+
+
Shares

सस्तो चिनियाँ गाडीले युरोपमा त्रास, नयाँ व्यापार युद्धको जोखिम  

‘यतिबेला युरोपलाई बेइजिङको सन्देश हो- तिमीहरूको सबैभन्दा मिल्ने साथी (अमेरिका) अब रहेन। स्वयं अमेरिकीहरूसमेत हामीसँग स्थिरताको खोजीमा छन्, त्यसैले हाम्रो परीक्षा लिने गल्ती नगर।’

न्युयोर्क टाइम्स न्युयोर्क टाइम्स
२०८३ जेठ १६ गते ९:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपेली सङ्घकी प्रमुख कूटनीतिज्ञ काजा कल्लासले चीनमाथिको युरोपेली निर्भरता अन्त्य गर्ने प्रयासलाई निकै पीडादायी 'केमोथेरापी' सँग तुलना गरेकी छन् ।
  • चीनबाट ठूलो परिमाणमा विद्युतीय सवारीसाधन आयात भएपछि युरोपेली सङ्घसँगको व्यापार असन्तुलन ऐतिहासिक तहमा पुगेको प्रतिवेदनले देखाएको छ ।
  • युरोपले चिनियाँ कम्पनीलाई नियन्त्रण गर्न र आफ्ना उद्योग जोगाउन औद्योगिक प्रवर्द्धन ऐनमार्फत नयाँ नीतिहरू ल्याउने तयारी गरेको छ ।

१६ जेठ, काठमाडौं । युरोपेली सङ्घ (इयू) की प्रमुख कूटनीतिज्ञ काजा कल्लासले हालै चीनमाथिको युरोपेली निर्भरता अन्त्य गर्ने प्रयासलाई एउटा गम्भीर रोगको उपचार गर्नेसँग तुलना गरेकी छन्। यसका लागि केमोथेरापी जस्तै कष्टकर प्रक्रिया आवश्यक पर्न सक्ने र यो निकै पीडादायी हुन सक्ने उनको भनाइ छ ।

यो टिप्पणीले अमेरिकापछि युरोपेली सङ्घको दोस्रो ठूलो व्यापारिक साझेदार चीनप्रति युरोपले पछिल्लो समय अपनाउँदै गएको कडा दृष्टिकोणलाई स्पष्ट पार्छ।

बेइजिङले आक्रामक व्यापारिक नीतिहरू अवलम्बन गर्दै जाँदा युरोपमा चिनियाँ सामानको आयात ह्वात्तै बढेको छ। यसलाई लिएर युरोपेली नेता तथा कम्पनीहरू चिनियाँ उत्पादनमाथिको आफ्नो निर्भरताप्रति चिन्तित बनेका छन्।

उनीहरू यस निर्भरताबाट कसरी बाहिर निस्कने भन्ने विषयमा बहस गरिरहेका छन्। उत्पादन क्षेत्रमा चीन झन्झन् शक्तिशाली बन्दै गएपछि युरोपले आफ्ना उद्योगहरूमाथि अस्तित्वकै सङ्कट देख्न थालेको छ।

ब्रसेल्सस्थित आर्थिक थिङ्क ट्याङ्क ब्रुगेलका निर्देशक जेरोमिन जेटेलमेयर भन्छन्, ‘अहिले युरोपको शैली मूलतः त्रसित देखिन्छ। युरोपेली उद्योगहरू जुनसुकै बेला धराशायी हुन सक्ने र एउटा ठूलो खतरा नजिकै आइपुगेको महसुस त्यहाँ भइरहेको छ।’

ब्रसेल्सको यो चिन्ताप्रति बेइजिङले भने आक्रामक प्रतिक्रिया दिएको छ। चिनियाँ अधिकारीहरूले कुनै पनि प्रतिबन्धात्मक कदम चालिएमा चीनले त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन्। यो विवाद आगामी समयमा अझ चर्किने सम्भावना देखिन्छ।

आगामी महिना फ्रान्सको एभियानमा हुने जी–७ बैठकमा विश्व नेताहरूले विश्वव्यापी आर्थिक असन्तुलनका बारेमा छलफल गर्दै छन्। त्यसलगत्तै बस्ने युरोपेली सङ्घका २७ शीर्ष नेताहरूको बैठकमा पनि चीनकै विषय एजेन्डा बन्ने अपेक्षा गरिएको छ।

