+
+
Shares

मानवताको हृदयमा लागेको ‘ह्विल लक’

ओलीको उडान र पतनको यति ताजा पाठबाट पनि सिक्दै नसिकी ‘फ्यान’ को शीतल हावामा मदमस्त हुने हो भने नौलो एक्सप्रेसको गति र मति पनि टाइटनिक जहाजको जस्तै हुन सक्छ ।

उमेश चौहान उमेश चौहान
२०८३ असार २८ गते ७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजधानीमा २५ वर्षीय युवा गणेश नेपालीले शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका छन् ।
  • राज्य र नागरिकबीचको संरक्षणको सन्धि तोडिँदा नागरिकले पटक-पटक कठोर बाटो रोज्न बाध्य हुनुपरेको छ ।
  • अतिवाद र निराशाको चक्रबाट देशलाई जोगाउन राजनीतिक नेतृत्वप्रति नागरिक खबरदारी आवश्यक देखिएको छ ।

ओहो, मन कति विचलित छ । २५ वर्षीय युवा गणेश नेपालीको उर्जाशील जीवनयात्रामा अचानक ‘ह्वील लक’ लागेको छ ।

उनले आत्मदाह गर्दै गरेको भिडियो सोसल मिडियामा जतिपटक आए पनि हेर्न सकिएको छैन । उनका दाइको प्रतिक्रिया भने न छोड्न सकियो, न पूरा हेर्न सकिएको छ ।

उनी भन्दैछन्, ‘हामी त उता दुर्गमको मान्छे, यता खसीको मासु किनेर खान सक्दैनौं ।

त्यसैले भाइले खसीको खुट्टा लिएर आएको रहेछ, मैले बिहान पकाएको थिएँ, तर भाइ आउला आउला भनेर पर्खिरहेको बेला प्रहरीको फोन आयो । तिम्रो मान्छेले पेट्रोल छर्किएर शरीरमा आगो लगायो भनेर खबर गर्‍यो । त्यसपछि दौड्दै अस्पताल आएको छु ।’

गणेश नेपालीले आफ्नो शरीर मात्र जलाएका छैनन्, आज संवेदनशील मानवताको हृदयमा आगो झोसेर गएका छन् ।

कुनै निलो, रातो, हरियो, कालो वा छिर्केमिर्के क्रान्तिका शब्दजाल र दाउपेचले यो आगो निभाउने छैन । सरकारले दिनदिनै गर्ने उत्पात–उखरमाउला घोषणाले पनि यसलाई मत्थर गर्ने छैन ।

किनकि राज्य भनेको कुनै मन्चन होइन, यो नागरिक र शासकबीचको अविच्छिन्न कानुनी अनुबन्धन हो । राज्यको अवधारणा, स्थापना र अभ्यास जे प्रयोजनका लागि भएको हो, राज्यले त्यही गरे पुग्छ, त्यसको विकल्पमा जे गरे पनि पुग्दैन ।

निःसन्देह आज गणेश नेपालीलाई सरकारले समातेर उनको शरीरमा आगो लगाइदिएको होइन । ठीक त्यसैगरी, हिजो प्रेम आचार्यलाई पनि सरकारले समातेर जलाएको होइन ।

प्रेम आचार्यले आफ्नो जीवन धान्न व्यवसाय र व्यवसाय धान्न अनेक संघर्ष गरेका थिए ।

परिवारको गुजारा सहज बनाउन विकट मुगुबाट राजधानी आएका गणेश नेपाली पनि राजधानीका गल्लीगल्लीमा म्याराथन दौडिरहेका थिए ।

आज गणेश नेपालीले नियम कानून मान्नुपर्थ्यो भनेर सपाट टिप्पणी गर्ने हो भने हिजो प्रेम आचार्यले पनि आफूले खाएको ऋण तिरेर जानुपर्थ्यो भन्ने असंवेदनशील कित्तामा पुगिन्छ । यस्तो मनोविज्ञानले मानवताका जुनसुकै किल्ला भत्काउन सक्छ ।

नाजुक नागरिकलाई उल्टै लखेट्ने, घेर्ने र हतोत्साहित गर्ने हो भने पेट्रोल छर्किएको, आगो सल्काएको र नागरिकलाई जलाएको अभियोग राज्यलाई लाग्छ ।

आधारभूत प्रश्न के हो भने राज्यले लगाएका नियम र निषेध नागरिकले किन मान्छन् ? यो बाटो हिँड भन्दा किन हिँड्छन् ? त्यो बाटो निषेध छ भन्दा किन रोकिन्छन् ? रात पर्नुअघि सटर लगाऊ भन्दा स्वीकार गरेर लुरुलुरु गुँडतिर किन फर्कन्छन् ?

