+
+
Shares

कम्तीमा १ सय स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाउँछौं : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा १०० पालिका प्रमुखमा महिला उम्मेदवार उठाउने बताएका छन् ।
  • चुनावमा उम्मेदवार बन्न चाहनेले अनिवार्य रूपमा पार्टीको ‘लीडरशिप एकेडेमी’ को कोर्स पूरा गर्नुपर्ने उनले बताए ।

१६ जेठ, काठमाडौं । नेपाली कां‌ग्रेसका सभापति गगन थापाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा कम्तीमा १ सय स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाउने बताएका छन् ।

शनिबार आयोजित नेपाल थारु संघको अधिवेशनमा उनले पार्टीले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउने तयारी थालेको बताएका हुन् ।

आगामी निर्वाचनमा ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा नेपाली कांग्रेसको तर्फबाट महिला मेयर वा अध्यक्ष उम्मेदवार उठाउने लक्ष्यका साथ काम गर्नुपर्ने उनको भनाइ छ ।

उक्त लक्ष्य हासिल गर्न अहिलेदेखि नै महिला नेतृत्व विकास, प्रशिक्षण र उम्मेदवार तयारीमा लाग्नुपर्ने उनले बताए ।

‘अर्को साल निर्वाचन छ, स्थानिय चुनाव आउँछ, प्रदेशको चुनाव आउँछ, यो पटक कम्तिमा पनि ७५३ मध्ये हामीले १०० पालिकामा नेपाली कांग्रेसको पार्टीको तर्फबाट मेयर अथवा अध्यक्षको उम्मेद्वार महिला बनाउनेगरी काम गर्नुपर्नेछ, अहिलेदेखी काम गरौं, अहिलेदेखी कोशिष गरौँ । यसको लागि हामी सबै लाग्नुपर्छ । अहिलेदेखि आफैं मेहेनत गर्नुपर्नेछ, काम गर्नुपर्नेछ, कोसिस गर्नुपर्नेछ, लाग्ने हो भने गर्न सकिन्छ । यसको लागि हामीले इलेक्सन ब्युरो भनेर बनाएका छौं,’ थापाले भने ।

साथै, नेतृत्व विकासका लागि ‘लीडरशिप एकेडेमी’ नामक छुट्टै संरचना स्थापना गरिएको र त्यसको लागी छिट्टै खुला आह्वान गरिने बताए ।

उनका अनुसार स्थानीय तहको निर्वाचन लड्न चाहने नयाँ वा पुन: उम्मेदवार बन्न इच्छुक व्यक्तिले अनिवार्य रूपमा लीडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा गर्नुपर्नेछ । कोर्स पूरा गरेपछि मात्रै उम्मेदवारका रूपमा योग्य मानिने उनले बताए ।

‘हामीले अहिले नेतृत्वको एउटा छुट्टै युनिट बनाएका छौं, लीडरशिप एकेडेमी भनेर, जसमा पार्टीको तर्फबाट अब हामी केही दिनमा यसको खुला आह्वान गर्छौं । ७५३ पालिकामा निर्वाचन लड्न चाहने, इच्छा राख्नुभएको कोही पनि हुनुहुन्छ, म उम्मेदवार बन्न चाहन्छु भनेर कोही अहिले दोहोरिन चाहनुभएको छ वा नयाँ उम्मेदवार बन्न चाहनुभएको छ भने अनिवार्य रुपमा लीडरशिप एकेडेमीमा भर्ना हुनैपर्छ र एउटा कोर्स पूरा गर्नैपर्छ,’ उनले भने, ‘त्यो कोर्स पूरा गरिसकेपछि मात्रै त्यसका निम्ति योग्य बनिन्छ । त्यसैले त्यहाँ महिला बनाउने हो भने हामीले अहिलेदेखि नै बढी भन्दा बढी महिला साथीहरूलाई त्यहाँभित्र कोर्समा हामीले भर्ना गराउनुपर्छ । त्यो गराएमात्र बल्ल भोलि गर्ने कुरा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?