+
+
Shares

वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा जेठ २४ गते, नयाँ कार्यसमिति छानिने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन आगामी जेठ २४ गते हुने भएको छ ।
  • बहुमत पदाधिकारीले राजीनामा दिएपछि गठित प्रबन्ध समितिलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले विशेष साधारणसभा र निर्वाचन गर्न स्वीकृति दिएको छ ।
  • संघका अध्यक्ष भुवनसिंह गुरुङले एकलौटी काम गरेको आरोप लगाउँदै महासचिव महेश बस्नेतसहितका पदाधिकारीले गत वैशाख १४ गते सामूहिक राजीनामा दिएका थिए ।

१३ जेठ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा आगामी जेठ २४ गते हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले संघलाई विधान, प्रचलित कानुन तथा स्थापित प्रक्रिया अनुसार गतिविधि सञ्चालन गर्न निर्देशन दिएसँगै विशेष साधारणसभा तथा निर्वाचनको बाटो खुलेको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको पत्रमा संघका बहुमत पदाधिकारी तथा सदस्यहरूले राजीनामा दिएको जानकारी प्राप्त भएको उल्लेख छ । पत्रअनुसार बहुमत पदाधिकारीले राजीनामा दिएपछि संघको सल्लाहकार समितिले विधानबमोजिम कार्यसमिति स्वतः विघटन भएको निष्कर्ष निकाल्दै प्रवन्ध समिति गठन गरी विशेष साधारणसभा बोलाउने निर्णय गरेको जनाएको छ ।

प्रवन्ध समितिले जेठ २४ गते विशेष साधारणसभासहित नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने तयारी गरेको छ । प्रशासनले उक्त प्रक्रिया विधानसम्मत ढंगले अघि बढाउन निर्देशन दिएको छ । कार्यालयले यसअघि संघसँग आवश्यक विवरण माग गरे पनि सबै विवरण प्राप्त हुन नसकेको जनाएको छ । साथै, पछिल्लो अवस्थाबारे विभिन्न पक्षबाट निवेदन र गुनासो प्राप्त भएको पनि पत्रमा उल्लेख गरिएको छ ।

प्रवन्ध समितिले विशेष साधारणसभा तथा निर्वाचनको तयारी गरिरहेकाले कुनै अवरोध हुन सक्ने भन्दै शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन प्रशासनसमक्ष अनुरोध गरेको थियो । सोहीअनुसार प्रशासनले प्रहरी परिसर काठमाडौंलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन बोधार्थ पठाएको छ । पत्रमा निर्वाचन नहुँदा संघले नेपाल सरकारका विभिन्न निकायमा प्रतिनिधित्व गर्न नसकेको तथा व्यवसायीका हकहितसँग सम्बन्धित काम प्रभावित भएको गुनासोसमेत आएको उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले संघलाई विधान र प्रचलित कानुनअनुसार नियमित काम कारबाही सञ्चालन गर्न, आबद्ध संस्थाहरूलाई समयमै सूचना प्रवाह गर्न, स्वतन्त्र र निष्पक्ष वातावरणमा गतिविधि सञ्चालन गर्न तथा कानुनसम्मत कार्यमा कुनै अवरोध सिर्जना नगर्न निर्देशन दिएको छ । साथै, संघबाट सम्पादन हुने गतिविधिबारे नियमित रूपमा प्रशासनलाई जानकारी गराउन पनि भनिएको छ ।

यसअघि संघका अध्यक्ष भुवनसिंह गुरुङले मनपरी ढंगबाट काम गरेको आरोप लगाउँदै महासचिव महेश बस्नेतसहित बहुमत पदाधिकारी तथा सदस्यहरूले वैशाख १४ गते सामूहिक राजीनामा दिएका थिए । त्यसपछि पूर्वअध्यक्षहरू समेतको सहभागितामा प्रवन्ध समिति गठन गरिएको थियो ।

उक्त विवाद जिल्ला प्रशासन कार्यालयसम्म पुगेपछि प्रशासनले प्रवन्ध समितिको निर्णयलाई सदर गर्दै विशेष साधारणसभा र निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

संघको विधानमा बहुमत पदाधिकारीसहितका सदस्यहरूले राजीनामा दिएमा वर्तमान कार्यसमिति भंग हुने र विशेष साधारणसभा गर्ने व्यवस्था गरेको छ। सोही अनुसार पूर्व अध्यक्षहरू विमल ढकाल, राजेन्द्र भण्डारी सहितको ७ सदस्यीय प्रवन्ध समिति बनेको थियो। अब उक्त प्रवन्ध समितिले विशेष साधारणसभा र संघको नयाँ कार्य समिति निर्वाचन गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?