News Summary
Generated by OK AI. Editorially reviewed.- रुकुमपश्चिमको चौरजहारीमा सुक्खायाम र भेरी नदीको सतह गहिरिँदा खानेपानीको चरम अभाव भई झण्डै ७ हजार नागरिक प्रभावित भएका छन् ।
- सांसद गोपाल शर्माले प्रतिनिधि सभा बैठकमा चौरजहारीको खानेपानी समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
- सरकारले विनियोजन गरेको तीन करोड रुपैयाँ बजेट खानेपानी कार्यालयले कार्यान्वयन नगर्दा जनताले सास्ती व्यहोर्नुपरेको आरोप उनले लगाए ।
१२ जेठ, काठमाडौं । रुकुमपश्चिमको चौरजहारी क्षेत्रमा खानेपानीको समस्या देखिएको छ । सुक्खायाममा खानीपानीको समस्याबाट चौरजहाजरीका झण्डै ७ हजार जनसंख्या प्रत्यक्ष प्रभावित भएका छन् ।
यो तथ्यांक रुकुमपश्चिमबाट निर्वाचित नेकपा सांसद गोपाल शर्माले प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेका हुन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले खानेपानी समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा उनले भने, ‘रुकुमपश्चिमको चौरजहारीमा विगत केही दिनदेखि खानेपानी आपूर्तिमा देखिएको समस्याले झण्डै ७ हजार जनसंख्यामा प्रत्यक्ष असर पारेको छ । सुक्खायामको प्रभाव र भेरी नदीको सतह गहिरिँदै गई खानेपानी आयोजनाले निर्माण गरेको वेल र सबवेलमा पानी जम्मा नहुने अवस्थाको कारणले अहिलेको समस्या उत्पन्न भएको हो ।’
चौरजहारीमा खानेपानी समस्यालाई मध्यनजर गर्दै नेपाल सरकारले चालु आर्थिक वर्षमा तीन करोड रकम विनियोजन गरेको तर संघीय खानेपानी आयोजना कार्यालय नेपालगञ्जले अहिलेसम्म कुनै पनि कार्य अगाडि नबढाएको उनले बताए ।
यसबाट सरकार जनताका समस्या समाधान गर्न गम्भीर नभएको देखिने उनको भनाइ छ । ‘विनियोजन रकमसमेतको उपयोग नगरी आर्थिक वर्ष गुजार्न थालेको सरकारको कार्यले बताउँछ कि सरकार जनताका समस्या समाधान गर्न गम्भीर छैन,’ उनले भने ।
सांसद शर्माले चौरजहारी लगायत खानेपानी आपूर्तिमा समस्या देखिएका क्षेत्रमा समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया 4