News Summary
Generated by OK AI. Editorially reviewed.- प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे र तराईको तीव्र दोहन नरोकिए तराई केही दशकभित्रै मरुभूमिमा परिणत हुने चेतावनी दिएका छन् ।
- तराई मरुभूमि बनेमा त्यसको तातो हावाका कारण हिमालको हिउँ २० वर्षमै पग्लिएर नेपाली सभ्यता नै नष्ट हुने उनले बताए ।
- सरकारको नीति तथा कार्यक्रममा चुरे संरक्षण नपरेकामा चिन्ता जनाउँदै उनले यसका लागि आवश्यक कानून र बजेटको व्यवस्था गर्न अपिल गरे ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे र तराईको तीव्र दोहन नरोकिने हो भने आगामी केही दशकभित्रै तराई पूर्ण रूपमा मरुभूमिमा परिणत हुने बताएका छन्। डा. यादवकै पालामा नेपाल सरकारले आर्थिक वर्ष २०६६/६७ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयनको सुरुआत गर्यो। २०७१ असार २ गते राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति गठन गरी सरकारले २०७४ जेठमा गुरुयोजना स्वीकृत गरेको थियो।
सरकारले यसपटक ल्याएको नीति तथा कार्यक्रममा भने ‘चुरे संरक्षण’ शब्दसम्म परेको छैन। प्रथम राष्ट्रपति यादव आफ्नो जीवनकालमै चारकोसे झाडी मासिएको र चुरेको आधा जङ्गल सखाप भएको स्मरण गर्दै उनले जङ्गल विनाशकै कारण तराई–मधेशमा अन्न र जलको चरम सङ्कट निम्तिएको बताएका छन्। तराई मरुभूमि बने त्यसको तातो हावाले हिमालको हिउँ २० वर्षमै पगाल्ने र हाम्रो सभ्यता नै नष्ट हुने वैज्ञानिक तथ्य औंल्याउँदै उनी वर्तमान सरकारलाई चुरे संरक्षणका लागि कानून र बजेटको व्यवस्था गर्न विशेष अपिल गर्छन्। प्रस्तुत छ, पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग अनलाइनखबरका लागि सन्त गाहा मगरले चुरे दोहन, पानीको सङ्कट र राजनीतिक नेतृत्वको दायित्वमा केन्द्रित रहेर गरेको संवाद :
गत वर्ष असार–साउनतिरै मधेशमा पानीको हाहाकार मच्चिएको थियो। अब एक वर्षपछि यो विषय सम्झिंदा यहाँको दिमागमा के-कस्ता कुराहरू खेलिराख्छन् ?
तराई–मधेशमा पानीको सङ्कट बारे जुन कुरा गर्नुभयो, यो बडो जटिल छ, तर बडो सोझो कुरा पनि। हाम्रो भूगोलको बारेमा त हामी सबैलाई थाहा नै छ— हिमाल र महाभारत। त्यसमा हिमाल चट्टानी र हिमाच्छादित छ। संसारको सबभन्दा अग्लो चुचुरो हाम्रै देशमा पर्छ, जुन हिमाच्छादित छ। त्यसपछि तल महाभारत शृङ्खला छ, जहाँ चट्टान छ। त्यहाँ ठूल्ठूला चट्टानी पहाडहरू छन्। त्यसपछि नदी छ, उपत्यका छ। त्यहाँ धेरै वनस्पति र जङ्गल छ, अनि विभिन्न प्रकारका जनावर छन्।
त्यसपछि चुरे आउँछ, जसलाई शिवालिक पनि भनिन्छ। हिमालयन शृङ्खलाको कुरा गर्दा, यो अफगानिस्तान, पाकिस्तान, हिन्दुस्तान, चीन, नेपाल, भुटान हुँदै आसाम र उता बर्मासम्म पुग्छ। यो सिङ्गो हिमालयन शृङ्खलालाई हिन्दुकुश भनिन्छ। वैज्ञानिकहरूले यसको उत्पत्तिकालदेखि नै के भन्छन् भने, सबैभन्दा माथि हिमाल छ, त्यसपछि महाभारत शृङ्खला छ र त्यसभन्दा तल शिवालिक शृङ्खला छ, जसलाई हामी नेपाली चुरे (चुरिया) भन्छौं। पूर्वदेखि पश्चिमसम्म हाम्रो सम्पूर्ण देशमा फैलिएको महाभारत शृङ्खला पनि चट्टानी छ। त्यहाँ माटो छ, नदी, उपत्यका, जङ्गल, चराचुरुङ्गी र पारिस्थितिक प्रणालीका सारा कुराहरू छन्।
त्यसपछि बीचमा चुरे शृङ्खला छ, जसले लगभग १२.७८ प्रतिशत अर्थात् करिब १३ प्रतिशत भूमि ओगट्छ। त्योभन्दा तल समथर भूमि तराई छ, जुन १७ प्रतिशत छ।
अब यो चुरेको बनावट कस्तो छ भनेर म आफ्नै अनुभवबाट भन्छु। म अहिले ८४ वर्षको भएँ। म किसान परिवारमा जन्में, त्यसपछि पढ्न–लेख्न गएँ र डाक्टर बनें। डाक्टर बनेर जनताको सेवा र आफ्नो जीवन उपार्जनमा लागें।
विद्यार्थी जीवनदेखि नै म राजनीतिमा जोडिएको थिएँ, प्रजातन्त्र कसरी पुनर्स्थापना गर्ने भनेर लागिरहन्थें। पछि पूर्णकालीन राजनीतिमै लागें, जसले गर्दा पूरै देश घुम्ने मौका पाएँ। यसले गर्दा भगवानले वा प्रकृतिले दिएको यो सुन्दर देश, ‘हरियो वन नेपालको धन’ भनेर चिन्छौं, त्यसलाई नजिकबाट देख्न पाएँ।
