+
+
Shares

ट्रम्पले ओमानलाई किन दिए धम्की ? के भन्छन् विश्लेषक ?

ट्रम्पले दिएको यो धम्कीलाई कतिपयले ‘गनबोट डिप्लोमेसी’ पनि भन्ने गर्छन् । जसको अर्थ सैन्य शक्तिको आडमा गरिने कूटनीति हुन्छ ।

कञ्चन कञ्चन
२०८३ जेठ १४ गते १७:३३

१४ जेठ, काठमाडौं ।  एक पत्रकारले बुधबार होर्मुज जलमार्गमा हुने व्यापारको रेखदेख इरान र ओमानले गर्ने विषयबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धारणा मागे ।

पत्रकारले सोधेका थिए– ‘के तपाईं इरान र ओमानलाई त्यो जलमार्ग नियन्त्रण गर्न अनुमति दिने कुनै अल्पकालीन सम्झौता स्वीकार गर्नुहुन्छ ?’

जवाफमा ट्रम्पले धम्कीपूर्ण शैलीमा उत्रिए । उनले भने, ‘त्यहाँ कसैको पनि नियन्त्रण चल्ने छैन । यो अन्तर्राष्ट्रिय जलक्षेत्र हो र ओमानले पनि अरूले जस्तै शिष्ट व्यवहार गर्नुपर्छ, अन्यथा हामीले उनीहरूलाई उडाइदिनुपर्ने हुन्छ ।’

त्यो जवाफपछि सुरुमा ट्रम्पले भूलवस ‘इरान’ भन्नुपर्ने ठाउँमा ‘ओमान’ भनेको हुनसक्ने अनुमान गरियो । तर, पछि अमेरिकी विदेश मन्त्रालयले ‘सोही अरब देश’लाई नै सङ्केत गरिएको आधिकारिक ट्रान्सक्रिप्टसहित उक्त भनाइलाई सामाजिक सञ्जालमा सेयर गर्‍यो ।

अमेरिका र ओमान २०० वर्षभन्दा पुरानो सम्बन्ध भएका निकट सहयोगी राष्ट्र हुन् । यी दुई देशबीच सुरक्षा साझेदारी, खुला व्यापार सम्झौता र विज्ञान तथा प्रविधि सम्झौतासहित थुप्रै पारस्परिक सन्धिहरू भएका छन् । ओमानले वासिङ्टन र तेहरानबीच एक प्रमुख मध्यस्थकर्ताको भूमिका समेत निर्वाह गरेको थियो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माएल बाघाईले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘अमेरिकी अधिकारीहरूको धम्की’ पछि ओमानप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । उनले बन्दर अब्बासका क्षेत्रहरूमा भएका अमेरिकी आक्रमणहरूको समेत निन्दा गरेका छन् ।

यसपश्चात्, अमेरिकी सेनाले इरानमा नयाँ आक्रमण गरेको छ । होर्मुज जलमार्गमा रहेका सैन्य क्षेत्रलाई निशाना बनाएको छ । कमजोर युद्धविरामका बीच यसै हप्ता अमेरिकाले इरानमाथि गरेको यो दोस्रो हमला हो ।

इरानी पक्षले अमेरिकाको यस कदमलाई ‘आक्रमण’ को संज्ञा दिँदै यस्ता गतिविधि पुन: दोहोरिएमा अझ ‘निर्णायक’ जवाफ दिने चेतावनी दिएको छ ।

स्रोतका अनुसार, अमेरिकी सेनाले सो जलमार्ग आसपास खतरा पैदा गरिरहेका इरानका चारवटा लडाकु ड्रोनहरूलाई समेत खसालेको छ । एक अमेरिकी अधिकारीका अनुसार अमेरिकाको निसानामा बन्दर अब्बास बन्दरगाह सहरमा रहेको ग्राउन्ड कन्ट्रोल स्टेसन थियो । जसले पाँचौँ ड्रोन प्रक्षेपण गर्ने तयारी गरिरहेको थियो ।

गत सोमबार राति इरानको बन्दर अब्बास सहरमा अमेरिकाले आक्रमण गरेको थियो । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रवक्ता टिम हकिन्सले जारी गरेको वक्तव्य अनुसार ती विस्फोटहरू अमेरिकी सेनाद्वारा गरिएका ‘आत्मरक्षात्मक आक्रमण’ थिए । इरानले यसलाई आफ्नो युद्धविरामको ‘गम्भीर उल्लंघन’ रूपमा लिएको छ ।

उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल कतारमा अमेरिका, इजरायल र इरानबीच जारी युद्ध अन्त्यको सम्झौता गर्न पुगेको समयमा उक्त आक्रमणहरू भएका थिए । यस प्रकारका आक्रमणहरूको सिलसिला र कमजोर युद्धविरामले पश्चिम एसियाको भविष्यलाई अनिर्णयमा अल्झाइराखेको छ ।

इरानको रिभोलुसनरी गार्ड्सले पनि बिहीबार बिहान बन्दर अब्बास विमानस्थल नजिकै एक अमेरिकी हवाई अखडालाई निशाना बनाएको जनाएको छ ।

रिभोलुसनरी गार्ड्सले उक्त सैन्य अखडा कहाँ अवस्थित छ भन्ने कुरा नखुलाए पनि कुवेतले आफ्नो आकाशमा शत्रुतापूर्ण मिसाइल र ड्रोन खतरालाई विफल पारिरहेको बताएलगत्तै इरानको यो भनाइ सार्वजनिक भएको हो ।

इरानी पक्षले अमेरिकाको यस कदमलाई ‘आक्रमण’ को संज्ञा दिँदै यस्ता गतिविधि पुन: दोहोरिएमा अझ ‘निर्णायक’ जवाफ दिने चेतावनी दिएको छ । साथै, यसबाट आउने परिणामको जिम्मेवारी ‘आक्रमणकारी’ स्वयंको हुने बताएको छ ।

इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजिजीले बुधबार ट्रम्पले दिएको टिप्पणीको जवाफ दिँदै एक्समा एउटा पोस्ट गरेका छन् ।  जसमा अजिजीले इरान अमेरिकाले कोरेका ‘रेड लाइन’ मा खुम्चिएर नबस्ने बताएका छन् ।

अमेरिकाले कोरेको रेड लाइनले युरेनियम प्रवर्द्धन गर्ने अधिकार, प्रवर्द्धन गरिएको युरेनियम आफ्नो साथमा राख्न पाउने अधिकार, होर्मुज जलमार्ग माथिको आफ्नो अधिकार र प्रतिबन्धहरू फुकुवा गरिनुपर्ने कुराहरू पर्छन् ।

उनले लेखेका छन्, ‘ट्रम्प यस रणनीतिक गतिरोधबाट उम्कने बाटो खोजिरहेका छन् र यसैका लागि उनी कहिले धम्की दिने त कहिले सम्झौताका लागि अपिल गर्ने रणनीति बदलिरहन्छन् ।’

यसैबीच अमेरिकाले ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ माथि प्रतिबन्ध लगाएको छ । यो निकाय होर्मुज जलमार्ग पार गर्ने जहाजहरूको अनुरोध व्यवस्थापन गर्न इरानले गठन गरेको हो ।

अमेरिकी अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस प्राधिकरणसँग सहकार्य गर्ने जो कोहीले पनि इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) लाई सहयोग पुर्‍याइरहेको वा त्यसबाट सेवा लिइरहेको हुन सक्ने र उनीहरूमाथि प्रतिबन्ध लाग्नसक्ने जनाएको छ ।

‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ ले गत हप्ता एउटा नक्सा सार्वजनिक गर्दै यस चोक पोइन्टको दुवैतर्फको ठूलो जलक्षेत्रमा तेहरानको दाबीलाई पुन: दोहोर्‍याएको थियो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भनेका छन्, ‘विश्वव्यापी समुद्री व्यापारलाई जबरजस्ती नियन्त्रणमा लिने इरानी सेनाको यो पछिल्लो प्रयासले के प्रमाणित गर्छ भने ‘इकोनोमिक फ्युरी’का कारण त्यहाँको शासक व्यवस्था नगदका लागि छटपटिएको छ ।’

ट्रम्पले बुधबार नै आफू इरानसँगको सम्झौताप्रति अझै सन्तुष्ट नरहेको बताएका थिए । उनले अमेरिकाले इरानमाथिका प्रतिबन्ध खुकुलो पार्ने विषयमा कुनै छलफल नगरेको समेत आरोप लगाएका थिए ।

कतिपय जानकारहरूले ट्रम्पका केही कदमलाई ‘म्याडम्यान थ्योरी’को विस्तारका रूपमा व्याख्या गरेका छन् ।

‘इरान सम्झौता गर्न निकै उत्सुक छ र उनीहरू यो सम्झौता होस् भन्ने दृढ चाहना राख्छन् । अहिलेसम्म उनीहरू त्यो बिन्दुमा आइपुगेका छैनन् हामी यसबाट सन्तुष्ट छैनौँ, तर हामी सन्तुष्ट हुनेछौँ । कि त परिस्थिति त्यहाँसम्म पुग्नेछ, अन्यथा हामीले यो कामलाई पूर्ण रूपमा सिध्याइदिनुपर्ने हुन्छ,’ ट्रम्पले भनेका थिए ।

