+
+
Shares

एमाले सांसद थेबेले खोजे संसद्‌मा ‘अपोजिशन डे’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १७:२९

१४ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले संसद्मा ‘अपोजिशन डे’ कार्यक्रमको खोजी गरेका छन् । यसका निम्ति उनले प्रतिनिधिसभा नियमावली मस्यौदाउपर संशोधन समेत राखेका छन् ।

‘जो पनि जति बेला पनि सत्तारूढ हुनसक्छ । साथै संसद्लाई विपक्षीको हो भन्ने गरिन्छ । यसकारण संसदलाई रचनात्मक बनाऔं, सरकारलाई खबरदारी गर्न सक्ने संसद् बनाऔं भनेर यस्तो प्रस्ताव गरेको हुँ,’ थेबेले अनलाइनखबरसँग भने ।

यो कार्यक्रमले संसद्लाई गुणस्तरीय बनाउन समेत मद्दत पुर्‍याउने उनको विश्वास छ । यस्तो अभ्यास संसदीय व्यवस्था भएका मुलुकहरूमा रहेको पनि उनले बताए ।

सांसद थेवेका अनुसार ‘अपोजिशन डे’ भनेको संसदीय अभ्यासमा विपक्षी दललाई विशेष रूपमा दिइने दिन हो, जहाँ संसद्को कार्यसूची तय गर्ने अधिकार सरकारको सट्टा विपक्षी दललाई दिइन्छ ।

यसदिन विपक्षी दलहरूले आफूले महत्वपूर्ण ठानेका विषय संसद्मा छलफलका लागि ल्याउन सक्छन् । उदाहरणका लागि सरकारको आलोचना वा सरकारको कुनै नीतिको विरोध पनि हुन सक्छ ।

सार्वजनिक सरोकारका मुद्दा, छानबिन वा जवाफदेहीताको मागका विषय समेत समावेश हुन सक्दछन् । यस्तो अभ्यास विशेषगरी बेलायत, क्यानडा जस्ता ‘वेस्टमिन्स्टर प्रणाली’ भएका देशहरूमा छ ।

‘अपोजिशन डे’ को उदेश्य  सरकारमाथि संसदीय निगरानी बलियो बनाउनु र विपक्षीको आवाजलाई औपचारिक स्थान दिनु रहेको सांसद थेबेले बताए । अहिले सत्तापक्ष को छ ? भनेर हेरियो भने संसद् प्रभावकारी हुन नसक्ने भन्दै उनले जो पनि प्रतिपक्षमा हुनसक्ने मनोविज्ञानसहित ‘अपोजिशन डे’ राखिनुपर्ने बताए ।

नेपालमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम छ । मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम छ । प्रतिपक्षले विशेष समय माग्ने, अवरोध गर्ने वा विशेष समय मागेर बोल्ले अभ्यास भने हुँदै आएको छ ।

तर संसद्मा ‘अपोजिशन डे’ भनेर राखिएको छैन ।

यसबाहेक आफूले संसद्लाई गुणस्तरीय बनाउन, सांसदहरूलाइ प्रोफेसनल बनाउन पार्लामेन्ट्री एकेडेमी अर्थात् संसदीय अध्ययन प्रतिष्ठान गठनको माग राखेका छन् ।

यसले सांसदलाई संसदीय कामकारबाहीमा भाग लिनु अगाडिको पूर्व तयारीका निम्ति सहयोग पुर्‍याउने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?