मैले मेरो जीवनकालमा देखेको त्यो चुरे शृङ्खलामा घना जङ्गल थियो। त्यो घना जङ्गलमा विभिन्न प्रकारका बोटबिरुवा, जडीबुटीदेखि लिएर अनेकौं जीवजन्तु थिए। हात्ती, गैंडा, नीलगाई, बाघ, भालुदेखि लिएर चित्तल, मृग जस्ता साना–ठूला अनेक प्रकारका जनावर त्यहाँ प्रशस्त थिए। सवा सय वर्ष पहिले राणाकालमा, जब भारतमा अङ्ग्रेजहरूको शासन थियो, तब नेपाली शासकहरूले ब्रिटिश इन्डियालाई उपहारस्वरूप वर्षेनि सय-सय वटा हात्ती दिन्थे भनिन्छ। अङ्ग्रेजहरू आएर हाम्रा जङ्गलहरूमा शिकार खेल्थे। चितवनतिरको शिकारको कथा त तपाईंहरूले सुन्नुभएकै होला। ठोरीमा आएर उनीहरू पन्ध्र दिन, महिना दिनसम्म बसेर शिकार खेल्थे।
त्यति मात्र होइन, बेलायतका राजा जर्ज पनि यहाँ आएर शिकार गरेका थिए। शायद चन्द्रशमशेरको पालामा उनीहरू आएर शिकार गर्दा एकै दिनमा ३०–३५ वटा बाघ, भालु र गैंडाहरू मार्थे भनिन्छ। हाम्रो जङ्गलमा जनावरहरूको त्यति धेरै प्रचुरता थियो।
यो प्रकृति वा भगवानले दिएको उपहार हो। र, एउटा कुरा के बुझ्नुपर्छ भने यो पृथ्वी हाम्रा (मानवका) निमित्त मात्र होइन। बोटबिरुवा, जीवजन्तु, पशुपक्षी, कीराफट्याङ्ग्रा— यी सबैको एकअर्कासँग निर्भरता छ।
अब म चुरे र तपाईंले सोध्नुभएको तराईको पानी सङ्कटको कुरामा आउँछु। त्यो चुरे घना जङ्गल, पशुपक्षी र कीराफट्याङ्ग्रादेखि लिएर जैविक विविधताको हिसाबले एकदमै धनी ठाउँ थियो।
चुरेभन्दा तल १७ प्रतिशत समथर भूमि छ, जसलाई हामी तराई भन्छौं। त्यो तराई पूर्ण रूपमा चुरेमै निर्भर छ। म त्यसैको कथा तपाईंलाई भन्दैछु। म न माटोविज्ञ, न जलविज्ञ, न त वनविज्ञ नै हुँ। प्रकृति वा वातावरणको बारेमा मेरो कुनै औपचारिक डिग्री पनि छैन। तर म जिन्दगीको अनुभवको आधारमा भनिरहेको छु— चुरेमा रहेको घना जङ्गलकै कारण तराईको त्यो समथर भूमि कुनै बेला स्वर्गभूमि थियो।
मैले भन्दै आएको छु, त्यो स्वर्गभूमि नै थियो। कसरी स्वर्गभूमि थियो त ? हिन्दू सनातन धर्मको पौराणिक मान्यता अनुसार भगवान शिव हिमालमा बस्छन् र हामी हिमाललाई स्वर्ग वा पवित्र भूमि मान्छौं। त्यही हिमालकै एउटा हिस्सा वा नेपालकै एउटा पाटो हो तराई, जुन अन्नको भण्डार हो। त्यहाँको जङ्गल र जलका कारण, विशेषगरी रेन फरेस्टका कारण त्यहाँ प्रशस्त पानी पर्थ्यो। जङ्गलले पानी सञ्चय गर्थ्यो।
चुरेको बनावट कस्तो छ भने, यो बालुवा, गिट्टी, ढुङ्गा र कमसल चट्टानले बनेको छ। म यसलाई मधेशमा ‘भुसभुसे पहाड’ भन्छु। जसरी कपास वा रुवाले पानी सोसेर राख्छ, त्यसरी नै त्यो बालुवा र भुसभुसे पहाडले पानी सोसेर राख्थ्यो। त्यहाँ पहिले जति पानी पर्थ्यो, त्यो रेन फरेस्ट र वर्षा चक्रसँग जोडिएको थियो। हामी सबैलाई थाहा छ– समुद्रबाट पानी बाफ बनेर उठ्छ, हावाले बगाएर ल्याउँछ र चिसो ठाउँमा पुगेपछि बादल बनेर पानी पर्छ। यो सामान्य वर्षा चक्र हो।

अहिले त जलवायु परिवर्तनको कुरा पनि जोडिएर आउँछ। कार्बन उत्सर्जनले गर्दा संसार तात्दैछ, तापक्रम बढिरहेको छ र त्यसको प्रभाव हामीले पनि भोगिरहेका छौं। तर, चुरेको विनाशले गर्दा तराईको स्थानीय वर्षा चक्र नै नराम्ररी खलबल हुन पुग्यो।
हो, चुरेमा जुन घना जङ्गल थियो, त्यसले गर्दा त्यहाँ प्रशस्त पानी पर्थ्यो। त्यो पानी सोसेर जमिनमुनि जान्थ्यो। त्यो हाम्रो पानीको भकारी थियो। जसरी हामी अन्न राख्न भकारी बनाउँछौं, त्यस्तै त्यो पानीको भकारी थियो।
पानी सोसेर तल तराईको बेल्टमा पठाउँथ्यो। जसले गर्दा त्यहाँका पोखरी, इनार, कुवा, तालतलैया, सिमसार, नदीनाला सबैतिर पानी भरिभराउ हुन्थ्यो। यसले गर्दा के हुन्थ्यो भने, वर्षातको पानी नदी हुँदै बगेर भारतको गङ्गा हुँदै प्रशान्त महासागर वा हिन्द महासागरमा जान्थ्यो। तर पानी परेको बेला जमिनले पानी सोस्ने र त्यो पानी जमिनमुनि सञ्चित भएर बस्थ्यो। हाम्रा जमिनहरू सिमसार हुन्थे। सिमसार, तालतलैया, पोखरी, इनार, सानासाना पोखरी सबै भरिपूर्ण हुन्थे। यसको एउटा मुख्य कारण अन्न उत्पादन पनि थियो।
