News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भएको भीषण आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
- घटनामा ६० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने केही व्यक्ति अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
- थाई प्रधानमन्त्रीले विद्युत् प्रणालीको स्विचबाट सुरु भएको आगो अत्यधिक ज्वलनशील सामग्रीका कारण तीव्र रुपमा फैलिएको अनुमान गरिएको बताएका छन् ।
२९ असार, काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा लागेको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । ६० भन्दा बढी घाइते भएका छन् ।
थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये ९ जना पुरुष र १८ जना महिला छन् । साथै केही व्यक्ति बेपत्ता रहेको थाई सञ्चारमाध्यम थाइराथले जनाएको छ ।
सोमबार मध्यरातपछि आगलागी भएको जानकारी प्राप्त भएपछि दमकल टोली घटनास्थलमा पुगेको थियो । त्यतिबेला बारको मुख्य प्रवेशद्वारबाट मानिसहरू आगो र धुवाँबाट ज्यान जोगाउन भागिरहेका थिए ।
सामाजिक सञ्जाल एक्समा सार्वजनिक भिडियोहरूमा बारबाट ठूलो आगोको मुस्लो निस्किरहेको, मानिसहरू चिच्याउँदै भागिरहेको, केही लडिरहेको तथा कम्तीमा दुई जना व्यक्तिको शरीरमा आगो सल्किएको देखिन्छ ।
प्रधानमन्त्रीले घटनास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए ।
दमकलकर्मीहरूले करिब आधा घण्टामै आगो नियन्त्रणमा लिएका थिए । तर त्यतिन्जेलसम्म ठूलो मानवीय क्षति भइसकेको थियो ।
प्रधानमन्त्रीका अनुसार आगलागी हुँदा कार्यक्रममा प्रस्तुति दिइरहेका एक संगीतकारले सुरुमा विद्युत् प्रणालीको कट–आउट स्विच (मुख्य विद्युत् स्विच) नजिक आगो लागेको बताएका थिए ।
प्रधानमन्त्रीले उनको भनाइ उद्धृत गर्दै भने, ‘उनले सुरुमा कट–आउट स्विचमा आगो लागेको बताए । त्यसपछि सबै कुरा निकै छिटो भयो । विस्फोटजस्तो आवाज आयो र मानिसहरू धुवाँ तथा आगोबाट बच्न भाग्न थाले ।’
उनका अनुसार धेरै मानिसहरू अगाडिको बाटोबाट निस्कन नसकेपछि भवनको पछाडितर्फ गएर शौचालयमा लुकेका थिए ।
‘हामीले अधिकांश शव त्यहीँ फेला पारेका छौँ,’ प्रधानमन्त्रीले भने ।
आगलागी भएको बार स्थानीय रूपमा रोङ बियर ना लाट फ्राओ (Rong Beer Na Lat Phrao) नामले चिनिन्छ । यो बैंककको चाटुचक जिल्लामा रहेको लोकप्रिय रेस्टुरेन्ट तथा मनोरञ्जन स्थल हो ।
आगो नियन्त्रणमा आएपछि खिचिएका तस्बिरहरूमा बार बाहिर शव राखिएका काला झोलाहरू (बडी ब्याग)को लाम देखिन्छ भने घटनास्थल वरिपरि सुरक्षा घेरा लगाइएको छ ।
बारभित्रका फर्निचर, भित्ताहरू र छत पूर्ण रूपमा जलेको देखिन्छ ।
बारभित्र प्रयोग गरिएका अत्यधिक ज्वलनशील सजावटका सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको प्रारम्भिक अनुमान गरिएको छ । यसको आधिकारिक पुष्टि फरेन्सिक अनुसन्धानपछि मात्र हुने अधिकारीहरुले बताएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार सोमबार राति करिब ११:३० बजे त्यहाँबाट गुज्रिरहेका एक चालकले बारमा आगो लागेको देखेपछि दमकललाई खबर गरेका थिए । उनले आफ्नो गाडी रोकेर झ्याल फुटाई दुई जनालाई सुरक्षित बाहिर निकाल्न सफल भएको बताएका छन् ।
प्रतिक्रिया 4