+
+
Shares

प्रधानमन्त्रीको विकल्पमा रास्वपा सभापति भारत जान लागेका हुन् ?

प्रधानमन्त्री पार्टी अध्यक्ष नभएको अवस्थामा बालेन्द्र शाहको भन्दा पहिले सभापति लामिछाने नै जान लागेका छन् ।

कञ्चन कञ्चन
२०८३ जेठ १६ गते १९:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यही जेठ १८ गतेदेखि तीनदिने भारत भ्रमणमा जाने तयारी गरेका छन् ।
  • प्रधानमन्त्री बालेन्द्र शाहले परराष्ट्र मामिलामा कडा अडान राख्दै कम्तीमा एक वर्ष कुनै पनि विदेश भ्रमण नगर्ने नीति लिएका छन् ।
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले सभापति लामिछानेको भारत भ्रमण सरकारसँग सम्बन्धित नभई व्यक्तिगत र पार्टीगत भएको बताए ।

१६जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणबारे कुनै प्रगति नभएको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यसै साता भारतमा जाने तयारी छ ।

प्रधानमन्त्री पार्टी अध्यक्ष नभएको अवस्थामा बालेन्द्र शाहको भन्दा पहिले सभापति लामिछाने नै जान लागेका छन् ।

सरकार प्रमुखको भन्दा पहिला पार्टी प्रमुखको भ्रमण स्वभाविक भएको विज्ञहरूले बताएका छन् । राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका जानकार डा. सञ्जीव हुमागाईं यस प्रकारका भ्रमण कुनै नवीन प्रयोग या ‘डिपार्चर’ नभएको र अन्तराष्ट्रिय कूटनीतिमा पनि यस्ता भ्रमणहरूलाई अभ्यस्त परम्पराकै रूपमा लिइने गरेको बताउँछन् ।

‘हुन त यस्तो अवस्थालाई सरकार ढल्ने संकेत भनेर अनावश्यक भ्रम पनि फैलाउने गरिन्छ । विगतमा कतिपय त्यस्ता ‘कन्स्पिरेसी’ प्रचार गरेको पनि देखिन्छ । तर यस्तो भ्रमणलाई हामीले स्वाभाविक रूपमा लिनुपर्ने देखिन्छ,’ हुमागाईं भन्छन् ।

तर, पार्टी सभापतिको नाताले रविको भ्रमण सामान्य देखिए पनि यसलाई अझ उन्नत आयाम दिन सकिने ठाउँतर्फ भने सरकारले ध्यान दिएको देखिएको छैन ।

प्रधानमन्त्रीको भारत भ्रमण नभए पनि सभापति लामिछाने वर्तमान सरकारको दूतको भूमिकामा जान सकेको भए अझ राम्रो हुने सम्भावनातर्फ हुमागाई इंगित गर्छन् ।

‘यदि सरकारले यसलाई पार्टीस्तरीय भ्रमणको साटो नेपाल सरकारको प्रतिनिधित्व गरेर परराष्ट्रमन्त्रीसहितको भ्रमण गर्नुभएको भए यसले अझ उच्चस्तरीय हुन सक्ने थियो,’ हुमागाईं भन्छन् ।

बहालवाला प्रधानमन्त्रीको औपचारिक भ्रमण हुनुभन्दा अगाडि नै सत्तारुढ वा प्रमुख राजनीतिक दलका प्रमुखहरूले भारतको भ्रमण गरेका विगतका दृष्टान्तहरू नभएका होइनन् ।

जस्तो फेब्रुअरी २०१० मा नेपालको शान्ति प्रक्रिया, राजनीतिक स्थिरता र दलहरूबीचको सहमतिबारे भारतीय संस्थापन पक्षसँग संवाद गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ दिल्ली गएका थिए । त्यतिबेला एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री थिए ।

नेपालमा शान्ति प्रक्रिया र नयाँ संविधान लेखनको संक्रमणकाल चलिरहेका बेला एमालेका तत्कालीन प्रभावशाली नेता तथा दलका तर्फबाट कूटनीतिक कमान्ड सम्हाल्ने क्रममा ओलीले भारतको भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा उनले तत्कालीन भारतीय विदेश मन्त्री एस.एम. कृष्णा लगायतका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपाका सभापति लामिछाने आफ्नै ढंगले भारत भ्रमणमा जान लागेको बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा गत साता यस विषयमा सभापति लामिछाने र प्रधानमन्त्री शाहको कुनै सम्बन्ध नभएको समेत बताए ।

प्रवक्ता पोखरेलले भने, ‘प्रधानमन्त्रीज्यू भारत मात्रै जाने समय अथवा जुनसुकै देश जाने समय जति खेर हुन्छ। भारत मात्रै नजानु भएको होइन अहिले विदेश कहिँ पनि गइराख्नु भएको छैन। हामीलाई पहिलो सय दिनको कार्यव्यस्तता एकदमै धेरै छ। सुरूमा काममा अहिले बढी फोकस छौँ। त्यसैले सभापतिज्यू अहिले आफ्नै ढंगले जाँदै हुनुहुन्छ।’

भारतका लागि पूर्वराजदूत लोकराज बराल यस्ता किसिमका भ्रमणहरूलाई स्वाभाविक र सामान्य रूपमा लिनुपर्ने बताउँछन् ।

