+
+
Shares

सन्धिखर्कको इतिहास झल्काउन शान्ति बगैँचामा अर्घा र खाँचीका राजाको सालिक स्थापना

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८३ असार ३० गते ८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्घा र खाँची राज्यका राजाबीच भएको ऐतिहासिक सन्धिको सम्झनामा सन्धिखर्कको शान्ति बगैँचामा दुई राजाको पूर्णकदको सालिक स्थापना गरिएको छ ।
  • सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले यो सालिकले युद्धभन्दा शान्ति, मेलमिलाप र सहकार्य महान् हुन्छ भन्ने सन्देश प्रवाह गर्ने बताउनुभयो ।
  • लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्मित यस सालिकले जिल्लाको ऐतिहासिक पहिचान संरक्षण गर्दै पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।

३० असार, अर्घाखाँची । सन्धिखर्कको नामकरणसँग जोडिएको ऐतिहासिक घटनालाई भविष्यसम्म जीवित राख्ने उद्देश्यले सन्धिखर्कको शान्ति बगैँचामा तत्कालीन ‘‘अर्घा” र ‘‘खाँची” राज्यका दुई राजाको सालिक स्थापना गरिएको छ ।

शान्ति बगैँचामा तत्कालीन अर्घा राज्यका राजा अचिन्ताय शाह र खाँची राज्यका राजा विक्रम शाहले हात मिलाइरहेको पूर्णकदको शालिक स्थापना गरिएको हो ।

नेपाल एकीकरण हुनुअघि चौबीसे राज्यकालमा अर्घा र खाँची छुट्टाछुट्टै राज्य थिए । ती दुई राज्यबीच बेला–बेलामा द्वन्द्व र युद्ध हुने गरेको इतिहासमा पढ्न पाइन्छ । लामो समयसम्मको संघर्षपछि दुवै राज्यका राजाले युद्धबाट कसैलाई पनि लाभ नहुने निष्कर्ष निकाल्दै शान्तिपूर्ण सहअस्तित्वका लागि सन्धि गर्ने निर्णय गरेका थिए ।

त्यसका लागि अर्घा र खाँची राज्यको बीच भागमा पर्ने खर्कमा भेटघाट गरी औपचारिक रूपमा सन्धि सम्झौता गरिएको बताइन्छ ।

त्यही ऐतिहासिक सन्धिका कारण उक्त स्थानलाई “सन्धि भएको खर्क” अर्थात् “सन्धिखर्क” भन्न थालिएको र समयक्रममा यही नाम जिल्ला सदरमुकामका रूपमा स्थापित भएको इतिहास रहेको सन्धिखर्कका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन् ।

त्यसैगरी अर्घा र खाँची दुई राज्यको नाम जोडिएर अहिलेको “अर्घाखाँची” जिल्लाको नाम रहन गएको विश्वास पनि स्थानीय स्तरमा प्रचलित छ ।

शान्ति बगैँचामा राखिएको सालिकमा तत्कालीन अर्घा राज्यका राजा अचिन्ताय शाह र खाँची राज्यका राजा विक्रम शाहले हात मिलाएर सन्धि गरिरहेको दृश्यलाई मूर्त रूप दिइएको छ । यसले युद्धभन्दा शान्ति, मेलमिलाप र सहकार्य महान् हुन्छ भन्ने सन्देशसमेत प्रवाह गरेको छ ।

चन्द्र प्रभा माध्यमिक विद्यालय सन्धिखर्क ७ का पूर्व शिक्षक तथा  इतिहासका जानकार तीर्थराज आचार्यका अनुसार खाँची राज्यका एघारौँ पुस्ताका राजा विक्रम शाहले विक्रम संवत् १७२१ देखि १७३४ सम्म शासन गरेका थिए । सोही अवधिमा अर्घाका राजा अचिन्ताय शाहसँग सन्धि भएको ऐतिहासिक तथ्य मौखिक परम्परा र स्थानीय इतिहासमा उल्लेख पाइन्छ ।

अर्घा र खाँची राज्य वि.सं. १८४३ सालमा नेपाल राज्यमा एकीकरण भएको थियो । गोरखाली सेनापतिहरू अमरसिंह थापा र दामोदर पाँडेले अर्घा र खाँची राज्यहरूलाई गोर्खा राज्यमा विलय गराएका थिए । त्यसपछि दुवै राज्यलाई पाल्पाको अधिनमा राखिएको थियो ।

आचार्यका अनुसार प्रारम्भमा अर्घाका राजाले आपसी हितका विषयमा छलफल गर्ने बहानामा खाँचीका राजालाई सन्धिखर्कमा बोलाएका थिए । त्यसक्रममा खाँची राज्यतर्फ सेना पठाउने प्रयास भएको भनाइ पनि इतिहासमा भेटिन्छ । बाटोमै त्यसबारे जानकारी पाएपछि खाँचीका राजा फर्किएर आफ्ना सैनिकसहित प्रतिरक्षा गर्न पुगेका थिए ।

