+
+
Shares

रित्तिँदै अर्घाखाँचीका गाउँ : विकास भयो, मान्छे भएनन्

अर्घाखाँची अहिले परिवर्तनको दोबाटोमा छ । विकासका पूर्वाधार पुगे पनि जनशक्ति बाहिरिँदा गाउँ रित्तिँदै छन् । खेतबारी बाँझिँदै जाँदा उत्पादन प्रणाली कमजोर बन्दैछ ।

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८३ असार १ गते ७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तथ्यांक अनुसार पछिल्लो १० वर्षमा अर्घाखाँचीको जनसंख्या २० हजारभन्दा बढीले घटेर १ लाख ७७ हजार ८६ मा झरेको छ ।
  • तीव्र बसाइँसराइका कारण अर्घाखाँचीमा पछिल्लो एक दशकमा ७ हजार ३६२ हेक्टर खेतीयोग्य जमीन बाँझो बनेको छ ।
  • पछिल्लो पाँच वर्षमा अर्घाखाँचीबाट ५ हजार ८२ घरपरिवारका झण्डै २५ हजार मानिसले बसाइँ सरेर जिल्ला छाडेका छन् ।

२९ जेठ, काठमाडौं । पहिले गाउँमा मोटरबाटो थिएन । बुटवलसम्म पुगेर ढाकरमा नुन–तेल ल्याउनुपर्थ्यो । घर–घर धारा थिएनन् । पँधेराको पानी बोकेर पिउनुपर्थ्यो । घाँस–दाउरा त दैनिकी नै भइहाल्यो ।

तर, अहिले समय बदलिएको छ । गाउँमा पक्की बाटो पुगेको छ । घरघरै खानेपानीको धारा छ । बिजुली पुगेसँगै इन्टरनेटको सुविधा छ । गाउँमै आधारभूत स्वास्थ्य सेवाको पहुँच छ । बिरामी पर्दा अस्पताल जान गाउँमै एम्बुलेन्स पुग्न सक्छन् । लामो समयसम्म विकास पुग्न नसकेका गाउँमा अहिले शहरकै सुविधाको झल्को पाइन्छ ।

युवादेखि वृद्धका हातमा स्मार्ट फोन छ । विदेश र शहर गएका घरपरिवार तथा नातागोतासँग घरमै बसेर भिडियो कल पाइएको छ ।

तर, यति धेरै विकास र सुविधा हुँदा पनि अर्घाखाँचीका गाउँहरू दिन प्रतिदिन रित्तिँदै छन् । तीव्र बसाइँसराइले अर्घाखाँचीका खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दो छ ।

पछिल्लो दशकमा यहाँको ७ हजार ३६२ हेक्टर खेतीयोग्य जमिन बाँझिएको तथ्यांकले देखाएको छ । कृषि विकास कार्यालयका अनुसार अर्घाखाँचीमा ३० वर्षअघि ४५ हजार ७१२ हेक्टर क्षेत्रफलमा खेती हुन्थ्यो । २०७० सम्म आइपुग्दा त्यो क्षेत्रफल २८ हजार ६०९ हेक्टरमा झर्‍यो । अहिले जम्मा २१ हजार २४७ हेक्टरमा मात्र खेती भइरहेको छ ।

शीतगंगा नगरपालिका–११ छापमा केही वर्ष अघिसम्म ४५ घरपरिवार बसोबास गर्थे । अहिले सबै घर खाली छन् । ५० घर रहेको दुम्सी गाउँ पनि रित्तिएको छ । सिंगो गाउँ नै तराई झरेपछि खेतबारी बाँझिएका छन् ।

शीतगंगा–१० सिद्धाराका माधवप्रसाद पौडेल भन्छन्, ‘गाउँ नै रित्तो बनाएर धेरै परिवार कपिलवस्तुको लुंग्री, मौवाबारी, खयरभट्टी र ढोडेनीतिर बसाइँ सरे ।’ सिद्धाराकै झाते, पात्ले र उनाए गाउँ पनि विस्तारै खाली हुँदै गएका छन् । जंगली जनावरबाट खेती जोगाउनै नसकेर पनि गाउँबाट बसाइँ सरेका छन् ।

