News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा अध्यक्ष भुवन सिंह गुरूङ र महासचिव महेश बस्नेतबीच विवाद चर्किएको छ।
- महासचिव बस्नेतसहितका कार्य समिति सदस्यहरूले अध्यक्ष गुरूङलाई सल्लाहकार पदमुक्त गर्ने निर्णयबारे स्पष्टीकरण सोधेका छन्।
- अध्यक्ष गुरूङले आफूमाथि लागेको आरोप निराधार र भ्रामक भएको बताउँदै संघ विधि, विधान अनुसार काम भइरहेको बताएका छन्।
९ वैशाख, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै गएको छ । अध्यक्ष र महासचिव सहितका पदाधिकारीबीचको विवादले चर्को रूप लिन थालेको हो । महासचिव महेश बस्नेतसहितका केही कार्य समिति सदस्यको बैठकले अध्यक्ष भुवन सिंह गुरूङलाई स्पष्टीकरण सोधेको छ ।
यसअघि अध्यक्ष गुरूङले २ जना सल्लाहकार सदस्यलाई पदमुक्त गरेका थिए । त्यसपछि संघमा दुई खेमामा विभाजित भएका सदस्यहरू एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
बुधबार महासचिव बस्नेतसहितका केही सदस्यको बैठकले अध्यक्ष गुरूङलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा संघको कार्यप्रणाली, निर्णय प्रक्रिया तथा सल्लाहकारसम्बन्धी विषयमा विवाद, गुनासा तथा गम्भीर प्रश्न उठेकाले स्पष्ट पार्न आवश्यक देखिएको उल्लेख छ ।
अध्यक्ष गुरुङले कार्यसमिति सदस्यहरूलाई पर्याप्त जानकारी नदिई विभिन्न निर्णय प्रक्रिया अघि बढाएको, औपचारिक बैठक आह्वान नगरी अनौपचारिक ढंगबाट निर्णय गरेको, केही निर्णयहरू सबै पदाधिकारी तथा सदस्यहरूलाई जानकारी नदिई गरिएको जस्ता आरोप लगाइएको छ ।
साथै सल्लाहकारहरूलाई पदमुक्त गरिएको विषय पनि विवादको रूपमा उठाइएको छ । कार्यसमितिले विशेषगरी २०८३ वैशाख ६ गते बसेको भनिएको बैठक कहाँ, कहिले र कसरी बसेको हो, उक्त बैठकको आधिकारिक अभिलेख, उपस्थित सदस्य संख्या, सूचना पठाउने प्रक्रिया, छलफलका विषय तथा निर्णय बहुमत वा सर्वसम्मत कसरी भएको थियो भन्नेबारे स्पष्ट विवरण माग गरेको छ ।
सल्लाहकार हटाउने निर्णय किन र कसरी गरियो, त्यसको आधार के हो भन्ने विषयमा पनि स्पष्ट पार्न भनिएको छ । कार्यसमितिले यी सबै विषयमा लिखित रूपमा स्पष्ट जवाफ पेश गर्न अध्यक्ष गुरुङलाई आग्रह गरेको छ ।
अध्यक्ष गुरूङले २ जना सल्लाहकारलाई कुनै जानकारी नदिई हटाउनु कानुन विपरित भएको महासचिव बस्नेतले बताए । आफू र आफ्नो संस्थाको व्यक्तिगत हितका लागि मात्रै काम गर्ने गरेको बताउँदै संघका कार्यसमिति सदस्यहरूले पटक पटक सचेत गराउँदै आएको बताएका छन् । अध्यक्ष मनोमानी ढंगबाट चलेकाले स्पष्टीकरण सोधिएको महासचिव बस्नेतको भनाइ छ ।
यता अध्यक्ष गुरूङले आफूमाथि लागेको आरोप निराधार, भ्रामक र योजनाबद्ध रूपमा सिर्जना गरिएको बताएका छन् । उनले व्यवसायीहरूलाई यस्ता अफवाहको पछि नलाग्न अनुरोध गरेका छन् ।
संघ विधि, विधान र संस्थागत प्रक्रियाअनुसार पूर्ण रूपमा सञ्चालन भइरहेको बताउँदै उनले भने, ‘कार्यसमितिको स्पष्ट बहुमत हाम्रो पक्षमा छ, त्यसैले यस्ता गतिविधिले संगठनलाई कुनै असर पार्दैन ।’
गुरुङले आफ्नो नेतृत्व सधै वैदेशिक रोजगार व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायको मर्यादा कायम राख्ने तथा पारदर्शी प्रणाली विकासतर्फ केन्द्रित रहेको उल्लेख गरे ।

प्रतिक्रिया 4