिहासिक र राजनैतिक थ्रिलर । सिरिजहरू पनि खुबै हेर्न मन लाग्छ ।
साह्रै मन परेका फिल्म ?
धेरै छन् । गडफादर, अवतार, इन्टस्टेलर । सिरिजमा गेम अफ थ्रोन्स र भाइकिङ्स । हिन्दीमा लगान, दंगल, र सिरिजमा पंचायत । पछिल्लो समयमा हेरेको नेपाली सिनेमा उनको स्वीटर, हिन्दी सिनेमा लापता लेडिज र अंग्रेजी सिनेमा अपनहाइमर ।
चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै सिनेमा छन् ?
त्यो सिनेमा धेरैले मन पराउँछन् । तर, मलाई खास लागेन । टाइटानिक।
हेर्ने सिनेमा कसरी छान्नु हुन्छ ?
आजकल त सिनेमा छान्न धेरै सजिलो छ । समीक्षा, रेटिङ र अवार्ड हेरेर, सुनेर प्राय: सिनेमा छानिरहेको हुन्छु ।
नेपालमा कस्ता सिनेमा धेरै बनुन् जस्तो लाग्छ ?
बन्न त सबै खालका बन्नुपर्छ । तर, ऐतिहासिक कथाहरूमा आधारित विधामा हामी निकै पछाडि छौं । यस्ता सिनेमा अझ धेरै बनुन् जस्तो लाग्छ । अनि बालबालिका लागि कार्टुनहरू त छँदै छैनन् ।
पुस्तक
पुस्तकहरू कतिको पढ्नुहुन्छ ? पढ्दा कस्तो खालका पढ्नुहुन्छ ?
अवसर मिलेसम्म पढ्छु । आजकल बढी अडियो बुक सुन्छु । यति खेर म बुद्ध दर्शनसँग जोडिएका पुस्तकहरू पढिरहेको छु । मेरो रोजाइ फिँजारिएको छ । सायद मेरो जीवनको भोगाइ जस्तै ।
मन परेका कुनै पुस्तक ?
हार्ट ल्याम्प र फ्लेस । भर्खरै पढिकाले अहिले यिनैको नाम आयो ।
तपाईंका प्रिय लेखकहहरू ?
बिपी कोइराला, लेखनाथ पौड्याल, सरुभक्त, पारिजात, टेगोर, पाब्लो नेरुडा । धेरै छन् । अहिले यिनैको नाम आयो।
एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
उम्… सायद रजनिशसँग बिताउँथे ।
नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनु पर्छ ?
हामी बालबालिकाका लागि चाहिने साहित्यमा अझै कमजोर छौं । हामीले यसमा नै काम गर्नुपर्छ ।
घुमफिर र सोख
घुमफिर गर्न कत्तिको रुचाउनु हुन्छ ?
लेखकका रूपमा भ्रमण पढ्नु जत्तिकै महत्वपूर्ण छ । फुर्सद मिल्यो भने निस्किहाल्छु।
सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
न्यूजिल्याण्डको क्विन्सटाउन फेरि जान मन छ । मेरा लागि यो धितै नमर्ने ठाउँ हो।
सबभन्दा मनपरेको ठाउँ वा यात्रा ?
क्विन्सटाउन र पोखरा । क्विन्सटाउनदेखि क्राइसचर्चसम्मको यात्रा । यो यात्राले नेपाललाई पनि यस्तो बनाउन सकिन्छ है भन्ने मिठो कल्पना मिसाइदियो । प्रकृतिलाई जोगाएर पनि विकास गर्न सकिन्छ भन्ने उदाहरण हो यो देश ।

एउटै यात्रामा हिमाल देख्न पाइन्छ । त्यसबाट बनेको हिमताल । त्यसबाट बगेको नदी, अनि त्यही नदी समुन्द्रमा मिसिएको त्यो अदभूत प्रकृतिलाई विकासले निकै जतनले बेरेको छ । जहाँ हामी साना छोरीहरूसँग घुम्न सकेका थियौं । न्यूजिल्याण्ड गए पछि यस्तो पनि लाग्यो कि हिलारीसँग जोडिएको सम्बन्धलाई अब विस्तार गरेर अब विकासका लागि साझेदारी गरौं । यो देश एउटा सुहाउँदो मोडल हुनसक्छ ।
गीत कत्तिको सन्नुहुन्छ ? र, सबभन्दा मन परेका गायक ?
धेरै सुन्छु । अहिले पुराना गीतहरू सुनिरहेको छु । रफी, किशोर कुमार, मेहेन्दी हसन र जगजीत सिंको छुट्टै प्रभाव छ।
के कुराको विशेष सोख छ ?
लेख्ने/पढ्ने त छँदै छ । त्यो बाहेकको भन्दा फोटो, भिडियोग्राफी र टेनिस खेल्न ।
खानाको कत्तिको सोखिन हुनुहुन्छ? मनपर्ने परिकार ?
ठिकैको छु । मलाई नेपाली खाना पछि चाहिँ थाइकरी असाध्यै मन पर्छ ।
किनमेल गर्न कति रुचाउनु हुन्छ ?
मन पर्छ । मेरो जुत्ता बढी किन्ने बानी छ । अरु आवश्यक मात्र।
के कस्ता किनमेलका लागि बजार जानुहुन्छ ?