त्यसबेला सञ्चार र यातायातको सुविधा थिएन। पहाडबाट मानिसहरू तलका साना बजारमा आएर किनबेच गर्थे र डोकोमा अन्न बोकेर माथि जान्थे। नुन चाहिए तिब्बत वा इन्डियाबाट आउँथ्यो, ढिक्का नुनहरू। तर अरू सबै कुरा तराईमै फल्थ्यो। हामीलाई कपडा, मट्टीतेल र छोरीबेटीको बिहेमा सुनचाँदी किन्न मात्र बजार जानुपर्थ्यो। नत्र अन्न, दाल, तेलहन लगायत सबै कुरा हाम्रै खेतमा उब्जिन्थ्यो। हामी पूर्ण रूपमा आत्मनिर्भर थियौं।
घर बनाउनका लागि चाहिने बाँस, काठ, दाउरा, खर, स्याउला सबै त्यही जङ्गलबाट आउँथ्यो। डोरी (रस्सी) बाट्नका लागि प्रयोग हुने बाबियो (मधेशतिर साबे भनिन्छ) पनि जङ्गलबाटै आउँथ्यो। हाम्रा गाईवस्तुहरू जङ्गलमै चर्न जान्थे, गोठालाहरूले सागसब्जी, अमला, बयर र अनेकौं जडीबुटी (हर्रो–बर्रो) त्यहींबाट ल्याइन्थ्यो। त्यहाँ पर्याप्त चरन क्षेत्र थियो। गाईवस्तु प्रशस्त भएकाले दूध–दहीको कमी थिएन। माछा र फलफूलको पनि कमी थिएन।
त्यतिबेला बाटोघाटो थिएन, नत्र अन्नको भण्डार नै थियो। हामीले भारतमा पनि निर्यात गर्थ्यौं। आजभन्दा ५०–६० वर्ष पहिले १०–१० वटा बयलगाडामा गहुँ, धान, खेसरी र चना बेच्न हामी भारत जान्थ्यौं। म आफैं दाजुभाइ र काकाहरूसँग बयलगाडामा बसेर उता जान्थें। २०२४/२५ सालसम्म हामी धान निर्यात गर्ने देशहरूको सूचीमा पाँचौं स्थानमा थियौं। हाम्रो अन्नको भण्डार त्यस्तो थियो, त्यसैले हामी यसलाई ‘स्वर्ग’ भन्थ्यौं।
त्यतिबेला जस्तो अवस्था अहिले किन छैन ?
जङ्गल सखाप (विनाश) भइरहेको छ। मेरो जिन्दगीमा मैले चारकोसे झाडी देखें। चुरेभन्दा तलको भावर क्षेत्रमा कम्तीमा चार कोस र कतै १० कोससम्म घना जङ्गल थियो। त्यो समथर भूभागको घना जङ्गल चुरे पहाडको ‘बफर’ क्षेत्र थियो। चुरेको माटो, ढुङ्गा र बालुवालाई तलको जङ्गलले बग्न दिंदैनथ्यो, अड्याएर राख्थ्यो।
चुरेमा पनि जङ्गल थियो। रूखका जराहरूले माटोलाई पकडेर राख्थ्यो। जब घना जङ्गल थियो, पानी पर्दा त्यसले पानी सोस्न समय दिन्थ्यो। त्यसले गर्दा तलको जमिन सिञ्चित र रिचार्ज हुन्थ्यो।
३०–४० वर्ष पहिले हामी मामाघर वा ससुराली जाँदा महोत्तरीतिर किसानहरूले बाँसको ढुङ्ग्रो जमिनमा गाडिदिएपछि अटोमेटिक रूपमा खेतमा पानी निस्कन्थ्यो। त्यसलाई इनार ‘आर्टिसियन वेल’ भनिन्छ। बाँसको आँख्ला (घिरा) फोडेर जमिनमा गाड्दा पानी आफैं बाहिर फाल्थ्यो। त्यतिबेला पानीको सतह १५–२० देखि ३०–४० फिटमै थियो।
मैले २०३६ सालमा जनकपुरमा डाक्टरी शुरु गर्दा ब्रह्मपुरी टोलमा एउटा काठको घर बनाएको थिएँ, त्यो घर अहिले पनि छ। त्यतिबेला कल (पम्प) गाड्दा ४०–५० फिटमै पानी आएको थियो। तर अहिले त्यहाँ साढे ३०० देखि ४०० फिट गहिरोमा बल्ल पानी आउँछ।
तराई-मधेशमा ठूल्ठूला पोखरीहरू हुन्छन्। ती पोखरीहरू मान्छेले आफ्नो उपयोगिताका लागि त बनाए, तर पानी संरक्षणमा त्यसको कस्तो भूमिका थियो ? तपाईं त्यसलाई कसरी सम्झिनुहुन्छ ?
यो पोखरी र तालतलैयाको कुरा जुन तपाईंले गर्नुभयो, जनकपुरकै उदाहरण लिऊँ। त्यहाँ ७२ वटा पोखरी बनेका छन्। जनकपुर जस्ता धार्मिक र सांस्कृतिक महत्त्व बोकेका पवित्र ठाउँहरूमा पोखरीहरू देवताले खनेको, राक्षसलाई समातेर खन्न लगाएको भन्ने जस्ता ऐतिहासिक तथा पौराणिक कथाहरू छन्।
हाम्रो समाजमा पोखरी र तालतलैयालाई निकै श्रद्धाले पूजा गरिन्छ। किनभने, त्यही पोखरीबाट हामी पिउने र भान्सामा भात पकाउने पानी ल्याउँथ्यौं। भाँडा सफा गर्ने, गाईवस्तुलाई पानी खुवाउने काम पनि त्यहीं हुन्थ्यो। पूजा वा श्राद्ध गर्नुपर्दा पोखरीकै डिलमा गरिन्थ्यो। छठ पर्वमा पानीमै उभिएर सूर्यको पूजा गरिन्छ, त्यो तपाईंले देख्नु र सुन्नुभएकै होला।
यो प्रकृतिको पूजा हो। पोखरी, नदी र तालतलैया प्रकृतिका अङ्ग हुन्। यसले अन्न र जल दिन्छ। खडेरी परेको वा संकट भएको बेला त्यही पोखरीको पानी लगेर खेतमा पटाएर बाली लगाइन्थ्यो। त्यसैले यो अन्न र जलको स्रोत हो र यसलाई भगवान मानेर पूजा गरिन्छ।
अर्को कुरा, जोसँग सम्पत्ति हुन्थ्यो, उसले एउटा पोखरी खनाउँथ्यो। किनभने, त्यो पोखरीबाट समाजका सबैले र पशुपक्षीले पनि पानी खान्छन्, जसले गर्दा धर्म हुन्छ भन्ने हाम्रो मान्यता थियो।
हामीले सानोमा तनहुँको भानुभक्त र ‘घाँसी कुवा’ को कथा पढेका थियौं। त्यस्तै तराईमा अलिकति सम्पन्न भयो भने धर्म कमाउन पोखरी खन्न लगाउने चलन रहेछ ?