‘यो भ्रमणलाई सामान्य रूपमा नै लिनुपर्ने हुन्छ। यसअघि पनि प्रधामन्त्री भन्दा पहिला पार्टीका प्रमुखहरू विदेश भ्रमण गईसकेका उदाहरणहरू प्रशस्तै छन्,’ उनले बताए ।

सत्तासीन पार्टीहरू छिमेकी मुलुकहरूसँग र त्यहाँका राजनीतिक दलहरूसँग सम्बन्ध स्थापित गर्नका लागि पनि यस किसिमका भ्रमणहरू फलदायी हुने बरालको विश्लेषण छ ।

‘हरेक देशले अर्को देशको सत्तासीन पार्टीसँग राम्रो सम्बन्ध निर्माण गर्नका लागि, यी सबै कुरा आवश्यक पर्छन्। विगतमा म भारतमा राजदूत हुँदा पनि यस्तो अनुभव बटुलेको थिएँ ,’ बराल भन्छन् ।

प्रधानमन्त्री नगएपछि सभापतिलाई अवसर 

फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुन लागेको यो पहिलो विदेश भ्रमण हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जेठ १८ गते भारत गएर २० गते फर्कनेछन् । यद्यपि, औपचारिक रूपमा दुवै पक्षबाट भ्रमणबारे जानकारी दिइएको छैन ।

भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, केन्द्रीय सडक परिवहन एवं राजमार्गमन्त्री नितिन गडकरी, विदेश सचिव विक्रम मिस्री तथा भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीन लगायतसँग भेट्ने कार्यक्रम रहेको जानकारहरू बताउँछन् ।

यसअघि भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्तो पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई बधाई सन्देश पठाउँदै भारतको भ्रमणको निम्तो पनि दिएका थिए । तर, प्रधानमन्त्री बालेनको हालसम्म भारत भ्रमण तय भएको छैन ।

प्रधानमन्त्री शाहले २७ मार्च २०२६ मा प्रधानमन्त्री पदको शपथ लिएपश्चात् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै उनलाई भारत भ्रमणको निम्तो पठाए ।

तर रास्वपाले चाँडै नै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले कम्तीमा एक वर्षसम्म कुनै पनि विदेश भ्रमण नगर्ने स्पष्ट पार्यो। त्यही कारणले हुन सक्छ भारत मात्र होइन अन्य देशको पनि भ्रमणको मिति तय भएको छैन।

सरकार गठन भएको दुई महिनासम्म प्रधानमन्त्री शाहले कूटनीतिक मामिलामा एक किसिमको ‘अडान’ लिएको देखिन्छ ।

काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले नयाँ प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमा भेटेर बधाई दिन चाहेका थिए, जुन विगतमा सामान्य प्रचलन जस्तै मानिन्थ्यो ।

तर शाहले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाटको परम्परा तोड्दै राजदूतहरूलाई सामूहिक रूपमा भेटे । यसले भारतलाई दिइने विशेष महत्त्वको परम्परा तोडिएको संकेत गरेको विश्लेषणहरू भए ।

भारतले लिपुलेक भएर कैलाश मानसरोवर तीर्थयात्रा मार्ग सुचारु गर्ने घोषणा गरेपछि ३ मे २०२६ मा परराष्ट्र मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गर्दै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै अभिन्न भूभाग भएको दोहोर्यायो। सरकारले भारत र चीन दुवै देशलाई कूटनीतिक नोट पठाएर आपत्ति जनायो।

यी सबै घटनाक्रमको उत्कर्षका रूपमा ११ मे २०२६ बाट हुने भनिएको भारतीय विदेश सचिव विक्रम मिश्रीको दुई दिने नेपाल भ्रमण स्थगित भयो। मिश्रीको यो भ्रमण मार्च अन्त्यमा मौरिससमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भएको छलफलपछि तय भएको थियो।

भ्रमणको उद्देश्य प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिनु र द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल गर्नु थियो। तर स्रोतहरूका अनुसार, बालेन शाहले मिश्रीसँग भेट्न अस्वीकार गरेपछि भ्रमण स्थगित गरिएको हो।

प्रधानमन्त्री शाहको यो अडान केवल भारतसँग मात्र सीमित रहेको देखिदैन । अप्रिल २०२६ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दक्षिण तथा मध्य एशियाका लागि विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आए। भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरलाई ट्रम्पको निकटस्थ मानिन्छ। तर प्रधानमन्त्री शाहले उनलाई पनि भेट्न अस्वीकार गरे।

त्यसअघि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपूरले पनि शाहलाई भेट्न नपाएको घटना चर्चामा आइसकेको थियो। प्रधानमन्त्रीको सचिवालयले कार्य व्यस्तलाई कारण देखाए पनि यसलाई एक नयाँ कूटनीतिक प्रोटोकलको रूपमा व्याख्या गरियो ।

प्रधानमन्त्री भ्रमण तय नभईरहेका बेला परराष्ट्र मन्त्रीको भारत जाने कार्यक्रम पनि रोकियो । परराष्ट्रमन्त्री शिशिर खनालले जेठ १८ गते भारत भ्रमण गर्ने तय भएको थियो।तर, भारत सरकारले १ जूनमा आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय बिग क्याट एलायन्स सम्मेलन नै स्थगित गरेपछि खनालको भ्रमण पनि स्थगित भयो।

यो सम्मेलन चौथो इन्डिया-अफ्रिका फोरम सम्मेलनसँगै आयोजना हुने थियो ।

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?