९ जेठ, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकाभित्र सञ्चालनमा रहेका केही संस्थागत विद्यालयहरूले संघीय सरकारको निर्णयविपरीत आइतबारको सार्वजनिक बिदा कटौती गर्दै शुक्रबार बिदा दिने र आइतबार विद्यालय सञ्चालन गर्ने गरेको पाइएको छ ।
नेपाल सरकारले देशभरका विद्यालयमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गरेपछि सरकारी तथा अधिकांश विद्यालयहरूले सो नियम पालना गरिरहेका छन् । तर, बोदेबरसाईनका केही निजी विद्यालयहरूले भने आफ्नो अनुकूल समयतालिका बनाएर आइतबार कक्षा सञ्चालन गरिरहेका छन्।
स्थानीय अभिभावकहरूका अनुसार विद्यालयहरूले शुक्रबार बिदा दिँदै आइतबार नियमित रूपमा पठनपाठन सञ्चालन गर्दा विद्यार्थी, अभिभावक तथा शिक्षकसमेत अन्योलमा परेका छन्। ‘सरकारले दिएको बिदा विद्यालयले मनपरी रूपमा हटाउन मिल्छ ?’ भन्ने प्रश्न अभिभावकहरूले उठाएका छन्।
विद्यालय प्रशासनले भने मुस्लिम समुदायको जुम्मा नमाजलाई ध्यानमा राखेर शुक्रबार बिदा दिने गरिएको बताउने गरेका छन्। तर, संघीय सरकारको शिक्षासम्बन्धी नियम तथा स्थानीय तहको निर्देशनविपरीत विद्यालय सञ्चालन गर्नु उचित नभएको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् ।
स्थानीयवासीहरूले नगरपालिकाको शिक्षा शाखाले निजी विद्यालयहरूको अनुगमन गरी एकरूपता कायम गर्नुपर्ने माग गरेका छन् । नियमअनुसार विद्यालय सञ्चालन नभए शिक्षा क्षेत्रमा अव्यवस्था बढ्ने उनीहरूको भनाइ छ ।
बोदेबरसाईन नगरपालिका शिक्षा, युवा तथा खेलकुदशाखा प्रमुख राम सागर यादवले शाखाले शुक्रबार विद्यालय बन्द गरेर आइतबार संचालन गर्न अनुमानित नदिइएको बताउदै यस्तो गरेको पाएमा शाखाले कारबाही प्रक्रिया अघि बढाउने बताए ।
प्रतिक्रिया 4