तराईमा पहिले के थियो भने, अलिकति सम्पन्न, धार्मिक प्रवृत्तिको र समाजलाई हेर्न चाहने मान्छेले सबैभन्दा पहिले मन्दिर, पोखरी र इनार बनाउँथ्यो।
उत्तरतिर, जहाँ जङ्गलको फाँट थियो र पानीको अभाव हुन्थ्यो (जस्तै सखुवा महेन्द्रनगर), त्यहाँका सम्पन्न मानिसले गएर इनार खनिदिन्थे। किनकि त्यसले समाज, पशुपक्षी र चराचुरुङ्गी सबैलाई पानी खुवाउँथ्यो। जसरी हामी रूख रोप्छौं र त्यसको फल मानिसका साथै पशुपक्षीले पनि खान्छन्, त्यस्तै पोखरी र इनारको पानी सबैले खान्थे।
त्यहाँ सार्वजनिक रूपमा पानी खान, नुहाउन वा कपडा धुन कसैलाई रोकतोक हुन्नथ्यो, तर फोहोर गर्न भने पाइँदैनथ्यो। वर्षमा एकचोटि, वैशाख १ गतेलाई हामी तराईमा ठूलो पर्वको रूपमा मनाउँछौं, सम्पूर्ण गाउँले मिलेर पोखरी, इनार र तालतलैया सफा गर्थे। तर अहिले त्यो परम्परा हराउँदै गएको छ।
तर अहिले सम्पन्न मान्छेले पनि पोखरी खनाउँदैनन्, होइन ?
समाजसेवा नै गर्न मन लाग्यो भने अहिले मान्छेले अरू नै काम गर्छन्। तर पहिले शहर वा गाउँका मान्छेले पोखरी खनाउने, इनार खनाउने, मन्दिर बनाउने र आँपको बगैंचा लगाउने गर्थे। किनभने, त्यो आफूले मात्र नखाएर समाजलाई पनि खुवाउनका लागि थियो। ठूलो आँपको बगैंचा लगायो भने चैत–वैशाखको हुरीबतासले आँप झर्थ्यो। अनि गाउँका गरिब र जग्गाजमिन नभएका मानिसहरू आएर त्यो आँप टिपेर लैजान्थे। त्यसको सुकुटी (अमावट) बनाएर वर्षभरि खान्थे। त्यसैले तराईका मानिसहरू पहिले–पहिले पोखरी खनाउने, इनार खनाउने र आँपको बगैंचा लगाउने गर्थे।
त्यसपछि शहरमा कस्तो थियो भने, शहरका मान्छेले धर्मशाला बनाउने र गौशाला बनाउने गर्थे। व्यापारीहरूले दिनभर कमाएको पैसाबाट केही अंश छुट्याएर दानपेटिकामा राख्थे। त्यहाँका धार्मिक प्रवृत्तिका मान्छेले त्यो पैसा गौशालालाई दिन्थे। धार्मिक मान्छेले पोखरीका घाटहरू बनाइदिन्थे भने अलि सचेत मान्छेले स्कूल र अस्पताल खोल्थे।
शहरका मानिसलाई त यस्तो चेतना थियो, तर गाउँका मान्छेमा त्यति ज्ञान थिएन। २००७ सालको क्रान्तिपछि मात्र नेताहरू गाउँ–गाउँ गएर स्कूल खोल्नुपर्छ, बच्चाहरूलाई पढाउनुपर्छ भन्न थाले। त्यसपछि बल्ल गाउँमा स्कूलहरू खुल्न थालेका हुन्।
सुरक्षाको हिसाबले पनि पोखरीको केही काम थियो ?
मैले भनिहालें नि, पोखरी खन्नुको मुख्य प्रयोजन आफूले र अरूले पानी खाने र आफ्नो खेतमा सिंचाइ गर्ने नै थियो। त्यसमा माछा हुन्थ्यो, जुन वर्षभरि खान पुग्थ्यो। मूल प्रयोजन त्यही नै हो।
हामी फेरि चुरेमै फर्किंदाखेरि, यहाँले अघि जुन तथ्याङ्क प्रस्तुत गर्नुभयो, ३७ जिल्लामा फैलिएको चुरेलाई हामीले गर्नुपर्ने जति माया गरेनौं, जति स्याहार गर्नुपर्ने हो त्यति गरेनौं, हो ?
