News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म 'गौंथली' को नयाँ संस्करण १ साउन २०७९ मा प्रदर्शनमा आउने भएको छ।
- यो फिल्म वरिष्ठ चिकित्सक भोला रिजालको पटकथामा आधारित छ र उनका छोरा कपिलले निर्देशन गरेका छन्।
- फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का लगायतका कलाकारको अभिनय रहेको छ र यसलाई रीच इन्टरटेनमेन्टले वितरण गर्नेछ।
काठमाडौं । नेपाली फिल्ममा ‘गौंथली’ स्थापित नाम हो । वरिष्ठ चिकित्सक भोला रिजालको पटकथामा २ दशकअघि बनेको सो नामको फिल्मले प्रदर्शनको ५१ दिन मनायो ।
रिजालको सोही विरासतलाई दन्त चिकित्सक समेत रहेका छोरा कपिलले अघि बढाएका छन् । सोही नाममा छोरा कपिलले बनाएको नयाँ फिल्म अब दर्शकमाझ आउने तयारीमा छ ।
कपिलको निर्देशन रहेको यो फिल्म १ साउन (१७ जुलाई)मा प्रदर्शनमा आउने भएको छ । यसअघि उनले जितु नेपाल र साम्राज्ञी शाहलाई लिएर ‘ह्यारीकी प्यारी’ बनाएका थिए ।
नयाँ फिल्म ‘गौंथली’मा अरुण क्षेत्री र सिम्रन खड्काको जोडीलाई पर्दामा देख्न पाइनेछ । उनको साथमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ ।
बाल कलाकारमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् । भोलाकै कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा कपिलले गरेका हुन् । निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
फिल्मको शीर्षकको प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यतासँग जोडिएको निर्माण पक्षले जनाएको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र कपिल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा छन् । फिल्मलाई रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफडी वितरण गर्नेछन् ।
प्रतिक्रिया 4