+
+
Shares

मलेसियामा पहिलोपटक गुञ्जिँदै ‘नेपथ्य’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ ले जेठ १८ मा मलेसियाको राजधानी क्वालालम्पुरस्थित ‘जेप क्वालालम्पुर’ मा प्रस्तुति दिने भएको छ ।
  • यो कन्सर्टसँगै नेपथ्यका लागि मलेसिया २० औं देश र क्वालालम्पुर ५८ औं अन्तर्राष्ट्रिय शहर बन्नेछ ।
  • गायक अमृत गुरुङले मलेसियामा रहेका नेपाली दाजुभाइसँग स्वदेशको माया बाँड्न आफू र आफ्नो समूह आतुर रहेको बताए ।

काठमाडौं । अध्ययन र अन्य अवसरका निम्ति बिदेशिएका नेपालीमाझ लगातारको प्रदर्शनपछि नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ अब रोजगारीका निम्ति प्रवासमा पुगेका दर्शक-श्रोतासँग उभिने भएको छ ।

क्यानाडा र लगत्तैको न्युजिल्यान्ड भ्रमण सकेर गत साता मात्र स्वदेश फिरेको समूह, जुनको पहिलो तारिख (जेठ १८) मा मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुत हुँदै छ । त्यहाँ बसोबास गर्दै आएकाहरूले ‘जेप क्वालालम्पुर’ मा सोमबार बेलुकी नेपाली लोकधुनमा आधारित रक गीतहरूको आनन्द लिन सक्नेछन् ।

जापानको जेप नेटवर्कअन्तर्गत रहेर चार वर्षअघि मात्र तयार भएको यो अन्तर्राष्ट्रिय रंगमंच सहरकै मुख्य पर्यटकीय गन्तव्य बुकित बिन्ताङमा अवस्थित छ । स्थापनाको साढे तीन दशक लामो यात्रामा पहिलोपटक यो मुलुकका दर्शकमाझ उपस्थित हुन लागेको ‘नेपथ्य’ का लागि मलेसिया २० औं देश हुनेछ भने क्वालालम्पुर ५८ औं अन्तर्राष्ट्रिय सहर ।

तन्नेरीकै संघर्ष र सपनाबाट उठेको ‘नेपथ्य’ का निम्ति वैदेशिक रोजगारीका गन्तव्य प्रारम्भिक टेको बनेका थिए । गतवर्ष प्रकाशित नेपथ्यको जीवनी पुस्तकमा नब्बेको दशकताका ब्यान्ड जन्मिएसँगै जापान र हङकङका अनुभवलाई प्राथमिकतासाथ उल्लेख गरिएका छन् ।

त्यसैगरि ब्यान्डले हिजोआज सबैजसो कन्सर्टमा प्रस्तुत गर्ने गरेको म्युजिक भिडियो ‘मै मरिजाउँला, जीवन छोटो छ’ पनि पछिल्लो कालखण्डकै रचनामध्येमा पर्छ, जसमा श्रम गरेर पारिवारिक समुन्नतिको सपना देख्ने तन्नेरीको गाथा समेटिएको छ ।

‘मलेसियाबाट धेरै अगाडिदेखि सामाजिक सञ्जालमार्फत हामीसँग संवाद गरिरहनुभएका दर्शकसँग यसपाला बल्ल भेटघाटको जोग जुर्न लागेकोमा असाध्यै खुसी छु,’ मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङ भन्छन्, ‘रेमिट्यान्सका माध्यमबाट मुलुकको अर्थतन्त्रलाई टेको दिने तन्नेरीहरूसँग स्वदेशको माया बाँड्न म र मेरो टिम आतुर छौँ ।’

लाहुरे परिवारकै सदस्य भएकाले कुनै समयको ‘मलाया’ सँग आफ्नो पनि विगत जोडिएको अमृत बताउँछन् । आफूहरू बसोबास गर्दै आएको स्थानमा नेपथ्यको पहिलो उपस्थितिलाई लिएर क्वालालम्पुर मात्र नभई पर-परसम्मका नेपालीबीच पनि व्यापक चासो अनि उत्साह देखिएको स्थानीय आयोजक संस्था ‘आर्बिटरी इभेन्ट्स’ ले जनाएको छ ।

‘जताततैका जमघटमा कन्सर्टबारे चर्चा चल्न थालेको छ भने फोनमार्फत जिज्ञासा राख्ने पनि दिनदिनै बढिरहेका छन्,’ आयोजक संस्थाका विपिन नकर्मी भन्छन्, ‘दर्शकको सुविधाका लागि सकेसम्म बन्दोबस्त मिलाइरहेका छौँ ।’ विपिनका अनुसार अनलाइन बाहेकका माध्यमबाट टिकट काट्ने दर्शकलाई गाह्रो नपरोस् भनेर दर्शकको घरसम्मै टिकट ‘डेलिभरी’ को व्यवस्था पनि मिलाइएको छ ।

विभिन्न मुलुक र तिनका सहरमा नेपथ्यको उपस्थितिसँगै सिङ्गो नेपाली सङ्गीत क्षेत्रका लागि महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै आएका छन् । फरक–फरक स्रोतका अनुसार पाँच लाखभन्दा बढी नेपालीहरुको बसोबास हुदै आएको देखाउने मलेसियामा हालसम्म सामुदायिक हिसाबले गरिने ससाना गीत तथा नृत्यका संयुक्त आयोजनाको मात्र रेकर्ड देखिन्छ ।

‘नेपथ्य’ ले संसारको जुनसुकै कुनामा पनि आफ्नो प्रस्तुतिमा एकरूपता ल्याउन भरिसक्य कोसिस गर्दै आएको छ । त्यसैले अघिल्ला विदेश यात्रामा जस्तै यो यात्रामा पनि कलाकार, प्राविधिक एवं व्यवस्थापकको टोली क्वालालम्पुर पुग्दै छ ।

‘मलेसियामा रहेर नेपाली कार्यक्रम हेर्दै आएका दर्शकहरुको स्वादमा बढोत्तरीका लागि हामीले स्तरीय कार्यक्रमस्थल देखि प्रस्तुतिका विभिन्न पाटामा उत्तिकै ध्यान पुर्‍याएका छौँ,’ ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘दर्शकले सङ्गीतका साथसाथै नेपाली समुदायकै जमघटको पनि स्तरीय आस्वादन अनुभव गर्नेछन् ।’

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् । कन्सर्टका लागि व्यवस्थापक नेपालयले अनलाइनबाटै टिकट खरिद गर्न सकिने बन्दोबस्त मिलाएको छ ।

त्यसबाहेक मलेसियामा बसोबास गर्दै आएका दर्शकको बढ्दो चासोलाई दृष्टिगत गर्दै फोनबाटै बुकिङको व्यवस्था पनि स्थानीय आयोजकले मिलाएका छन्, जसको बिस्तृत जानकारी नेपथ्यको सामाजिक संजाल पेजहरुमा उल्लेख छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?