हो, मैले भनिरहेको कुरा त्यही हो। मेरो जन्म १९९९ सालको हो। म अहिले ८४ वर्षमा हिंड्दैछु। जब म ७/८ वा १० वर्षको हुँदा मलाई अलिअलि ज्ञान भयो, मैले प्रकृतिको त्यो सुन्दर वन जङ्गल र रेन फरेस्ट देखें। तर मेरै जिन्दगीमा तराईको त्यो चारकोसे जङ्गल समाप्त भयो।
राजनीतिक उथलपुथल र राज्य वा प्रशासनको बेवास्ताका कारण जङ्गलको फँडानी भयो र सारा जङ्गल सखाप भयो। पूर्व–पश्चिम राजमार्ग बनेपछि पनि जङ्गल सखाप भयो। शहरीकरण र अव्यवस्थित बसोबास बढ्यो। राज्यले यसलाई व्यवस्थित ढङ्गले लैजान सकेन।
विभिन्न आन्दोलन भए। जस्तै, २००७ सालको क्रान्ति, २०१७ सालको प्रतिगमनपछि पञ्चायतकाल आयो। २०३७ सालमा जनमत सङ्ग्रहको बेला तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले पञ्चायतलाई जिताउन राजा वीरेन्द्रलाई ‘जङ्गल फ्री गरिदिऊँ’ भनेर रिक्वेस्ट गरेको सुन्नुभएकै होला। त्यतिबेला लगभग ३०–४० प्रतिशत जङ्गल समाप्त भयो।
यसमा दुइटा कुरा थिए क्यारे— एउटा जनतालाई खुशी पार्ने र अर्को काठ बेचेर चुनाव जित्नका लागि अर्थ सङ्कलन गर्ने। नवराज सुवेदीले आफ्नो पुस्तकमा लेख्नुभएको पनि छ ?
तपाईंले पढिसक्नुभएको रहेछ। त्यसमा लेखिएको छ— राजा वीरेन्द्रलाई ‘जङ्गल अलि खुकुलो पारिदियौं भने मान्छेले काठ–दाउरा लैजान्छन्, त्यसले गर्दा हामीलाई भोट पर्छ’ भनिएको थियो। र, काठ–दाउरा बेचेर पैसा पनि सङ्कलन गरियो। त्यो इतिहास छँदैछ।
त्यसपछि बहुदल आयो। म २०४८ सालपछि स्वास्थ्य मन्त्री भएँ। मलाई पर्यावरणप्रति अलि बढी नै रुचि थियो र म स्वास्थ्यकै मान्छे थिएँ। मेरो मनमा सधैं लाग्थ्यो, ‘एकचोटि म वनमन्त्री भएँ भने यो क्षेत्रलाई व्यवस्थित गर्थें।’ पछि २०५६ सालमा फेरि जितेर आएँ। कृष्णप्रसाद भट्टराई र पछि गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा म मन्त्री भएँ। मैले गिरिजाबाबुलाई भनेको थिएँ, “मलाई एकचोटि वन मन्त्रालय दिनुस् न, म अलि व्यवस्थित गर्छु।”

त्यसपछि तपाईंलाई थाहा नै छ, २०५२ सालदेखि माओवादी युद्ध शुरु भयो। २०५२ देखि २०६२/६३ सम्म जङ्गल झनै बढी मासियो। भन्नुको मतलब, यो ६०–७० वर्षको बीचमा जङ्गल निकै मासियो। हरेक पटक आन्दोलन वा उथलपुथल हुँदा त्यसको प्रत्यक्ष प्रहार वन जङ्गलमा परिरहेको छ।
२००७ सालको क्रान्तिका बेला त म सानै थिएँ, तर सुनेको छु— त्यो बेला पनि जङ्गलमा प्रहार भयो। जब–जब राजनीतिक आन्दोलन हुन्छ, तब जङ्गल खुला हुन्छ। २०३७ सालमा जनमत सङ्ग्रहको बेला जङ्गल खुला भयो। २०५२ सालदेखि २०६२/६३ सम्मको १०–१२ वर्ष माओवादी युद्धको बेला जङ्गल खुला भयो। माओवादीका २७ वटा शिविर पनि त्यही चुरे बेल्टमै राखिएका थिए।
पञ्चायतकाल होस्, बहुदलको समय होस् वा माओवादी आन्दोलनको बेला होस्— सबै समयमा जङ्गलमाथि प्रहार भयो, फँडानी भयो र काठको तस्करी भयो। जब–जब आन्दोलन र उथलपुथल हुन्छ, जङ्गलमा मनपरी हुन्छ। त्यसैले त मेरो आफ्नै जीवनकालमा चारकोसे झाडी समाप्त भयो।
अब चुरेमाथि बसाइँसराइ र सडक निर्माणको ठूलो प्रेसर (दबाब) परिरहेको छ। माथि महाभारत शृङ्खलाबाट हामीले मध्यपहाडी राजमार्ग बनाइरहेका छौं। तर चुरे हुँदै राजमार्ग बनाउन कुनै जरूरी थिएन। पूर्वपश्चिम राजमार्ग (जसलाई महेन्द्र राजमार्ग पनि भनिन्छ) चुरेकै फेदीबाट गएको छ, जसले गर्दा त्यहाँको जङ्गल समाप्त भयो। अहिले त्यसलाई चार लेन, ६ लेनमा विस्तार गरिंदैछ, त्यसले पनि जङ्गल मासिरहेको छ।
त्योभन्दा ३०-४० किलोमिटर माथि मध्यपहाडी राजमार्ग छ। त्यसैले बीचबाट, चुरे नै चिरेर मदन भण्डारी राजमार्ग बनाउने कुनै जरूरी थिएन। कम्युनिस्ट सरकारको पालामा त्यो बनाइयो, जुन आवश्यक थिएन।
पूर्वपश्चिम राजमार्गभन्दा करिब २० किलोमिटर तल हुलाकी राजमार्ग छ। यदि राजा महेन्द्रले पूर्वपश्चिम राजमार्ग चुरेको फेदीबाट नबनाएर त्यही हुलाकी राजमार्गलाई नै मुख्य राजमार्ग बनाइदिएको भए हाम्रो समाजको एकीकरण पनि हुन्थ्यो र जङ्गल पनि जोगिन्थ्यो।
सन् १९५५ तिर युएसएडको सहयोगमा नेपालमा औलो उन्मूलन शुरु भयो। डीडीटी छर्ने बेला बीपी कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसबेलादेखि पहाडबाट तराईतिर बसाइँसराइ शुरु भयो। यदि महेन्द्र राजमार्ग तल (हुलाकी राजमार्गको रुटमा) बनाइदिएको भए बसाइँसराइ गर्ने मानिसहरू तलै बस्थे र जङ्गलमा चाप पर्दैनथ्यो।
तर महेन्द्र राजमार्ग जङ्गलकै छेउबाट बन्यो। जहाँ अवसर देखिन्छ, मान्छे त्यहीं सर्छ। एकातिर मलेरिया उन्मूलन भयो, अर्कोतिर पहाडको दुःखले गर्दा मानिसहरू राजमार्गको बेल्टमा आएर सानो पसल वा व्यवसाय गर्दै बस्न थाले। यसरी अव्यवस्थित शहरहरू विकास भए। यसले गर्दा चुरे र चारकोसे झाडीमाथि ठूलो प्रेसर पर्यो।
मेरो जिन्दगीमै चारकोसे झाडी सखाप भयो, चुरेको आधा जङ्गल समाप्त भयो। अहिले चुरेको बालुवा, ढुङ्गा र माटो खनेर लगिंदैछ।
संसद्मा प्रस्तुत भएर पारित भएको सरकारको नीति तथा कार्यक्रममा चुरे संरक्षणको विषयलाई कसरी समेटिएको छ ? यसपटक सरकारले ल्याएको नीति तथा कार्यक्रम यहाँलाई कस्तो लाग्यो ?
