+
+
Shares

म्यानपावरमाथि अनुगमन कि ‘छापामार शैली’ ? व्यवसायी र सरकारबीच बढ्दो टकराव

छापामार शैली बन्द नगरे व्यवसाय बन्द गर्ने चेतावनी

मन्त्रालय तथा मन्त्रीको सचिवालयबाट छापामार शैलीमा अनुगमन हुने गरेको भन्दै व्यवसायीहरूले व्यवसाय नै बन्द गर्ने चेतावनी दिएका छन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ जेठ १५ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्री रामजी यादवको सचिवालयले बढी रकम असुल्ने म्यानपावर कम्पनीहरूमाथि छापा मारी अनुगमन र कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
  • मन्त्रीको सचिवालयबाट भइरहेको छापामार शैलीको अनुगमन नरोकिए वैदेशिक रोजगार व्यवसाय नै बन्द गर्ने व्यवसायीहरूले चेतावनी दिएका छन् ।
  • वैदेशिक रोजगार विभागले आधिकारिक परिचयपत्र र पत्रविना अनुगमन गर्न आउने टोलीबारे विभागलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

१५ जेठ, काठमाडौं । केही दिनअघि युवा, श्रम तथा रोजगारमन्त्रीको सचिवालयको टोली कोटेश्वरमा रहेको ‘ग्रान्ड स्विट जब’ पुग्यो । सुरक्षागार्डका लागि मलेसिया जान लागेका एक श्रमिकबाट ३ लाख रुपैयाँ मागेको सूचनाका आधारमा मन्त्री रामजी यादवका स्वकीय उपसचिव सरोज यादव आफैं खटिएका थिए ।

तीनकुनेस्थित प्रहरी वृत्तका अधिकारी सहित म्यानपावरमा पुगेको मन्त्रीको सचिवालय टोलीले एक कर्मचारीलाई नियन्त्रणमा लियो । दुई दिन प्रहरी हिरासतमा बसेपछि म्यानपावरका कर्मचारी रिहा भए ।

त्यस्तै ५ लाख रुपैयाँ लिएर वैदेशिक रोजगारीमा पठाउन लागेको सूचनाका आधारमा मन्त्रीको सचिवालय टोलीले अर्को एक म्यानपावरमा समेत छापा मारेको थियो ।

पछिल्लो समय मन्त्रीको सचिवालयबाट म्यानपावर व्यवसायीमाथि अनुगमन भइरहेको छ । त्यसका लागि मन्त्रीको सचिवालयमा छुट्टै संयन्त्र समेत विकास गरिएको छ ।

कुनै श्रमिकको लिखित तथा मौखिक उजुरीका आधारमा प्रहरी साथमा लगेर सचिवालय सदस्यहरू जाने र छापामार शैली पासपोर्ट लगायत कागजात नियन्त्रणमा लिने गरेका छन् ।

वैदेशिक रोजगार विभागबाट हुनुपर्ने अनुगमन मन्त्रालय, त्यो पनि मन्त्रीको सचिवालयबाट हुन थालेपछि म्यानपावर व्यवसायी आक्रोशित छन् । उनीहरूले मन्त्री र मन्त्रीको सचिवालयबाट कानुन उल्लंघन गर्दै व्यवसायीमाथि छापामार शैली अपनाएको आरोप लगाएका छन् ।

त्यतिमात्र नभई सचिवालयबाट सिधै फोन गरेर धम्क्याउने गरेको व्यवसायीहरूको आरोप छ ।

मन्त्रालयबाट कर्मचारीभन्दा मन्त्रीको सचिवालयको टोलीबाट यस्तो खालको प्रवृत्ति बढ्न थालेपछि वैदेशिक रोजगार विभागले सूचना नै जारी गरेको थियो ।

८ जेठमा सूचना जारी गरेर विभागले आधिकारिक परिचयपत्रवाहक बाहेक कसैले अनुगमन गर्न आएको खण्डमा विभागमा खबर गर्न भनेको थियो । ठगी नियन्त्रणका लागि विभागबाट नियमित अनुगमन भइरहेको बताउँदै त्यसका लागि विभागबाट खटिने कर्मचारीलाई विभागबाट आधिकारिक पत्रसाथ पठाउने गरिएको प्रष्ट पारेको थियो ।

तर, मन्त्रालय तथा मन्त्रीको सचिवालयबाट छापामार शैलीमा अनुगमन हुने गरेको भन्दै व्यवसायीहरूले व्यवसाय नै बन्द गर्ने चेतावनी दिएका छन् ।

