News Summary
Generated by OK AI. Editorially reviewed.- वर्षाका कारण काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा प्रभावित भएको छ ।
- अभियन्ता लक्ष्मी घिमिरेका अनुसार करिब १५० जना पीडितलाई छाताको अभाव भएकाले मार्च तत्कालका लागि रोकिएको छ ।
- पीडितहरूले सरकारसँगको सम्झौता कार्यान्वयन र मिटरब्याजसम्बन्धी फर्जी लिखत खारेजी लगायतका ६ बुँदे माग राखेका छन् ।
२९ असार, जनकपुरधाम । काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा वर्षाको कारण प्रभावित बनेको छ । आइतबार राति रौतहटको चपुर पुगेर धर्मशालामा रात बिताएका उनीहरू बिहान ५ बजे हिंड्ने योजनामा थिए । तर, रातिदेखि मुसलधारे वर्षा हुँदा र करिब १५० पीडितसँग छाताको अभावका कारण प्रभावित भएको मिटरब्याज पीडितकी अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिइन् ।
घिमिरेका अनुसार करिब १०० देखि १५० जना पीडितका लागि छाताको व्यवस्था हुन सके मार्च तत्काल अघि बढाइनेछ । उनका अनुसार टोलीमा रहेका केही व्यक्तिसँग मात्र छाता रहेकाले अधिकांश सहभागी वर्षामा निस्कन सक्ने अवस्थामा छैनन् । ‘हाम्रो समूहमा वृद्धवृद्धा बा-आमा पनि हुनुहुन्छ। उहाँहरूका लागि छाताको व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौं, तर अहिलेसम्म पर्याप्त छाता उपलब्ध हुन सकेको छैन’, उनले भनिन् ।

उनका अनुसार अघिल्ला दिन वर्षामा भिज्दै र प्रचण्ड घाम सहँदै यात्रा गर्नुपरेकाले केही महिला बिरामीसमेत परेका छन् । त्यसैले अहिलेको वर्षामा थप जोखिम नहोस् भनेर केहीबेरका लागि मार्च रोकिएको हो ।
मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौं केन्द्रित पैदल मार्च सुरु गरेका हुन् । सरकारसँग भएका सम्झौता कार्यान्वयन, मिटरब्याजसम्बन्धी फर्जी लिखत खारेज, विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठनलगायत ६ बुँदे मागसहित उनीहरू सिंहदरबारसम्म पुग्ने तयारीमा छन् ।
यात्राका क्रममा लगातारको पैदल हिँडाइ, चर्को घाम र वर्षाका कारण धेरै सहभागीको स्वास्थ्यमा असर परेको छ । कतिपयको खुट्टा सुन्निएको, फोका उठेको र घाउसमेत लागेको भए पनि उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया 4