News Summary
Generated by OK AI. Editorially reviewed.- कान्तिपुर पब्लिकेसन्सको गेटमा सोमबार भेटिएको शंकास्पद बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ ।
- रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवारले उक्त गाडी एक महिनाअघि खरिद गरेको र अझै बैंककै नाममा रहेको बताएका छन् ।
- काठमाडौं प्रहरीले गाडी नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
२९ असार, काठमाडौं । सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रुपमा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालले चढ्ने गरेको खुलेको छ ।
उक्त गाडी भर्खरै जयसवालले ज्योति कन्सर्नको नाममा बुकिङ गरेको तर बिक्रेता एसटी मोटर्सको नामबाट नामसारी नभइसकेको भेटिएको हो ।
जयसवाल रौतहटका गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार (जयसवाल) का छोरा हुन् । मेयर कन्थमणिले पनि अनलाइनखबरसँग कुराकानी गर्दै करिब एक महिना अघिमात्रै उक्त गाडी खरिद गरिएको जानकारी गराए ।
‘हो, उक्त नम्बरप्लेट (बा ०१–०३४ च ८४८०) को गाडी मेरो छोरा (रवि) ले चढ्ने गरेको थियो । करिब एक महिना जति भयो गाडी किनेको,’ उनले भने, ‘अहिलेसम्म पास गरिसकेको छैन ।’
उनका अनुसार, कहिले छोरा र कहिले चालकले गाडी चलाउने गरेका थिए ।
उनका छोरा रवि केहीसमय अघिमात्रै रास्वपा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेका थिए । बाबु कन्थमणि भने नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए ।
रास्वपाले गत जेठ ८ गतेमात्रै उनलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनीत गरेको थियो ।
उनलाई रास्वपाका तत्कालीन महामन्त्री भूपदेव शाहले मनोनीत गरेका थिए । मेयर कन्थमणिले पनि केही महिनाअघि छोरा रवि रास्वपामा प्रवेश गरेको अनलाइनखबरलाई बताए ।
सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको गेट अगाडि शंकास्पद गाडी राखिएको थियो ।
प्रहरीले ती गाडीहरू क्रेनको मद्दतबाट उठाइसकेको छ । यद्यपि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया 4