१७ जेठ, काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लगातार दोस्रो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
हंगेरीको पुस्कास एरेनामा शनिबार राति भएको फाइनल खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ पीएसजी ४–३ ले विजयी भयो ।
आर्सनलका डिफेन्डर ग्याब्रियलले प्रहार गरेको पेनाल्टी पीएसजीका गोलकिपर माटभे साफोनोभको क्रसबार माथिबाट बाहिरिएपछि पीएसजीको जित निश्चित भएको हो ।
यस जितसँगै पीएसजी सन् २०१६ देखि २०१८ सम्म लगातार तीन पटक उपाधि जितेको रियल म्याड्रिडपछि च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पहिलो क्लब बनेको छ ।
मुख्य प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा पीएसजीले पछिल्ला ६ वटा पेनाल्टी सुटआउटमा शतप्रतिशत जितको कीर्तिमान कायम राखेको छ । गत वर्ष इन्टर मिलानलाई ५–० ले हराएर पहिलो पटक उपाधि जितेको पीएसजीले यसपटक आर्सनलको कडा चुनौतीलाई पन्छाउँदै युरोपेली फुटबलमा आफ्नो वर्चस्व साबित गरेको छ ।
यता, २२ वर्षपछि प्रिमियर लिगको उपाधि जितेर उच्च मनोबलमा रहेको मिकेल अर्टेटाको आर्सनल भने इतिहास रच्नबाट चुकेको छ ।
प्रतिक्रिया 4