तिमीले कमाएको पैसाबाट कर ल्याऊ भन्दा किन लाइन लागेर तिर्न जान्छन् ? किनकि राज्यले त्यसको बदलामा संरक्षणको जिम्मा लिएको हुन्छ ।

नागरिकलाई भोकै पर्न दिइने छैन, छानो खोसिने छैन र सबैभन्दा ठूलो विषय उसको प्रतिष्ठा हरण गरिनेछैन भनेर राज्यले नागरिकसँग सन्धि गरेको हुन्छ । त्यही दोहोरो सन्धीका भरमा प्रणाली चलेको हुन्छ ।

अप्ठ्यारो परेको बेला राज्य छ भन्ने भरोसामा नै प्रेम आचार्य र गणेश नेपालीजस्ता नागरिक आफ्नो बरकतले भ्याएसम्म हन्डर, ठक्कर, घुस्सा, मुक्का खाँदै आफ्नो लडाइँ आफैं लडिरहेका हुन्छन् । जब कुनै मोडमा नागरिक नाजुक बन्छ, त्यो बेला तिमी सुरक्षित छौं किनकि तिम्रो श्रम, पसिना र करले यो प्रणाली चलेको छ भन्न राज्य सविनय हाजिर हुनुपर्छ ।

त्यसैले प्रेम आचार्यले ऋणमा व्यवसाय गर्दा पनि आफूले बेचेको हरेक ग्राम चियाबाट हिजोको सरकारलाई कर तिरेका हुन्, आज गणेश नेपालीले किस्तामा किनेको मोटरसाइकल ‘राइड सेयर’ मा चलाउँदा पनि हरेक किलोमिटरमा कर थोपर्ने नयाँ सरकारको नयाँ आदेश मानेका हुन् ।

नाजुक नागरिकलाई उल्टै लेखेट्ने, घेर्ने र हतोत्साहित गर्ने हो भने पेट्रोल छर्किएको, आगो सल्काएको र नागरिकलाई जलाएको अभियोग राज्यलाई लाग्छ । त्यो अभियोगबाट न हिजोको सरकारले उन्मुक्ति पाउँछ, न आजको सरकारले ।

प्रेमप्रसाद आचार्य

तर सरकारको कुर्सीमा बसेका अनुहार हेरेर कहिले आँसुको भेल बगाउने र कहिले नियम कानुनको डन्डा तेर्स्याउने हो भने त्यो समाजको विवेक लिलाम भइसकेको मान्नुपर्छ ।

अझ, हरेक व्यक्तिको ललाटमा जे लेखिएको छ, त्यही भोगेर जाने हो, बाँकी सब मिथ्या हुन् भन्ने हो भने किन चाहियो यो राज्य भन्ने अखडा ?

राज्य भनेको शासन पनि हो, संरक्षण पनि हो । संरक्षणविनाको शासन संसारमा कतै पनि टिकेको छैन, कतै टिकेछ भने राजनीतिशास्त्रमा नयाँ अध्याय थपिनेछ ।

नियम कानुन पनि कहिले, कसलाई लागू हुने यो देशमा ? आज एउटा मजदुरको गरी खाने मोटरसाइकलमा ‘ह्वील लक’ लगाउनु कानूनको परिपालना हो भने हिजो राजधानीका मेयरकी श्रीमती चढेको महानगरको सरकारी गाडी सार्वजनिक बिदाका दिन किन कुदेको हो भनेर सोधपुछ गर्नु ट्राफिक प्रहरीको अपराध कसरी थियो ?

तर, न्यूनतम मानवीय संवेदना, नागरिकको मौलिक अधिकार र राज्यको अनिवार्य जिम्मेवारीलाई आफ्नै तुष्टिका लागि सम्झने र बिर्सने संक्रमणले हामी ग्रस्त छौं भने उपचार पनि त्यति सहज छैन ।

एक दशक पनि भएको छैन, केपी ओली यो देशमा आधुनिक राष्ट्रवादका ‘विभूति’ थिए । वृद्धवृद्धा मात्र होइन ठूलो संख्यामा युवापंक्तिले पनि भारतसँग भिड्ने ओली हुन्, नत्र देश सकिन्छ भन्दै खुलेरै भोट दिएका थिए ।