ट्रम्पको धम्की र निरन्तर आक्रमणहरूलाई विभिन्न टिकाटिप्पणीहरू हुन थालेका छन् । उनले केही देशहरू भविष्यमा अमेरिकाको भूभाग बन्नसक्ने सम्भावनाबारे पनि सार्वजनिक रूपमा टिप्पणी गरेका छन् । यसले उनको कथित ‘साम्राज्यवादी विस्तार’ सम्बन्धी सोचबारे अन्तर्राष्ट्रिय बहस र विवादलाई थप चर्काएको छ ।

अमेरिकास्थित अधिकारवादी संस्था ‘डन’ का वकालत निर्देशक राएद जरारले अमेरिकी राष्ट्रपतिका यी टिप्पणीहरूलाई एक ‘माफिया’ को भनाइसँग तुलना गरे ।

जरारले भने,‘संयुक्त राष्ट्रसंघको बडापत्रले कुनै पनि राष्ट्रविरुद्ध सैन्य बलको धम्की दिन निषेध गरेको छ, र त्यो प्रतिबन्धले अमेरिकालाई पनि अरू देशहरूलाई जस्तै पूर्ण रूपमा बाँध्छ ।’

जजारका अनुसार वासिङ्टनले पुन: खुला गर्न चाहेको एउटा तेलमार्गको छेउमा जलक्षेत्र अवस्थित भएकै कारण एउटा अरब देशलाई ‘उडाइदिने’ धम्की दिनु त्यही कानुनविहीन मानसिकता हो । यसै मानसिकताको परिणामले फेब्रुअरीमा यो युद्ध निम्त्याएको थियो ।

‘यो धम्की ट्रम्प प्रशासनले गराउने कुनै पनि युद्धविराम राष्ट्रपतिले मन्त्रिपरिषद्को बैठकमा अर्को पटक रिस नपोखुन्जेलसम्मका लागि मात्र टिकिरहनेछ भन्ने सबैभन्दा स्पष्ट सङ्केत हो,’ उनले भने ।

इरानी विश्लेषक फोआद इजादीले इरानले होर्मुज जलमार्गमा आफ्नो रणनीतिलाई सैन्य टकरावबाट परिवर्तन गर्दै अकाट्य कानुनी सार्वभौमिकतातर्फ अगाडि बढाएको बताएका छन् । ‘संयुक्त राज्य अमेरिका हामीदेखि ११ हजार किलोमिटर टाढा छ र उसको अधिकार केवल मेक्सिकोको खाडीमा मात्र छ ।’

यस चोक पोइन्टभित्र कुनै पनि ‘अन्तर्राष्ट्रिय जलक्षेत्र’ नरहेको र यो पूर्ण रूपमा इरान र ओमानको अधिनमा रहेको इजादीले दाबी गरे । इरानले होर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूसँग नेभिगेसन फी लिने पूर्ण कानुनी अधिकार रहेको तर्क गरेका छन् । टर्की, अष्ट्रेलिया र क्यानडाले आ–आफ्ना जलमार्गहरूमा लागु गरेको व्यवस्था तेहरानसँग पनि हुनुपर्ने उनको भनाइ छ ।

कतिपय जानकारहरूले ट्रम्पका केही कदमलाई ‘म्याडम्यान थ्योरी’को विस्तारका रूपमा व्याख्या गरेका छन् । यस सिद्धान्तअनुसार आफूलाई अप्रत्याशित र जुनसुकै बेला सैन्य कारबाही गर्नसक्ने नेताका रूपमा प्रस्तुत गरेर विपक्षीलाई वार्तामा दबाबमा पार्ने रणनीति अपनाइन्छ ।

ट्रम्पले दिएको यो धम्कीलाई कतिपयले ‘गनबोट डिप्लोमेसी’ पनि भन्ने गर्छन् । जसको अर्थ सैन्य शक्तिको आडमा गरिने कूटनीति हुन्छ ।

यसै कुटनीतिमा टेकेर ट्रम्पले इरान र ओमानले संयुक्त रूपमा सो रणनीतिक जलमार्गको व्यवस्थापन गर्ने र त्यहाँको आवतजावतलाई पुन: सुचारु गर्ने विषयलाई नै खारेज गरेको हुनसक्ने अनुमान पनि गरिएको देखिन्छ  ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?