अनुगमन गर्ने आधिकारिक निकाय वैदेशिक रोजगार विभाग भएको भन्दै मन्त्रालय तथा मन्त्रीको सचिवालयबाट अनुगमनका नाममा भइरहेको छापामार शैली नरोकिए व्यवसाय बन्द गर्ने उनीहरूले चेतावनी दिएका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री अनुगमन आवश्यक भए पनि त्यसको प्रक्रिया कानुनी र संस्थागत हुनुपर्ने बताउँछन् ।

‘नियमन गर्ने निकाय वैदेशिक रोजगार विभाग हुँदाहुँदै मन्त्रालयका स्वकीय सचिव, अभियन्ता तथा युट्युबर बोकेर अनुगमन गर्नु कानुनी ट्र्याकभन्दा बाहिरको विषय भयो, अनुगमन सुधारका लागि हुनुपर्छ, पब्लिसिटीका लागि होइन,’ खत्रीले भने ।

उनका अनुसार अनुगमनको उद्देश्य सुधार र संवाद मार्फत समस्या समाधान हुनुपर्नेमा पछिल्लो समय दुवै पक्षबीच संवादको वातावरण कमजोर बनेको छ ।

विभागभित्र पहिले सञ्चालन गरिएको मेलमिलाप केन्द्र निष्क्रिय बनेपछि व्यवसायी र श्रमिकबीच संवादको वातावरण हराएको उनको भनाइ छ ।

‘पहिला विभागमा दुई पक्षीय छलफल गरेर समाधान निकाल्ने अभ्यास थियो, अहिले व्यवसायीलाई आफ्ना कुरा राख्ने अवसर समेत नदिइएको गुनासो बढेको छ,’ खत्रीले भने ।

व्यवसायीहरूका अनुसार विभागमा उजुरी परेपछि एकतर्फी निर्णय हुने प्रवृत्ति बढेको छ । श्रमिकले रकम दाबी गरेपछि त्यसको प्रमाण वा वास्तविकता परीक्षण नगरी म्यानपावरलाई तत्काल रकम तिर्न दबाब दिने गरिएको उनीहरूको आरोप छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति अध्यक्ष हरिबहादुर पाण्डे नियमित अनुगमनमा आपत्ति नभएको तर मन्त्रीको सचिवालय र गैरआधिकारिक व्यक्तिको हस्तक्षेप अस्वीकार्य भएको बताउँछन् ।

‘नियमित अनुगमन गर्ने अधिकार विभागलाई छ, त्यसमा हाम्रो विरोध छैन,’ उनले भने, ‘तर मन्त्रीका सचिव, पीए र युट्युबरहरू गएर छापा मार्ने, पासपोर्ट उठाउने, पैसा नियन्त्रणमा लिने काम भइरहेको छ, यो राज्यको अनुगमन होइन, छापामार शैली हो ।’

उनले विभागमाथि पनि व्यवसायी विरुद्ध पूर्वाग्रही व्यवहार गरेको आरोप लगाए । ‘कसैले ४ लाख दिएको भन्यो भने २४ घण्टाभित्र तिर भन्न थालिन्छ, तर श्रमिक आफैं फर्किन चाहन्छ भने विभागले त्यसको लिखित सहमति लिनसमेत मान्दैन,’ पाण्डेले भने ।

पाण्डेले सेवा शुल्क पुनरावलोकन नभए व्यवसायीहरूले म्यानपावर बन्द गर्ने चेतावनी समेत दिए । ‘२०७२ सालदेखि १० हजार सेवा शुल्कमा काम गर्न सकिँदैन भनेर भन्दै आएका छौं, सेवा शुल्क निर्धारण नगरी छापा मात्रै मार्ने हो भने व्यवसाय सञ्चालन गर्न सकिँदैन,’ उनले भने ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्रसिंह भण्डारी पनि समस्या नीतिगत रहेको बताउँछन् । उनका अनुसार सबैभन्दा बढी ठगी व्यक्तिगत श्रम स्वीकृति मार्फत विदेश जानेहरूबाट भइरहेको छ ।

‘व्यक्तिगत श्रम स्वीकृतिबाट जानेहरू ठगिने क्रम बढेको छ, यही माध्यमबाट ३० अर्बभन्दा बढी ठगी भएको अनुमान छ,’ उनले भने, ‘छापा मार्नुभन्दा पहिला नीतिगत सुधार आवश्यक छ ।’