यसै सन्दर्भमा, युरोपेली सङ्घको कार्यकारी निकायले आगामी शुक्रबार चीनसम्बन्धी नीतिहरूमाथि प्रारम्भिक बहस गर्दै छ। यो बहसले आगामी दिनमा हुने उच्चस्तरीय छलफलको रूपरेखा तय गर्न मद्दत गर्नेछ।

युरोपेली अधिकारीहरू व्यापारिक असन्तुलन सुधार्न चीनसँग मिलेर काम गर्न सकिने आशा अझै व्यक्त गर्छन्। आफ्नो आर्थिक वृद्धिलाई गति दिन बेइजिङले निर्यात ह्वात्तै बढाएपछि यो असन्तुलन झन् चर्किएको हो। यद्यपि, संवेदनशील क्षेत्रहरूमा चीनको बढ्दो वर्चस्वलाई रोक्न युरोपेली देशहरू थप कडा व्यापारिक तथा औद्योगिक कदमहरू चाल्नेबारे पनि विचार गरिरहेका छन्।

चीनमाथिको निर्भरता कम गर्नु युरोपका लागि निकै जटिल र चुनौतीपूर्ण साबित हुन सक्छ। त्यहाँका राजनीतिज्ञ र व्यवसायीहरू चीनले लिन सक्ने प्रतिशोधात्मक कदमबाट त्रसित छन्। तर, उपभोक्ताहरू भने चिनियाँ सामानको प्रयोगमा अभ्यस्त भइसकेका छन्।

युरोपेलीहरू अझै पनि सस्तो मूल्यका चिनियाँ सामानहरू, विशेष गरी विद्युतीय सवारीसाधन खरिद गरिरहेका छन्। यस्ता गाडीहरूले आफ्नो बजार भरिने क्रमलाई रोक्न युरोपेली सङ्घले यसअघि प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन।

A partially assembled silver car body is on an assembly line in a factory.

थिङ्क ट्याङ्क मर्काटर इन्स्टिच्युट फर चाइना स्टडिजकी ब्रसेल्सस्थित विश्लेषक रेबेका आर्सिसाटी भन्छिन्, ‘अहिले हाम्रो अवस्था राम्रो छैन।’ युरोपेली नेताहरूले आफ्ना मतदाता र अल्पकालीन राजनीतिक स्वार्थहरूलाई पनि सम्बोधन गर्नुपर्ने भएकाले चीनबाट आउने सामानको प्रवाहलाई रोक्न कठिन भइरहेको र त्यसमाथि बेइजिङले प्रतिशोधात्मक कदम चालेमा अवस्था अझै जटिल बन्ने उनले औँल्याइन्।

‘हाम्रा प्रणालीहरू यस्तो ठूलो चुनौतीको सामना गर्न सक्ने गरी बनाइएकै थिएनन्,’ आर्सिसाटीले भनिन्।

चीन सरकारले दिने अनुदान र विभिन्न सरकारी कार्यक्रमहरूले त्यहाँका उद्योग तथा कम्पनीहरूलाई निकै बलियो बनाएका छन्। देशको घरजग्गा व्यवसायमा सङ्कट आएपछि बेइजिङका नीतिनिर्माताहरूले आर्थिक वृद्धिको अर्को खम्बाका रूपमा औद्योगिक उत्पादनलाई बढावा दिएका हुन्। यसैबिच, अमेरिकी ट्यारिफ (भन्सार महसुल) का कारण चिनियाँ उत्पादकहरूका लागि अमेरिकातर्फ निर्यात गर्न कठिन भएपछि ती उद्योगहरूले युरोपजस्ता अन्य बजारहरूमा आफ्नो निर्यात ह्वात्तै बढाएका हुन्।

