+
+
Shares

‘गौँथली’ को टिजर : छोरीलाई विवाह हैन, पढ्न पठाउनुपर्छ भन्ने सन्देशको कथा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १४:३९

काठमाडौं । कथानक फिल्म ‘गौँथली’ को टिजर सार्वजनिक भएको छ । टिजरले कथावस्तु, चरित्र चित्रण र फिल्मको आयामबारे संक्षिप्त प्रकाश पार्छ ।

आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवहारलाई टिजरले देखाएको छ । श्रीमानको फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनु परेको कहर र छोरीको राम्रो परिवार चाहने आमाको प्रयास देखाइएको छ ।

पढ्ने रहर हुँदाहुँदै भएको विवाह, सोझो र इमान्दार भनेर सोचेको श्रीमान नै खराब भएपछिको अवस्था र जन्म दिने आमा छोडेर कर्म दिने आमाको काखमा पुगेकी बुहारीले भोग्नु परेको कष्टले दर्शकको ध्यान खिच्छ ।

श्रीमानको भूमिकामा अरुण क्षेत्री देखिएका छन् भने श्रीमतीको भूमिकामा सिम्रन खड्का छिन् । असामान्य अरुणको व्यवहार र कलिलो उमेरमै विवाह गरेकी सिम्रनको कथाले दर्शकलाई भावुक बनाउँछ ।

फिल्म ‘गौँथली’ साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ । दन्त चिकित्सक समेत रहेका कपिल रिजालले निर्देशन गरेको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीको पनि अभिनय छ ।

बालकलाकारमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् । डा. भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशकसँगै निश्चल कुवँर, नीरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।

‘गौँथली’को प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यता रहेको जनाइएको छ । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल छिन् ।

निर्माताको रूपमा सुमन गिरी र कपिल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रुपमा छन् । शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा पाश्र्वसंगीत एलिस कार्कीको छ ।

‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि पनि फिल्म बनाएका थिए । अहिले सोही नाममा छोरा कपिलले नयाँ फिल्म ‘गौँथली’ निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?