व्यवसायीहरूले पटक–पटक १० हजार रुपैयाँ सेवा शुल्कमा श्रमिक पठाउन सम्भव नभएको भन्दै आएका छन् । व्यक्तिगत श्रम स्वीकृतिको व्यवस्था पुनरावलोकन नगरेसम्म वैदेशिक रोजगार क्षेत्रमा देखिएको ठगी नियन्त्रण हुन नसक्ने उनीहरूको तर्क छ ।

यता, श्रम मन्त्रालय भने पछिल्ला कारबाहीलाई कानुनी प्रक्रिया नै भएको दाबी गर्छ । मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले सरकारले कसैमाथि धरपकड नगरेको स्पष्ट पारे ।

‘इजाजतपत्र प्राप्त कम्पनीहरूले ऐन, नियम र निर्देशिका पालना गर्नुपर्छ,’ उनले भने, ‘कानुन विपरीत गतिविधि भए सम्बन्धित निकायले कानुनी दायरामा ल्याउनु सरकारको दायित्व हो, यसलाई धरपकडका रूपमा बुझ्नु हुँदैन ।’

पछिल्ला विवादबीच वैदेशिक रोजगार विभागले ८ जेठमा सूचना जारी गर्दै विभागको आधिकारिक परिचयपत्र र पत्रविना अनुगमन गर्न आउने व्यक्तिबारे विभागलाई जानकारी गराउन आग्रह गरेको थियो । विभागले नियमित अनुगमन विभागबाट खटिएका कर्मचारी मार्फत मात्रै हुने स्पष्ट पारेको थियो ।

तर, व्यवसायीहरूले भने अझै पनि मन्त्रालय र मन्त्रीको सचिवालयको सक्रियता नरोकिएको गुनासो गरिरहेका छन् । सरकार वैदेशिक रोजगार क्षेत्रमा सुशासन कायम गर्ने दाबीमा छ भने व्यवसायीहरू आफूहरूमाथि कानुनभन्दा बाहिर गएर दबाब सिर्जना गरिएको आरोप लगाइरहेका छन् ।

कानुनी रूपमा सही, तर पद्धतिमा सुधार आवश्यक : विज्ञ

वैदेशिक रोजगार व्यवसायीहरूले सरकारको पछिल्लो अनुगमन र धरपकडलाई ‘टर्चर’ (सास्ती) का रूपमा व्याख्या गरिरहेका बेला श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालले राज्यको नीति कार्यान्वयन हुनुपर्ने तर त्यसका लागि अपनाइने प्रक्रियामा संवादको खाँचो रहेको औँल्याएका छन् ।

‘फ्रि भिसा फ्रि टिकट’ जस्ता नीति श्रमिकको हितमा रहेकाले यसको पालना हुनैपर्नेमा जोड दिए । तर, सरकारले व्यवसायीलाई त्रसित बनाउने गरी विनासूचना गरिने धरपकडभन्दा पनि मर्यादित ढंगले कानुन कार्यान्वयन गराउनुपर्ने उनको तर्क छ ।

फ्रि भिसा फ्रि टिकटका नाममा लाखौं असुल्ने व्यवसायीलाई समात्नु कानुनी र नीतिगत हिसाबले गलत नभएको उनको भनाइ छ ।

‘३ लाख रुपैयाँ मागेको ठाउँमा समात्नुलाई बेठिक भन्न मिल्दैन,’ उनी भन्छन्, ‘तर, बजारमा अहिले एउटा डरको वातावरण सिर्जना भएको छ, व्यवसायीहरूलाई कुन बेला आएर छापा मार्ने हो र कम्प्युटर उठाएर लैजाने हो भन्ने त्रास छ ।’

सरकारले अन्य क्षेत्रका व्यवसायीसँग बजेट र नीतिका विषयमा बसेर छलफल गर्ने गरेको उदाहरण दिँदै उनले वैदेशिक रोजगार क्षेत्रमा पनि त्यस्तै संवाद हुनुपर्ने बताए ।

‘पहिले जे भयो भयो, अबदेखि यस्तो गल्ती स्वीकार्य हुँदैन भनेर व्यवसायी संघहरू मार्फत सन्देश दिन सकिन्थ्यो,’ उनले थपे, ‘एक्कासि, धरपकड गर्नुभन्दा उनीहरूलाई एकाउन्टेबल (जवाफदेही) बनाउने बाटो खोज्नुपर्छ ।’

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?