News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा बिहीबार साँझ भएको कार दुर्घटनामा सिराहाका ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको छ ।
- दुर्घटनामा गम्भीर घाइते भएका सुनसरीका उत्सव पोखरेल र काठमाडौंका लोकेश मिश्रको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
- ढिकुरेबाट काठमाडौंतर्फ जाँदै गरेको विद्युतीय कार अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
१५ जेठ, नुवाकोट । नुवाकोटमा बिहीबार साँझ भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो ।
उनलाई उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए । साथमा रहेको सवारी चालक अनुमतिपत्रका आधारमा उनको सनाखत गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडाैं महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
उनका अनुसार ढिकुरेबाट काठमाडौं जाँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङ नजिकै अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो ।
स्थानीयवासीको सहयोगमा प्रहरीले जङ्गल क्षेत्र र अँध्यारो अवस्थाका बाबजुद शीघ्र उद्धार गरेर घाइतेलाई उपचारका लागि काठमाडौं पठाएको थियो ।
सञ्चारमन्त्रीबाट दुःख व्यक्त
यसैबीच नुवाकोटमा भएको सवारी दुर्घटनाबाट एक जनाको निधन र दुई जना गम्भीर घाइते भएको घटनाप्रति सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले दुःख व्यक्त गरेका छन् ।
दिवङ्गत सञ्जीवकुमार चौधरीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनले शोकसन्तप्त परिवारप्रति मन्त्री समवेदना प्रकट गरेका छन् । दुर्घटनामा घाइते भएका पोखरेल र मिश्रको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
मन्त्री तिमिल्सिनाले दुर्घटनापश्चातका विभत्स तस्बिर सामाजिक सञ्जालमा साझा भएकाले त्यसो नगर्न पनि अनुरोध गरेका छन् ।
प्रतिक्रिया 4