+
+
Shares
कोशी प्रदेशसभा :

दलहरूबीच सहमति जुटेपछि गतिरोध हट्यो, बजेटका सिद्धान्त र प्राथमिकता पेस

गत जेठ १२ मा सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रमाथि संशोधनको समय नै नदिई सर्वसम्मतिका आधारमा पारित भएको घोषणा गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १९:१०

१६ जेठ, विराटनगर । कोशी प्रदेशसभाको गतिरोध अन्त्य भएको छ । प्रदेश सरकारकोे नीति तथा कार्यक्रम पारितको प्रक्रियालाई लिएर जेठ १२ गतेदेखि जारी गतिरोध दलहरूबीचको सहमति जुटेपछि अन्त्य भएको हो ।

गत जेठ १२ मा सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रमाथि संशोधनको समय नै नदिई सर्वसम्मतिका आधारमा पारित भएको घोषणा गरेका थिए ।

संशोधनको समय नदिएको भन्दै प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले संसद् अवरुद्ध गरेको थियो । जेठ १३ गते अवरोधका क्रममा पूर्वमुख्यमन्त्री राजेन्द्र राई जबरजस्ती रोस्ट्रम पुगेर माइक फाल्न खोजेका थिए । त्यसपछि बैठक शनिबारसम्मका लागि स्थगित भएको थियो ।

आज प्रदेशसभाको बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख र दलका नेताहरूबीच नीति तथा कार्यक्रम प्रदेशसभाले सर्वसम्मत पारित भएको भन्ने सभामुखको घोषणा सच्याउने र सहमति सभामुखले प्रदेशसभाको बैठकमा वाचन गर्ने सहमति भएको थियो ।

सहमतिको विषय सभामुख विष्टले सभामा जानकारी गराएका थिए । त्यसपछि प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङथेपले बजेटका प्राथमिकता र सिद्धान्त पेस गरे ।

स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको लक्ष्य राखिएको प्राथमिकतामा पर्यटन प्रवर्द्धनका लागि २०८३ साउनदेखि २०८५ असारसम्मलाई कोशी भ्रमण वर्षको रूपमा मनाइने र पर्यटकीय पदमार्गहरूको विकास गरिने उल्लेख छ ।

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई डिजिटल बनाइने र आयोजनाहरूको अनुगमनमा कडाइ गर्ने, कृषिको आधुनिकीकरण र स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापनामा निजी क्षेत्रलाई प्रोत्साहनलाई प्राथमिकतामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?