झण्डै दुई तिहाइको सरकारको नेतृत्व पाएका ओली भने नागरिकका रोजिरोटीका मुद्दालाई झिनामसिना भन्दै चुच्चे रेलको स्टेशन राख्ने ठाउँको सर्भे गर्न रुसुवागढीदेखि कुश्मासम्म फिर्ता लिएर नापजाँचमा कुदिरहेका थिए ।

राजधानी जोड्ने सडककै बिजोग पारेर पानीजहाजको कार्यालय उद्घाटन गर्न वालुवाटारबाट एकान्तकुनातर्फ कुद्दै थिए । तर, आज पनि फर्किएर हेर्दा ओलीले त्यो भीमकाय जहाज एक्लै डुबाएका होइनन् ।

आलोचकहरुले प्वाल परिसक्यो भन्दाभन्दै पनि औंला लिएर थुन्न खोज्ने उनका प्रशंशकहरु ओलीभन्दा कम दोषी छैनन् । त्यो बेला ओलीको आलोचना गर्ने पत्रकार, लेखक, नागरिक र प्रतिपक्षीलाई अरिङ्गाल बनेर डसिहाल्ने र जसले बढि डस्यो त्यही आधारमा पुरस्कार दाबी गर्ने समुदायले नै ओलीको जहाज डुबाएको हो ।

ओली एक्सप्रेस चुर्लुम्म डुबेपछि आज क्याप्टेनको क्याबिनमै पसेर उनलाई पानीमा चोपल्न खोज्नेहरु खुबै फुर्तिला देखिन्छन्, त्यही चेतना कुनै बेला वालुवाटारको तीन किलोमिटर आसपासमा कानेखुसीकै रुपमा पनि प्रकट भएको भए आज ओली जहाजको भग्नावशेष खोज्न पार्टीभित्रैबाट आयोग गठन गर्नुपर्ने थिएन ।

दक्षिण अमेरिकी देश पेरुमा छापामार युद्ध दबाउन सफल अल्बर्टो फुजिमोरी देशभित्र राष्ट्रिय एकताका प्रतीक र मित्र राष्ट्रहरुका लागि लोकतन्त्रका ‘पोष्टर ब्वाय’ थिए ।तर जनताको त्यही विश्वासको धरातलमा अधिनायकवादी शासन चलाउँदा सन् २००० मा उनले जनआक्रोशको आँधीबेहरी सामना गर्नुपर्‍यो ।

ओलीको उडान र पतनको यति ताजा पाठबाट पनि सिक्दै नसिकी ‘फ्यान’ को शीतल हावामा मदमस्त हुने हो भने नौलो एक्सप्रेसको गति र मति पनि टाइटनिक जहाजको जस्तै हुन सक्छ ।

त्यो दुर्घटनाले कुन नेतालाई र कुन दललाई कहाँ पुर्‍याउँछ ? धेरै चिन्ताको विषय होइन । देशलाई अर्को अराजकताको ‘ब्ल्याक होल’ मा लग्न सक्छ, त्यो भने गम्भीर चिन्ताको विषय हो ।

प्रचण्डले आफ्नै क्रान्ति तथा सहयोद्धा सिपाही र कार्यकर्ताको सपनालाई निर्मम धोका दिए, देउवाले लोकतन्त्रलाई नै दरबारमा बुझाएका हुन् । त्यसैले उनीहरुले आआफ्नो हिस्साको राजनीतिक तथा कानुनी परिणाम भोगिरहेका छन् ।

उनीहरु केही गुण र अवगुणसहितका मानव थिए । तर खासगरी ओली र प्रचण्डका समर्थकहरुले उनीहरुलाई मानव मात्र रहन दिएनन्, त्यसैले गर्नुपर्ने कामै नगरी राजनीतिक जुनीबाट उनीहरुको अवसान भयो ।

त्यो सचित्र उदाहरण देखेका अहिलेका नेताहरुले गुण र अवगुणसहितको मानव चोला बाँच्न पाउनुपर्छ । तर, उनीहरुलाई तिलस्मी शक्ति बनाउन कुँदिरहेको यही ‘फ्यान क्लब’ ले भोलि दानवीकरण गर्ने जोखिम छ ।

देउता र दानवको खेलमा फेरि थप समय बर्बाद हुने हो भने समाज जुन उत्साहमा छ, त्यही गतिमा निराशाको गर्तमा फस्न सक्छ । निराश समाजले एकपछि अर्को अतिवाद अपनाउँदै जान्छ भन्ने उदाहरण विश्वभर पटकपटक प्रकट भएका छन् ।

