मोजाम्बिकको उत्तरी प्रान्तमा रहेका महत्वपूर्ण खनिजको खोजीबारे चीन र मोजाम्बिकबीच ऐतिहासिक सहमति भएको छ ।
मोजाम्बिकका राष्ट्रपति डेनियल चापोको हालैको बेइजिङ भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय वार्तामा यो रणनीतिक साझेदारीको घोषणा गरिएको हो ।
विशेषगरी ग्राफाइट, लिथियम र ‘रेयर अर्थ एलिमेन्ट्स’ जस्ता उच्च मूल्यका खनिजहरूको भौगर्भिक सर्वेक्षण गर्ने मुख्य उद्देश्यका साथ दुई देशबीच सहकार्य अगाडि बढ्ने भएको छ, जुन खनिजहरू विश्वव्यापी हरित ऊर्जा अभियान र विद्युतीय सवारी साधनका ब्याट्री निर्माणका लागि अनिवार्य मानिन्छन् ।
यस साझेदारीको सबैभन्दा चुनौतीपूर्ण पक्ष मोजाम्बिकको उत्तरी प्रान्त काबो डेलगाडोमा जारी हिंसात्मक कट्टरपन्थी विद्रोह रहेको छ । विगत केही वर्षदेखि यस क्षेत्रमा भइरहेको सशस्त्र आक्रमणका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने अर्बौँ डलरका बहुराष्ट्रिय परियोजनाहरू अलपत्र परेका छन् ।
चिनियाँ सरकारी कम्पनीहरूको ठूलो लगानी रहेका यी परियोजनालाई पुन: सञ्चालनमा ल्याउन र खनिज स्रोतको उत्खनन गर्न मोजाम्बिकले चीनबाट केवल आर्थिक पुँजी मात्र नभई सुरक्षा विशेषज्ञता र प्राविधिक सहयोगको समेत अपेक्षा गरेको छ । राष्ट्रपति सीले मोजाम्बिकको पूर्वाधार विकास र खनिजको उत्खननका लागि मार्ग खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मोजाम्बिक पछिल्लो समय विश्वव्यापी प्राकृतिक ग्यास उत्पादनको नयाँ केन्द्रका रूपमा समेत उदाएको छ । देशको उत्तरपूर्वी तटमा रहेको रोभुमा बेसिनमा ५० खर्ब क्यूबिक मिटरभन्दा बढी प्राकृतिक ग्यासको भण्डार फेला परेपछि अन्तर्राष्ट्रिय शक्तिहरूको ध्यान मोजाम्बिकतर्फ तानिएको हो ।
चीनले मोजाम्बिकका खनिज र ग्यास परियोजनाहरूमा आफ्नो प्रभाव बढाउनुका साथै आगामी मे १ देखि अफ्रिकी मुलुकका उत्पादनहरूमा लागु हुने ‘शून्य भन्सार’ नीतिमार्फत मोजाम्बिकका उत्पादनहरूलाई चिनियाँ बजारमा सहज पहुँच दिने योजना बनाएको छ ।
यो सम्झौताले अफ्रिकी महादेशमा चिनियाँ लगानी र रणनीतिक उपस्थितिलाई अझ मजबुत बनाउने र मोजाम्बिकको अर्थव्यवस्थामा दीर्घकालीन परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4