म त्यो कुरा जोड्छु। तपाईंलाई लाग्न सक्छ, ‘संरक्षण गर्ने मान्छे नहुँदा पनि यी सब कुरा किन भनिरहनुभएको छ ?’ म राष्ट्रपति भएपछि मेरा केही संवैधानिक दायित्वहरू थिए। राजनीतिक पार्टीहरूलाई समन्वय गर्ने र संविधान बनाउने कुरामा मेरो भूमिका छँदैथियो। तर त्यो बाहेक राष्ट्रका लागि महत्त्वपूर्ण अन्य कुराहरू पनि थिए, जसमा मैले केही गर्नुपर्छ भन्ने मलाई लाग्यो।
म जिन्दगीभर डाक्टर र राजनीतिक कार्यकर्ता भएँ। प्रजातन्त्रको स्थापना र पुनर्स्थापनामा लागें। लोकतान्त्रिक गणतन्त्र स्थापना भयो र संविधान बनाउने चरणमा पुग्यौं, जुन मेरो राष्ट्रिय दायित्व थियो। तर देश घुमेर मैले जे अनुभव प्राप्त गरेको थिएँ, त्यसलाई सम्बोधन गर्नु पनि मेरो राष्ट्रिय दायित्व नै थियो।
मैले सल्लाहकार र सचिवहरूसँग छलफल गर्न थालें। कसैले मलाई स्वास्थ्य क्षेत्रको मान्छे भएकाले स्वास्थ्यमै काम गर्न सुझाए। कसैले बालबालिका वा अनाथ आश्रमको विषयमा काम गर्न सल्लाह दिए। ती सबै कुरा सुन्दै जाँदा मैले भनें, हेर्नुस्, राजनीति र स्वास्थ्य बाहेक मेरो रुचिको विषय भनेको वातावरण र हाम्रो देशको भौगोलिक बनावट हो। हिमाल, पहाड, चुरे र तराईको अवस्थाबारे हामीले छलफल गर्नुपर्छ।
अहिले संसारमै जलवायु परिवर्तनले गर्दा वातावरणको मुद्दा उठिरहेको छ। हिमालको हिउँ पग्लिंदैछ। हामीले विकासको यस्तो मोडल ल्यायौं कि पूरै देशलाई डोजर लगाएर तहसनहस पारिरहेका छौं। क्रसर उद्योगले नदीनालाको दोहन गरिरहेका छन्। पहाड र जङ्गल भत्काइँदैछ। यसले पर्यावरणमा ठूलो असर पार्छ।
मैले आफ्नै जीवनकालमा चारकोसे जङ्गलको विनाश देखें। अहिले चुरे बेल्ट र नदीनालाको जुन अनियन्त्रित दोहन भइरहेको छ; त्यसले जल, जमिन र जङ्गलमा गम्भीर असर पारिरहेको छ। यसैका कारण तराईमा पानी र अन्नको संकट छ।
चुरे र तराई मिलाएर देशको लगभग ३० प्रतिशत भूभाग ओगट्छ। चुरे बेल्टले ३७ वटा जिल्ला छुन्छ भने तराईमा २० वटा जिल्ला छन्। यो ३० प्रतिशत भूभागमा देशको ६० प्रतिशत भन्दा बढी जनसङ्ख्या बस्छ। ६० प्रतिशत नेपाली बस्ने ठाउँमा अन्न र जलको संकट शुरु भइसकेको छ।
पहाडमा त कम्तीमा सानासाना जङ्गललाई सामुदायिक वनको रूपमा समुदायको हातमा दिएकाले त्यहाँको जङ्गल जोगिएको छ। पहिरो जान्छ भनेर पनि मान्छेले जङ्गल काटेका छैनन्। त्यसले गर्दा पहाडमा अलिअलि जङ्गल जोगियो भनिन्छ। भलै देशमा ४५–४८ प्रतिशत जङ्गल छ भन्ने वैज्ञानिकहरूको कुरामा म विश्वास गर्दिनँ। उनीहरू सानासाना बुट्यान र झाडीहरूलाई पनि जङ्गलमै जोड्छन्।
त्यसलाई मात्र जङ्गल भनिंदैन। वास्तविक जङ्गल भनेको त ठूल्ठूला रूखहरू भएको, जनावरहरू बस्ने, गाईवस्तु चर्ने र मानिसले घाँस–दाउरा ल्याउने ठाउँ हो। सानो झाडीलाई मात्र जङ्गल भन्न मिल्दैन।
हाम्रो देशमा ४०-४५ प्रतिशत जङ्गल छ भनिए पनि, तराईमा त जङ्गलै छैन। मधेश प्रदेशमै हेर्नुस्, त्यहाँ जङ्गल ७-८ प्रतिशतभन्दा बढी छैन। मैले यो अनुमान मात्र गरिरहेको छु, ठ्याक्कै तथ्याङ्क तपाईंहरूले हेर्नुहोला। तर समग्रमा जङ्गल सखाप भइसक्यो। मैले भन्दै आएको छु— मेरै जिन्दगीमा चारकोसे जङ्गल मासियो। अब चुरेको जङ्गल मासिइरहेको छ, आधा त खत्तम नै भइसक्यो।
चुरेको बालुवा, माटो, ढुङ्गा र कमसल चट्टान (जुन सजिलै टुट्छ) को क्रसर उद्योग र अवैध क्रसरहरूले रातदिन दोहन गरिरहेका छन्। वैज्ञानिकहरूले के भनिरहेका छन् भने, जसरी अहिले चुरे र भावर क्षेत्रको दोहन भइरहेको छ, त्यसले अन्न र जलको संकट ल्याउँछ नै, साथै आगामी २५–३० वर्षमा तराई मरुभूमीकरणतर्फ जान्छ।