दक्षिण अमेरिकी देश पेरुमा छापामार युद्ध दबाउन सफल अल्बर्टो फुजिमोरी देशभित्र राष्ट्रिय एकताका प्रतीक र मित्र राष्ट्रहरुका लागि लोकतन्त्रका ‘पोष्टर ब्वाय’ थिए ।

तर जनताको त्यही विश्वासको धरातलमा अधिनायकवादी शासन चलाउँदा सन् २००० मा उनले जनआक्रोशको आँधीबेहरी सामना गर्नुपर्‍यो ।

उनी भागेर जापान गए, देश फर्कन सकिन्छ कि भनेर चिली पुगेर चियाउँदा उनलाई पक्राउ गरेर धकेल्दै पेरु लगियो र अदालतले ४० वर्षको जेल सजायको फैसला सुनायो ।

फुजिमोरीलाई जेल पठाउनु मात्र जनताको अभीष्ट थिएन, उनीहरुले आत्सम्मानसहितको रोजिरोटी खोजेका थिए । तर पछिल्लो नौ वर्षमा सात वटा सरकार परिवर्तन भए जसले अर्थतन्त्र र नागरिकको विश्वास तहसनहस बनायो । निराश समाजले के गर्छ ?

हो, पेरुले उनै तानाशाह फुजिमोरीकी छोरी केइको फुजिमोरीलाई देशको राष्ट्रपति निर्वाचित गरेको छ ।

फुजिमोरी देश र जनतालाई धोका दिएको अभियोगमा तीन वर्षअघिसम्म जेलमा थिए, तर उनै फुजिमोरीको सपना पुरा गर्न भन्दै छोरी फुजिमोरी पेरुको राष्ट्रपतिमा निर्वाचित भएको आज एक महिना भएको छ ।

गत शताब्दीका सबैभन्दा भ्रष्ट परिवारको सूचीमा फिलिपिन्सका मार्कोसहरुको नाम अग्रपंक्तिमा आउँछ ।

२० वर्ष शासन गरेका तानाशाह फर्डिनान्ड मार्कोसले अन्तिम घडीमा भाग्नलाई अमेरिकी हेलिकोप्टरको गुहार पाए जसमा राखेर उनले केही नगदका पेटी र गहनाका बाकस हवाईको होनोलुलुसम्म पुर्‍याए, तर राजनीतिबाट आर्जन गरेको अथाह सम्पत्ति फिलिपिन्समै छुट्यो ।

जब कुनै पनि नेताको राप र तापका अगाडि समाज आलोचकको रुपमा होइन, चियर लिडररुपमा प्रकट हुन्छ, त्यो समाज उत्तिकै छिटो निराश हुन्छ र अझ खतननाक अतिवादतर्फ बहकिँदै जान्छ ।

संसारका महंगा ब्रान्डका करिब तीन हजार जोडा जुत्ता छोडेर भागेकी श्रीमती इमेल्डा मार्कोस विश्वभरका डकुमेन्ट्री मेकरका लागि सबैभन्दा बढी छानिएकी खलपात्रको रुपमा चर्चित रहिन् । तर देशको दुःखले अनेक मोड लिन्छ ।

पछिल्लो समयमा फिलिपिन्समा रोड्रिगो दुतेर्तेजस्ता राष्ट्रपति आए जसले, लागुऔषधविरुद्ध अपरेशन भन्दै अधिनायकवादी शासन चलाए ।

दाभाओ सहरको मेयरको रुपमा कमाएको लोकप्रियताले दुतेर्तेजस्ता व्यक्ति फिलिपिन्सको राष्ट्रपति भए, तर त्यही उत्साह थाम्न नसक्दा दुतेर्तेले अहिले हेगको जेलमा दिन कटाइरहँदा फिलिपिन्सको राष्ट्रपति को छन् ? उनै बिसौं शताब्दीका भ्रष्टतम शासक फर्डिनान्ड मार्कोसका छोरा बोङबोङ मार्कोस ।

बाबु त अमेरिकामा बितिगए, आमा इमेल्डा स्वदेश फर्केर संसद्मा पुगिन् र सँगै आएका छोरालाई देशको राष्ट्रपति बनाउन सफल भइन् । इमेल्डा र बोङबोङ अहिले सिनियर मार्कोसले बाँकी राखेका सुशासनको सपना पूरा गर्दैछन् किनकी जनताले उनीहरुलाई प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतसहित ऐतिहासिक जिम्मेवारी दिएका छन् ।