त्यसपछि भएको लडाइँमा अर्घाली सेना पछि हट्न बाध्य भएको र अन्तत: दुवै पक्षले युद्धभन्दा शान्ति नै उचित हुने निष्कर्ष निकाल्दै सन्धि गरेको इतिहासमा उल्लेख रहेको आचार्य बताउँछन् ।

यद्यपि यस घटनाका विभिन्न संस्करण र जनश्रुतिहरू पाइने भए पनि सन्धिखर्कको नामकरण शान्ति र सन्धिसँग जोडिएको विषयमा स्थानीयवासीको विश्वास बलियो रहेको छ ।

यही विश्वासलाई मूर्त रूप दिन शान्ति बगैँचामा निर्माण गरिएको सालिक अब आन्तरिक पर्यटक, विद्यार्थी तथा इतिहासमा रुचि राख्ने व्यक्तिहरूका लागि आकर्षणको केन्द्र बन्ने छ ।

लुम्बिनी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग र सन्धिखर्क नगरपालिकाको समन्वयमा निर्माण गरिएको उक्त सालिकले जिल्लाको ऐतिहासिक पहिचानलाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै भूमि र इतिहासप्रति परिचित गराउने विश्वास गरिएको सन्धिखर्क १ का वडा अध्यक्ष माधव श्रेष्ठले बताएका छन् ।

अर्घा राज्यका अन्तिम राजा वीरकुमार शाह र खाँची राज्यका अन्तिम राजा दुर्गा शाह रहेको इतिहासमा उल्लेख छ । अर्घा र खाँची राज्य वि.सं. १८४३ सालमा नेपाल राज्यमा एकीकरण भएको थियो । गोरखाली सेनापतिहरू अमरसिंह थापा र दामोदर पाँडेले अर्घा र खाँची राज्यहरूलाई गोर्खा राज्यमा विलय गराएका थिए । त्यसपछि दुवै राज्यलाई पाल्पाको अधिनमा राखिएको थियो ।

पृथ्वीनारायण शाहलाई राज्य एकीकरण गर्न र राज्यसँग सम्बन्धित राज्य कुशलता सिकाउने उनकी जेठी मुमा चन्द्रप्रभावती खाँची राज्यकी राजकुमारी थिइन् । उनै चन्द्र प्रभावतीको प्रेरणा र हौसलाका कारण पृथ्वीनारायण शाहले नेपाल एकीकरण सुरु गरेका थिए । उनै चन्द्रप्रभावतीको नामबाट सन्धिखर्क नगरपालिका वडा नम्बर ७ साविक खाँचीकोट गाविसमा चन्द्रप्रभा माध्यमिक विद्यालय रहेको छ ।

स्थानीय बुद्धिजीवीहरूका अनुसार इतिहास केवल पुस्तकमा सीमित हुँदा नयाँ पुस्ताले त्यसलाई सहज रूपमा बुझ्न सक्दैन । तर यस्ता सालिक, स्मारक र ऐतिहासिक संरचनाले इतिहासलाई प्रत्यक्ष रूपमा अनुभूति गराउने भएकाले यसको महत्व अझ बढेको छ ।

विद्यालय तथा कलेजका विद्यार्थीहरूले समेत यस स्थानको अवलोकन गरी जिल्लाको उत्पत्ति, सन्धिखर्क नामकरण र अर्घाखाँचीको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी लिन सक्ने वातावरण बनेको भूमिकास्थान नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले  बताएका छन् ।

पर्यटन प्रवर्द्धनका दृष्टिले पनि यो सालिक महत्वपूर्ण मानिएको छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध अर्घाखाँचीमा सुपा देउराली, पाणिनी तपोभूमि, अर्घा दरबार, खाँची दरबार, अर्घा भगवती मन्दिर, लगायतका गन्तव्यसँगै शान्ति बगैँचाको यो ऐतिहासिक सालिक पनि नयाँ आकर्षणका रूपमा थपिएको छ । इतिहास र पर्यटनलाई एकसाथ जोड्ने प्रयासले जिल्लाको पहिचान अझ सशक्त बन्ने अपेक्षा गरिएको सन्धिखर्क ७ खाँचीकोटका वडा अध्यक्ष चुराबहादुर केसीले जानकारी दिए ।

स्थानीयवासीहरूले इतिहाससँग जोडिएका यस्ता सम्पदाको संरक्षण, प्रचारप्रसार र थप अध्ययन–अनुसन्धानमा राज्यले निरन्तर लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनीहरूका अनुसार सन्धिखर्क केवल एउटा बजारको नाम नभई युद्धबाट शान्तितर्फको यात्राको प्रतीक हो । यही सन्देशलाई भावी पुस्तासम्म पुर्‍याउन शान्ति बगैँचामा स्थापना गरिएको अर्घा र खाँचीका दुई राजाको सालिकले अर्घाखाँचीको गौरवशाली इतिहासलाई सदैव जीवन्त राख्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?