+
+
Shares

कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा चल्यो डोजर

व्यापारिक प्रयोजनका लागि भाडामा लगाएका २६ वटा सटर डोजर लगाएर प्रयोग गर्न नमिल्ने बनाइदिएको अस्पताल प्रशासनले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते ७:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी अस्पताल विराटनगरले अस्पतालको जग्गामा निर्मित अनाधिकृत २६ वटा सटर सोमबार डोजर प्रयोग गरी भत्काएको छ ।
  • गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनपछि अस्पताल प्रशासनले सो कारबाही अघि बढाएको हो ।
  • अस्पतालको जग्गामा रहेका ती संरचनाहरू विभिन्न संस्थाहरूले भाडामा लगाएका थिए ।

२९ असार, विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गामा बनेका संरचनामा अस्पताल प्रशासनले डोजर चलाएको छ । अन्य संस्थाले निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएको सटरहरुमा अस्पताल प्रशासनले सोमबार बिहानै डोजर प्रयोग गरेर भत्काएको हो ।

विराटनगर–७, अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए । ती संस्थाहरुले अस्पतालको जग्गामा सटरहरू निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएका थिए ।

व्यापारिक प्रयोजनका लागि भाडामा लगाएका २६ वटा सटर डोजर लगाएर प्रयोग गर्न नमिल्ने बनाइदिएको अस्पताल प्रशासनले जनाएको छ ।

सोमबार बिहानैदेखि मोरङका प्रहरी प्रमुख कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहितको टोली खटिएको छ । बाक्लो मात्रामा प्रहरी परिचालन गरेर संरचना भत्काइँदैछ ।

यसअघि असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै सरकारी जग्गामा रहेका अनाधिकृत संरचना तत्काल हटाउन निर्देशन दिएका थिए ।

मन्त्रीहरूको निर्देशनलगत्तै अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गरेको थियो । त्यसअघि संरचना खाली गर्न असार ५ गते १५ दिने सूचना निकालेको थियो ।

अस्पताल प्रशासनले दिएको अन्तिम समयसीमा भित्रै अधिकांश व्यवसायीले आफ्ना सामानहरू सारिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?