निराशा र अतिवादमा फस्दै जाँदा राजनीति कहाँ पुग्छ भन्ने बुझ्न धेरै टाढा जानु पर्दैन, हामीसँगै चुनावमा गएको बंगलादेशलाई हेरे पुग्छ । राष्ट्रपति श्रीमान जियाउर रहमानको हत्यापछि राजनीतिमा आएकी वेगम खालिदा जिया सन् १९९१ र २००१ मा प्रधानमन्त्री त बनिन्, तर उनको छवि आदर्श शासकको रुपमा लेखिने कुनै कारण छैन ।

खासगरी दोस्रो कार्यकालमा भ्रष्टाचारका लागि बदनाम भएकी उनलाई पाखा लगाउन प्रतिद्वन्द्वी शेख हसिनाले लोकतन्त्र, कानुन र संविधानका सारा सीमाना उल्लग्घन गरिन् ।

तर गत वर्षको विस्फोटक विद्यार्थी आन्दोलनपछि शेख हसिनाले सत्ताबाट मात्र होइन, देशैबाट बिदा लिनुपर्‍यो । एउटा भ्रष्ट शासनलाई विस्थापित गरेपछि भएको निर्वाचनले फेरि बेगम खालिदाका छोरा तारिक रहमानलाई दुई तिहाइसहित सत्तामा पुर्‍याएको छ ।

तारिक रहमान

सन् २००० को सुरुवातताका आमा बेगम खालिदा प्रधानमन्त्री भएका बेला सरकारी ठेक्काका फाइल भने छोरा तारिक रहमानको ‘हावा भवन’ बाट मात्र टुंगो लाग्थे भनेर त्यहीबेला स्थानीय तथा अन्तर्राष्ट्रिय मिडियाले रिपोर्टिङ गरिरहेका थिए ।

तर हिजो सरकारी ठेक्कापट्टाको ‘फिक्सर’ को रुपमा बदनाम तारिक रहमानलाई नै दुई दशकपछि उही समाजले बंगलादेशको नयाँ बिहानीको रुपमा असाधारण शक्ति दिएको छ ।

उनलाई यो जीत शेख हसिनाको भ्रष्ट शासनको विकल्पको रुपमा मात्र होइन, जमात–ए–इस्लामीजस्तो अतिवादी समूहको सहयोगमा पनि प्राप्त भएको छ । एउटा भ्रष्ट शासनबाट आजित बंगलादेशले अर्को अतिवादतर्फ जाने जोखिम पनि सहर्ष स्वीकारेको छ ।

पेरु, फिलिपिन्स र बंगलादेशका उदाहरण अपवाद होइनन्, राजनीतिशास्त्रका नियमित पाठ हुन् । जब कुनै पनि नेताको राप र तापका अगाडि समाज आलोचकको रुपमा होइन, चियर लिडररुपमा प्रकट हुन्छ, त्यो समाज उत्तिकै छिटो निराश हुन्छ र अझ खतननाक अतिवादतर्फ बहकिं‌दै जान्छ ।

नेपालको नयाँ राजनीतिक नेतृत्वले प्राप्त गरेको जनमतलाई पनि निराशातर्फ संक्रमित हुन नदिन सञ्चारकर्मी, लेखक, नागरिक र युवाहरुको खबरदारी उत्तिकै आवश्यक छ ।

किनकि नेता विशेषको तापले सबैभन्दा बढी सत्तासिन सांसदहरु मुर्झाएका छन् । जब सहकर्मीहरु मुर्झाउँछन्, तब नागरिकको जिम्मेवारी झन् बढि अपरिहार्य हुन्छ ।

नागरिकले शासकहरुलाई सम्झाइरहुनपर्ने एउटा गजबको कविता पाकिस्तानी जनकवी हबिब जालिवले हामीलाई छाडेर गएका छन् । सन् ६० को दशकमै उनले लेखेका थिए :

‘तुम से पहले वो जो इक शख़्स यहाँ तख़्त नशीं था,
उस को भी अपने ख़ुदा होने पे इतना ही यक़ीं था।
(तिमीभन्दा पहिले जो मान्छे त्यो सिंहासनमा बसेको थियो नि,
हो उसलाई पनि आफू अवतार नै हुँ भन्ने यत्तिकै विश्वास थियो)

लेखक
उमेश चौहान

चौहान हिमालय टिभी र अनलाइनखबरका ग्रुप सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?