यो वर्षको पहिलो त्रैमासिकमा चीनबाट युरोपमा हुने आयातमा तीव्र वृद्धि भएको छ। अनलाइन न्युजलेटर सोपबक्स र मर्काटर इन्स्टिच्युट फर चाइना स्टडिजले सन् २०२६ को भन्सार तथ्याङ्कअनुसार, युरोपमा चिनियाँ विद्युतीय सवारीसाधनको ओइरो लागेपछि यस वर्षको सुरुवातमै युरोपेली सङ्घसँगको चीनको व्यापार असन्तुलन ऐतिहासिक तहमा पुगेको छ।

चिनियाँ कार निर्माता कम्पनीहरूले आफ्नै देशमा माग घटेपछि युरोपेली बजारमा आक्रामक रूपमा हात हालेका कारण यो वृद्धि देखिएको हो। यसै समयमा, पश्चिम एसियाको युद्धका कारण इन्धनको मूल्य बढेपछि युरोपेली उपभोक्ताहरूले पनि पर्यावरणमैत्री विकल्पहरू रोज्न थाले।

यसअघि, युरोपेली सङ्घको तथ्याङ्कअनुसार सन् २०२५ मा वस्तु व्यापारमा युरोपले करिब ४१८ अर्ब डलरको घाटा बेहोरेको थियो।

यी दुवै परिस्थितिका कारण युरोपेली उत्पादक र त्यहाँ कार्यरत कर्मचारीहरू सङ्कटमा परेका छन्। विशेष गरी, परम्परागत रूपमै ठूला कार र रसायन उत्पादन गर्दै आएको र अहिले बजारमा प्रतिस्पर्धा गर्न सङ्घर्ष गरिरहेको जर्मनीजस्ता देशहरू बढी प्रभावित भएका छन्।

यसरी आपूर्ति शृङ्खलामा आएको अवरोधले युरोपेली कम्पनीहरू चीनमाथि कति धेरै निर्भर रहेछन् भन्ने कुरालाई छर्लङ्ग पारिदिएको छ

यस प्रकारका चिन्ताहरू बढ्दै गएपछि युरोपले अहिले चीनप्रति थप कडा अभिव्यक्ति दिनुका साथै अझ कडा रणनीतिक योजनाहरू अघि सार्न थालेको छ।

चिनियाँ नीतिका पुराना आलोचक फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले अमेरिकाले प्रयोग गर्दै आएका प्रतिबन्धजस्तै युरोपेली सङ्घले पनि आफ्ना रणनीतिक उद्योगहरूको रक्षा गर्ने खालका संयन्त्रहरू बनाउनुपर्नेमा जोड दिएका छन्।

अर्कातर्फ, युरोपमा चीनप्रति अलि नरम मानिने स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले हालैको बेइजिङ भ्रमणका क्रममा युरोपले आफूलाई सङ्कुचित पार्न नपरोस् भन्नका लागि चीन आफैँ खुला हुनुपर्ने धारणा राखेका थिए।

यद्यपि, नयाँ व्यापारिक संयन्त्रसहित युरोपेली सङ्घले आक्रामक जवाफ दिनुपर्ने माग गर्दै तयार पारिएको एउटा प्रतिवेदनमा स्पेनले पनि सुरुवाती चरणमा फ्रान्स, इटाली, लिथुआनिया र नेदरल्यान्ड्ससँगै हस्ताक्षर गरेको थियो। उक्त प्रतिवेदनमा चीनको नाम प्रत्यक्ष रूपमा उल्लेख नगरिए पनि ‘प्रणालीगत र संरचनागत रूपमा अत्यधिक औद्योगिक उत्पादन क्षमता’ (इन्डस्ट्रियल ओभरक्यापासिटी) भएका व्यापारिक साझेदारहरूको आलोचना गरिएको थियो।

थिङ्क ट्याङ्क ‘काउन्सिल अन फरेन रिलेसन्स’ का अर्थशास्त्री ब्र्याड सेन्सरका अनुसार चीनले चाल्न सक्ने प्रतिशोधात्मक कदमको डरले धेरै युरोपेली नेताहरू अहिले सम्हालिएर अघि बढिरहेका छन्। तर, जर्मनीजस्ता देशहरूमा समेत उद्योगधन्दा धराशायी हुने डर यो प्रतिशोधको डरभन्दा कता हो कता बढी हुन सक्ने उनले बताए।