म अहिले ८४ वर्षको भएँ, तर अब आउने पुस्ता ५० वर्षको पुग्दासम्म यो तराई पूर्ण रूपमा मरुभूमि बन्न सक्छ। तराई मरुभूमि भयो भने के हुन्छ ? वैज्ञानिकहरू चुरियालाई हिमालको आर्मर (कवच) भन्छन्, तर तराई मरुभूमीकरण हुँदै गइरहेको छ।
चुरे र चारकोसे जङ्गल समाप्त हुँदा तराईमा के भइरहेको छ, त्यो त हामीले भोगिरहेका छौं। माटो, ढुङ्गा र बालुवा बगेर गएकाले तराईका नदीनालाहरू पुरिएका छन्। यसले गर्दा बाढीले गाउँ पुर्ने, खेतमा बालुवा पस्ने र उर्वर भूमि नष्ट हुने समस्या बढेको छ।
जङ्गल समाप्त भएपछि पानी कम पर्ने, अनिकाल हुने, गर्मी बढ्ने, डढेलो लाग्ने, बाढी–पहिरो आउने र अन्न–जलको संकट हुने— यी सबै सङ्कटले तराई आक्रान्त छ।

अहिले तत्काललाई पिउन र सिंचाइ गर्न पानी त चाहियो नि! पानी त पोखरी, इनार र नदीनालामा हुनुपर्ने हो। पहिले सबैतिर पानी टम्म भरिएको हुन्थ्यो, तर अहिले वैशाख–जेठमा सबै सुकेर जान्छ। त्यहाँ पहिले कलकल बग्ने सफा पानी हुन्थ्यो, अहिले पिउन लायक पानी नै हुँदैन।
त्यसैले, यो अन्न र जलको सङ्कटबाट बचाउन मैले सरकारको ध्यानाकर्षण गराउँदै आएको छु। तपाईंले सोध्नुभयो, ‘यसपालिको सरकारलाई कसरी हेर्नुभएको छ?’ मैले २०५६ सालदेखि नै यो कुरा उठाउन थालेको थिएँ। पछि २०६९/७० तिर गएर यो मूर्तरूप भयो र राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति बन्यो। त्यसमा रामेश्वर खनाललाई अध्यक्ष र डा. विजयसिंह थारू, डा. नागेन्द्र यादवहरूको टिम बनाएर डेढ–दुई वर्ष काम भयो। त्यसपछि एउटा गुरुयोजना बन्यो। केपी ओलीको सरकारपछि आएको प्रचण्डजीको सरकारले त्यो गुरुयोजना पास पनि गर्यो। तर त्यसको कानून अहिलेसम्म बनेको छैन।
पछि फेरि ओलीजीको सरकार आएपछि चुरे हुँदै मदन भण्डारी राजमार्ग बन्यो। त्यसले गर्दा चुरे संरक्षणको विषयलाई ओझेलमा पार्ने र महत्त्वहीन बनाउने काम भयो। तर म देखिरहेको छु, यो राष्ट्रका लागि धेरै ठूलो परियोजना हो।
अहिले आन्दोलनको उपजस्वरूप युवाहरूको नयाँ सरकार आएको छ। हामी आशा गरौं, यो सरकारले राष्ट्रलाई अगाडि बढाउँछ, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ र देशलाई आर्थिक तथा सामाजिक उन्नतितिर लैजान्छ। विकाससँगै पर्यावरणको पनि संरक्षण गर्छ भन्ने हाम्रो अपेक्षा छ।
तर, मैले उठाइरहेको चुरे संरक्षणको विषयमा यो सरकारले अस्ति ल्याएको नीति तथा कार्यक्रममा एक शब्द पनि सुनिएन। बरु त्यसमा ‘चुरेको खनिज उत्खनन गर्ने’ भन्ने एउटा शब्द परेको छ। तर चुरेलाई कसरी बचाउने र अन्न–जलको भण्डारलाई कसरी जोगाउने भन्ने विषय कतै सुनिनँ।
तपाईं आफैं पनि आउनुहुन्थ्यो होला, तर मैले किन बोलाएँ भने, यो मेरो राष्ट्रिय दायित्व हो। देशमा दुईतिहाइको म्यान्डेट लिएर आएको नयाँ सरकार छ, युवाहरूको सरकार छ। मलाई लाग्छ, यो राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण परियोजना हो, जसलाई राष्ट्रिय गौरवको आयोजनामा पनि राखिएको थियो। अहिले गौरवको आयोजनाबाट हटाइएको छ कि छैन, थाहा छैन; तर नीति तथा कार्यक्रममा त मैले देखिनँ।
एक जना पूर्वराष्ट्रपति, जो किसान परिवारबाट आएर प्रजातन्त्रदेखि गणतन्त्रसम्मको राजनीतिक आन्दोलनमा सहभागी भयो र आफ्नो जिम्मेवारी निर्वाह गर्यो, उसको यो राष्ट्रिय दायित्व पनि हो।
यहाँले भन्नुभए जस्तै नीति तथा कार्यक्रममा चुरे संरक्षणको विषय परेन। जेठ १५ गते बजेट प्रस्तुत हुँदैछ। झन्डै दुईतिहाइ नजिकको जनमत भएको यो सरकारले बजेट ल्याउँदा चुरेको विषयलाई समेट्न के गर्नुपर्ला ? यहाँले अघिदेखि नै जुन चिन्ता जाहेर गरिरहनुभएको छ, त्यसलाई कसरी सम्बोधन गर्न सकिएला ?
