News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसकी सांसद कमला पन्तले प्रधानमन्त्री संसद्प्रति अनुदार हुनु लज्जास्पद भएको टिप्पणी गरेकी छन् ।
- राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले संसद्ले बनाएको सरकार संसद्प्रति नै अनुत्तरदायी हुनु लाजमर्दो भएको बताइन् ।
- सांसद पन्तले सबै राजनीतिक दलसँग संवाद गरी नागरिकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले प्रधानमन्त्री बालेन शाह संसद्प्रति अनुदार हुनु लज्जास्पद विषय भएको टिप्पणी गरेकी छन् ।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।
जुन संस्थाले प्रधानमन्त्री बनायो त्यही संस्थाप्रति अनउत्तरदायी हुनु लाजमर्दो विषय भएको उनको भनाइ छ ।
उनले सरकार संसद्प्रति जिम्मेवार हुने विषयमा सत्तारुढ दल र स्वयं प्रधानमन्त्री संवेदनशील हुनु जरुरी रहेको बताइन् ।
सांसद पन्तले सरकारको नेतृत्व गर्ने व्यक्ति भन्दा पनि प्रधानमन्त्री संस्था महत्त्वपूर्ण भएको उल्लेख गर्दै संसद्प्रति अनुदार व्यवहार गर्नु उचित नभएको बताइन् ।
उनले भनिन्, ‘संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्यो भने संसद्को अवस्था के हुन्छ ? यो उपेक्षा किन भएको होला ? सत्तारुढ दल र स्वयं प्रधानमन्त्रीले पनि संवेदनशील हुनुपर्ने कुरा मुख्य हो । को आयो ? को गयोसँग हाम्रो कुनै सरोकार छैन । को व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ भन्ने कुरासँग पनि हाम्रो कुनै सरोकार छैन । तर प्रधानमन्त्री भनेको एउटा संस्था हो । त्यो संस्थाले आफूलाई प्रधानमन्त्री बनायो त्यही संसद्प्रति अनुदार हुनु भनेको लज्जास्पद कुरा हो ।’
उनले सबै राजनीतिक दलहरुसँग संवादमार्फत नागरिकका समस्या हल गर्नतर्फ समेत सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया 4