आफ्नो रक्षाका लागि युरोपले यसअघि नै केही कदमहरू चाल्न सुरु गरिसकेको छ। यसअन्तर्गत युरोपेली सङ्घले प्रस्ताव गरेको औद्योगिक प्रवर्द्धन ऐन (इन्डस्ट्रियल एक्सलेटर एक्ट) पनि सामेल छ, जुन यस क्षेत्रको उत्पादन जगलाई पुनरुत्थान गर्ने उद्देश्यले ल्याइएको एक व्यापक नीति हो। यो योजनाको स्वरूप यस्तो छ, जसले चिनियाँ कम्पनीहरूलाई केही मुख्य सरकारी अनुदानहरू प्राप्त गर्नबाट रोक्नेछ र विशेष गरी युरोपमा बनेका विद्युतीय सवारीसाधनहरूलाई बजारमा स्थापित हुन मद्दत पुर्‍याउनेछ।

युरोपको यो नीतिको बेइजिङले कडा शब्दमा विरोध गरेको छ। चीनले यस योजनालाई ‘संरक्षणवादी नीति’ को सङ्ज्ञा दिँदै यसको निन्दा गरेको छ र प्रतिशोधात्मक कदम चाल्ने चेतावनीसमेत दिएको छ।

तर, व्यापारका मामिलामा चीन आफैँले अपनाउँदै गएको आक्रामक शैलीले युरोपमा चीनविरोधी भावनालाई अझ बढावा दिन मद्दत पुर्‍याएको छ।

गत वर्ष चीनले अमेरिकी भन्सार शुल्कको बदला लिन दुर्लभ खनिज र म्याग्नेटको निर्यातमा दुईपटक प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्धको प्रत्यक्ष असर युरोपमा पर्‍यो। किनकि, युरोपले हाई–टेक र हरित ऊर्जा उत्पादनमा यी दुवै सामग्रीको व्यापक प्रयोग गर्ने गर्छ।

यसरी आपूर्ति शृङ्खलामा आएको अवरोधले युरोपेली कम्पनीहरू चीनमाथि कति धेरै निर्भर रहेछन् भन्ने कुरालाई छर्लङ्ग पारिदिएको छ।

गत अप्रिलमा बेइजिङले एउटा नयाँ नियम सार्वजनिक गर्‍यो, जसले चिनियाँ अधिकारीहरूलाई कम्पनीका व्यावसायिक रेकर्डहरू जाँच गर्ने, कर्मचारीहरूसँग सोधपुछ गर्ने र कुनै कार्यकारी अधिकारीले आपूर्ति शृङ्खलालाई चीनबाहिर लैजान मद्दत गरिरहेको फेला परेमा देश छोड्नसमेत प्रतिबन्ध लगाउने अधिकार दिएको छ।

चीनस्थित ‘युरोपेली चेम्बर अफ कमर्स’ को हालैको मूल्याङ्कनअनुसार, चीनको यो कदमले ‘अहिले युरोपको अर्थतन्त्रमा अभूतपूर्व क्षति पुर्‍याउन सक्छ।’

अनुसन्धान संस्था ‘रोडियम ग्रुप’ का युरोप–चीन सम्बन्ध विज्ञ नोआ बार्किनका अनुसार चीनले यस्तो कडा प्रतिक्रिया दिनुको एउटा कारण वासिङ्टन र ब्रसेल्सबिचको आपसी विवादले गर्दा आफ्नो व्यापारिक नीतिविरुद्ध युरोप र अमेरिका एकजुट हुन नसकेको चिनियाँ बुझाइ हो।

बार्किन भन्छन्, ‘यतिबेला युरोपलाई बेइजिङको सन्देश हो- तिमीहरूको सबैभन्दा मिल्ने साथी (अमेरिका) अब रहेन। स्वयं अमेरिकीहरूसमेत हामीसँग स्थिरताको खोजीमा छन्, त्यसैले हाम्रो परीक्षा लिने गल्ती नगर।’

(न्युयोर्क टाइम्समा प्रकाशित जिना स्मियालेक र अलेक्जान्ड्रा स्टिभेन्सनको रिपोर्ट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?