यो अन्न र जलसँग सम्बन्धित कुरा हो र मैले भने नि, ६० प्रतिशत नेपाली त त्यहीं (चुरे र तराईमा) बसोबास गर्छन्। अहिले तपाईंले सुन्नुभएकै होला, पूर्व र पश्चिम पहाडमा पानीको संकट भएर त्यहाँबाट मधेशतिर बसाइँसराइ भइरहेको छ। पानीको संकट अन्नसँग पनि जोडिएको छ। पानी त जीवनसँग पनि जोडिएको छ। पानी विना त हामी माछा जसरी छट्पटाउँछौं, बाँच्न सक्दैनौं।
नीति तथा कार्यक्रम त सरकारले बनाएको एउटा बृहत् खाका मात्र हो। त्यसभित्र कृषि, जल, जङ्गल र पर्यावरणका कुरा त कतै न कतै छँदैछन् नि! त्यसैभित्र यसलाई पनि समेट्न सकिन्छ। म त वैज्ञानिक होइन, तर सरकारले चाह्यो भने बजेटमा यसलाई राख्न सक्छ।
सरकारले एक वर्षको बजेट ल्याउँदैछ। संसद्मा र जनतासामु ‘म यो काम गर्छु’ भनेर सरकारले प्रतिबद्धता गर्छ। त्यसमा चुरेको विषय पनि समावेश होस् भनेर म सरकारलाई आग्रह गर्छु। ‘तपाईं यसलाई नबिर्सिनुहोला, यो अन्न र जलको भण्डारलाई नबिर्सेर समेट्नुस्’ भन्ने मेरो कुरा हो।
कम्तीमा म यो देशको एउटा ज्येष्ठ नागरिक पनि हुँ। त्यसैले मैले आफ्नो जीवनभरको अनुभव तपाईंलाई सुनाइरहेको छु। सञ्चारमाध्यममार्फत सरकारको कानमा मेरो कुरा पुगोस् र सरकारले गरोस् भन्ने मेरो अनुरोध छ।
एउटा कुरा त बजेट विनियोजन हुनुपर्यो, अर्को कुरा कानून पनि निर्माण हुनुपर्यो। अहिलेको सरकारलाई त सजिलो पनि छ!
एकदम। शायद तपाईंले याद दिलाउनुभयो, मैले सुशील कोइरालाजीलाई उहाँको सरकारको बेला भनेको थिएँ— कम्तीमा तपाईंले एउटा कानून बनाइदिनुस्। त्यतिबेला महेश आचार्य वनमन्त्री हुनुहुन्थ्यो, उहाँले म बनाउँछु भन्नुभएको थियो। पछि संसद् विघटन भयो र कानून बन्न सकेन।
अहिले दुईतिहाइको सरकार छ, त्यसैले राष्ट्रिय महत्त्वको यो विषयलाई एउटा कानून बनाएर सजिलै व्यवस्थित गर्न सकिन्छ। एउटा परियोजना बनाएर कसरी व्यवस्थित गर्ने भन्ने कुरा विज्ञहरूसँग सल्लाह गर्नुपर्छ, म विज्ञ होइन। चुरेको कसरी संरक्षण गर्ने, दोहन कसरी रोक्ने, अव्यवस्थित बसोबासलाई कसरी व्यवस्थित पार्ने, वन जङ्गल कसरी जोगाउने र वृक्षरोपण कसरी गर्ने भन्ने कुरा विज्ञहरूको हो।
मैले यति भनेको हुँ कि— हे नेपाल सरकार ! चुरेको माटो, ढुङ्गा, बालुवा, जङ्गल, पशुपक्षी र सारा जैविक प्राकृतिक प्रणालीलाई बचाइदेऊ।
यो प्राकृतिक प्रणाली यति महत्त्वपूर्ण छ कि वैज्ञानिकहरूले पनि यसमा चिन्ता जनाइरहेका छन्। अहिले सिमरा बेल्ट (निजगढ) मा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा भइरहेको छ नि, त्यसमा पक्षीविज्ञहरूले के भनिरहेका छन् भने— बारा, पर्सा, चितवन र नवलपरासीको त्यो बेल्टमा जति चराचुरुङ्गी छन्, सिङ्गो जर्मनीभरि पनि त्यति चराचुरुङ्गी छैनन्।
त्यहाँ जनावरहरू छन्, ती कहाँ जान्छन् ? यदि त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बन्यो भने त्यसको ध्वनि, जङ्गलको फँडानी र विनाशले गर्दा जनावर र पक्षीहरूको हाहाकार हुन्छ।
म सरकारलाई किन भनिरहेको छु भने, ३७ जिल्ला छुने चुरे बेल्ट र तलको २० जिल्ला ओगट्ने तराईको यो क्षेत्र अन्न र जलको भण्डार हो। यसको प्राकृतिक प्रणाली र इकोलोजीलाई जोगाउनु राष्ट्रको दीर्घकालीन हित हो।
वैज्ञानिकहरूले के भनिरहेका छन् भने, यदि तराई मरुभूमि भयो भने जुन हिमालको हिउँ ५० वर्षमा पग्लिन्छ भन्ने अनुमान छ, त्यो २० वर्षमै पग्लिएर सकिन्छ। किनकि, मरुभूमिले सूर्यको ताप सोस्छ र त्यहाँबाट निस्केको तातो हावा हिमालतिर जान्छ। त्यसले सम्पूर्ण देशमा प्रभाव पार्छ, हिमालको हिउँ पग्लिन्छ र हाम्रो सभ्यता नै नष्ट हुन्छ। त्यसैले, यसलाई बचाइदिनुस् भनेर म कराइरहेको छु।
तस्वीर भिडिओः चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4