आवश्यक कपडा, खानेकुरा । अरु कुरा प्राय: अनलाइनबाटै किन्छु ।
आफ्नो लुगाफाटो आफैँकिन्नुहुन्छ कि अरूले किनिदिन्छन् ?
आफैं किन्छु।
अहिलेसम्म किन्नु भएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?
फोटोग्राफी र भिडियोग्राफीमा रूचि भएर मैले क्यामेरा र लेन्स किनेको छु । सायद त्यै भन्न पर्ला । सेवामा चैं हवाइ सेवा नै हो ।
राजनीति
नेपालको राजनीति कस्तो लाग्छ ?
हामी बढी भावुक र आक्रोशित छौं । हामी संयमित, व्यवहारिक र अनुशासित हुन पर्ने छ । यसको प्रभाव राजनीतिमा प्रष्ट देखिन्छ ।
हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
धेरै नै छन् । तर, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्न नसक्नु बढी हो जस्तो लाग्छ । हामी प्राकृतिक सुन्दरताले भरिपूर्ण देश भन्छौं । तर, पर्यटनलाई केन्द्रमा राखेर विकास गरेका छैनौं । त्यो पनि समस्या नै हो ।
नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुर्धानुहुन्थ्यो ?
आफ्नो लागि नभई आफ्ना सन्ततीको भविष्यको लागि राजनीति गर्नु पर्छ भन्ने गुण थपिदिन्थेँ ।
मन परेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
महेन्द्र, बिपी, मनमोहन अधिकारी र गान्धी ।
मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबैभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
म हरेक नागरिकको चलअचल सम्पत्ती छानबिन गर्थें । स्रोत नखुलेको सम्पत्ती सरकारीकरण गर्थें । सँगसँगै वृद्धहरुका लागि हरेक सहरमा सांस्कृतिकमैत्री सुविधा सम्पन्न केयर होमहरू बनाउथेँ । मेरो अर्को प्राथमिकता पर्यटन केन्द्रित विकास पनि हुन्थ्यो ।
सामाजिक सञ्जाल
कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?
आईफोन १२ म्याक्स
दिनको कति घन्टा मोबाइल र सञ्जालमा समयमा बिताउनुहुन्छ ?
एकदेखि दुईघण्टा मोबाइल चलाउँछु । आजकल टिकटक पनि बनाउँछु । आफूलाई मनपर्ने गीत गुनगुनाउँदै । यसले कामको थकान हटाउँछ। अरु समय पढ्छु । मोबाइलमा पनि ।
बिहान उठ्ना साथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?
छ । किनभने, आजकल फोन नै घडी, पत्रिका, टिभी र पुस्तक भएको छ।

सञ्जालक राम्रो र नराम्रो पक्ष के लाग्छ ?
राम्रो पक्ष यो ज्ञान र सुचनाको भण्डार हो । तर, मनरोञ्जनका सामाग्रीले भने अलिकति दायरा खोजिरहेका छन् ।
फलोअर्स, लाइक, कमेन्ट, भ्युजले तपाईंलाई केकति प्रभाव पार्छ ?
यो राम्रा कन्टेन्टहरूको प्रवाहमा सहयोगी पनि हुन्छ । यसअर्थमा मलाई सकरात्मक लाग्छ । कन्टेन्ट आफैं भने, यसको पछि लाग्नु हुँदैन ।
एआई टुलहरू कतिको चलाइरहनु भएको छ? बढी कुन चलाउनु हुन्छ ?
माइक्रोसफ्टको कोपाइलट र च्याटजीपीटी कहिलेकाहीँ चलाउँछु।
सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्ने छ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
लाग्छ । मोबाइल फोनको अब सायद नाम पनि परिवर्तन गर्ने बेला आएको छ । यो फोनमा मात्रै सीमित रहेन । यो मेरा लागि अडियो बुकको पुस्तकालय पनि हो, समाचारको स्रोत पनि हो, रेडियो र मुभी थिएटर पनि । यो सामाजिक सञ्जाल नभएको भए मोबाइलले पनि स्मार्ट हुन पाउँदैन थियो होला ।
रोचक तथ्य
पुन: जन्म हुने भए अब के बन्न मन छ ?
म यसमा विश्वास गर्दिनँ । भइहालेँ भने निर्जीव हुन चाहन्छु । ढुंगा जस्तो । सकभर काम पनि लाग्ने । दौडधुप गर्नु नपर्ने । आफ्नो भूगोल छोड्नु नपर्ने ।
तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?
छोरीहरूसँग टेनिस खेलेर । गीत सुनेर । मनपर्ने मुभी हेरेर र पुस्तक पढेर ।
तपाईलाई केको सुगन्ध सबैभन्दा मनपर्छ ?
स्टार जाजमिनको । यो फूलको सुगन्ध मलाई असाध्यै नै मन पर्छ ।
अहिलेसम्म तपाईंले पाउनु भएको राम्रो सुझाव ?
आफैं तिर फर्क । आफूलाई नफिँजार । बटुल्न गाह्रो हुन्छ । सबैभन्दा कठोर प्रश्न अरुलाई होइन, आफैंलाई गर ।
आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
यो पुस्ताले धर्मभन्दामाथि विज्ञान र विकासलाई राख्नुपर्छ ।
दिलै खोलेर अनलाइनखबरको साप्ताहिक कुराकानी श्रृङ्खला हो । यसमा हामी विभिन्न विषयमा अझ नजिक हुने गरी कुराकानी गर्छौं ।
प्रतिक्रिया 4