+
+
Shares

‘सर्वसम्मति’ कि ‘बहुमत’ ? भन्ने विवादले बस्न सकेन कोशी प्रदेशसभा

मंगलबार सभामुख विष्टले संशोधनका लागि समय नदिई नीति तथा कार्यक्रम ‘सर्वसम्मति’ ले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले विरोध गरेका थिए । आफूहरूले समर्थन नगरेको अवस्थामा सर्वसम्मति भन्नु संसदीय मर्यादाविपरीत भएको तर्क प्रतिपक्षको छ ।

हरि अधिकारी हरि अधिकारी
२०८३ जेठ १३ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशसभाको बैठक नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियामा उत्पन्न विवादका कारण १६ जेठसम्मका लागि स्थगित भएको छ ।
  • सभामुखले नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी सांसदहरूले सदनमा अवरोध गरेका हुन् ।
  • विवादका क्रममा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोष्ट्रममा पुगेर माइक खोस्ने प्रयास गरेपछि मर्यादापालकहरूले उनलाई रोकेका थिए ।

१३ जेठ, विराटनगर । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर उत्पन्न विवादका कारण प्रदेशसभाको बैठक जेठ १६ गतेसम्मका लागि स्थगित भएको छ ।

बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरूको अवरोध र रोष्ट्रम घेराउ गरेपछि सभामुख अम्बरबहादुर विष्टले आधा घण्टाका लागि बैठक स्थगीत गरेका थिए । त्यसपछि बैठक बस्न नसकेपछि सूचना टाँस गरी बैठक स्थगित भएको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार, अर्को बैठक जेठ १६ गते दिउँसो १ बजे बस्नेछ ।

मंगलबार सभामुख विष्टले संशोधनका लागि समय नदिई नीति तथा कार्यक्रम ‘सर्वसम्मति’ ले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले विरोध गरेका थिए । आफूहरूले समर्थन नगरेको अवस्थामा सर्वसम्मति भन्नु संसदीय मर्यादाविपरीत भएको तर्क प्रतिपक्षको छ ।

बुधबारको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले संसद्को स्थापित मान्यता तोडेर अघि बढ्न नमिल्ने बताए । ‘प्रतिपक्षी मान्न तयार नभएको कार्यक्रम कसरी सर्वसम्मत हुन्छ ?,’ उनले भने, ‘यसलाई बहुमतले पारित गरेको घोषणा नगरेसम्म सदन चल्न सक्दैन ।’

सभामुखले प्रतिपक्षीको अवरोधका बावजुद कार्यसूची अघि बढाउन खोजेपछि सदन तनावपूर्ण बनेको थियो । सभामुखले जसपा सांसद निर्मला तावा लिम्बूलाई बोल्न समय दिएपछि आक्रोशित बनेका पूर्वमुख्यमन्त्री एवं नेकपा सांसद राजेन्द्र राई दौडिएर रोष्टमतिर पुगेका थिए ।

उनले रोष्ट्रममा पुगेर माइक खोस्ने प्रयास गरेपछि मर्यादापालकहरूले उनलाई रोकेका थिए । सो क्रममा सदनमा केही तनाव भएको थियो । विवादबीच सभामुख विष्टले भने नियमावली अनुसार नै प्रक्रिया अघि बढेको दाबी गरे । उनले छलफलका क्रममा कसैले संशोधन प्रस्ताव दर्ता नगरेको र हुन्न भन्ने आवाज नआएका कारण परम्परा अनुसार सर्वसम्मति मानिएको बताए ।नीति तथा कार्यक्रम पारित भइसकेका कारण अब फर्किने प्रक्रिया नरहेको उनले बताएका थिए ।

‘बहुमत’ दाबी बटमलाइन

पूर्वमुख्यमन्त्री तथा प्रतिपक्षी सांसद राई  नीति तथा कार्यक्रम पारित गर्दा सभामुखमा सत्तापक्षको छाया देखिएको बताउँछन् ।

सभामुखले विधि र स्थापित संसदीय प्रचलनभन्दा बाहिर गएर काम गरेको उनले बताए ।

‘सभामुखको इन्टेन्सन भन्दा पनि अज्ञानता वा सत्तापक्षको दबाब थाम्न नसकेर उहाँले विधि मिचिरहनुभएको छ,’ उनले भने,‘ हिजो संशोधनको समय पनि दिइएन र आज विरोधका बाबजुद प्रक्रिया अघि बढाइयो ।’

सभामुखले जवरजस्ती अघि बढाएपछि विरोध गरेको उनले बताए । ‘हाम्रो कार्यक्रम रोष्ट्रम घेर्ने नै थियो । बोल्नका लागि त्यहाँ पर्याप्त समय पाइएन, पाएको भए बोल्ने र घेर्ने सबै काम सँगै हुन्थ्यो होला,’ उनले भने,‘ रोष्टममा घेर्न गएकै हो ।’

सदनबाट पारित भएको नीति तथा कार्यक्रमलाई ‘सर्वसम्मति’ साटो बहुमतको प्रक्रियाबाट भन्नुपर्ने प्रतिपक्षीको माग छ । ‘हामीले पारित गर्ने प्रक्रियाभित्रै विरोध गरेका हौँ । विरोध हुँदाहुँदै सभामुखले सर्वसम्मतिले पारित भयो भन्नु गलत छ,’ उनले थपे, ‘हाम्रो माग यति हो कि त्यसलाई सर्वसम्मति नभनी ‘बहुमत’ ले पास भएको भनियोस् ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?