सन्धिखर्क नगरपालिका–९ गौचौरमा पाँच घरपरिवार बसोबास गर्थे । अहिले गाउँ खाली भएको छ । सन्धिखर्क–९ कै घर्तीखोर, दीप, ओढारपानी, बढाचौर, कुँडापानी लगायतका गाउँमा वर्षेनी बसाइँ सर्नेहरू बढ्दा घर खाली हुँदै गएका छन् ।

अर्घा रजस्थल माविका शिक्षक छविलाल चुँदालीका अनुसार, गाउँबाट बसाइँसराइ गरेर जाने क्रम बढेपछि विद्यार्थीको संख्या घटेको छ । ५५० विद्यार्थी पढ्ने अर्घा रजस्थल माविमा अहिले घटेर २०० विद्यार्थी छन्।

पहिले टारी र बगरमा खेत बनाएर धान र गहुँ लगाइन्थ्यो । खेत बाँझै राख्नु हुँदैन भन्ने सोच थियो । अहिले नयाँ खेत बनाउने क्रम रोकिएको छ । पहिले खेती भइरहेका जमिनमा पनि खर र बनमारा उम्रिएको छ ।

नेपाल सरकारको व्यक्तिगत घटना दर्ता तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा अर्घाखाँचीबाट ५ हजार ८२ घरपरिवार बसाइँ सरेका छन् । औसत पाँच जनाको दरले हिसाब गर्दा झण्डै २५ हजार मानिसले जिल्ला छाडेका छन् ।

जनसंख्याको यो घट्दो प्रवृत्ति जनगणनामा पनि देखिन्छ । २०६८ को राष्ट्रिय जनगणनामा १ लाख ९७ हजार ६३२ जनसंख्या रहेको अर्घाखाँची २०७८ मा १ लाख ७७ हजार ८६ मा झ¥यो । १० वर्षमा २० हजारभन्दा बढी जनसंख्या घट्नु सामान्य होइन ।

बसाइँसराइ अर्घाखाँचीका ६ वटै पालिकाबाट भइरहेको छ । शिक्षा, रोजगारी, सहज जीवनशैली र समथर जमिनको आकर्षणले तराईतिरको यात्रा बढ्दो छ ।

कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेका अनुसार अहिले नयाँ प्रविधि, हाइब्रिड बिउ र रासायनिक मलको प्रयोगले उत्पादनमा कमी आएको छैन । तर जमिन नै बाँझिँदै गएकाले भविष्यमा खाद्य संकटको जोखिम बढेको छ । उनका अनुसार उत्पादन बढे पनि खेती हुने क्षेत्रफल घट्दै जानु दीर्घकालीन रूपमा खतरनाक संकेत हो ।

हरेक निर्वाचनमा राजनीतिक दलहरूले बसाइँसराइ रोक्ने, युवालाई गाउँमै स्वरोजगार बनाउने र उद्यमशिलता विकास गर्ने कार्यक्रम ल्याउने वाचा गर्छन् । तर चुनावपछि ती प्रतिबद्धता कार्यान्वयन हुँदैनन् ।

पूर्वउपसभामुख पुष्पा भुसाल भन्छिन्, ‘विकासको प्रतिफल नागरिकको अपेक्षाअनुसार नपुगेकोले बसाइँसराइ बढेको छ । विकाससँगै रोजगारी र उद्यमशिलता बढाउन सके मात्र पलायन रोकिन्छ ।’ उनको भनाइमा सडक र भवन निर्माण मात्र विकास होइन, स्थायी आयआर्जनको अवसर सिर्जना गर्नु नै मुख्य हो ।

सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा बसाइँसराइ भएको बताउँछन् । उनी भन्छन्, ‘उद्यमशिलता बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।’

अर्घाखाँचीमा धार्मिक तथा प्राकृतिक पर्यटनको ठूलो सम्भावना छ । सुपा देउराली, अर्घाभगवती, पाणिनी तपोभूमि, खाँचीकोट भगवती, नर्सिंह स्थान र सिद्धेश्वर शिवालय जस्ता स्थललाई एकीकृत रूपमा विकास गर्न सके स्थानीय रोजगारी सिर्जना हुन सक्ने र बसाइँसराइ रोकिने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।

पर्यटनसँगै कृषि–आधारित उद्यम, अर्गानिक उत्पादन, प्रशोधन उद्योग, एग्रो–टुरिजम जस्ता कार्यक्रमले युवालाई गाउँमै आकर्षित गर्न सक्छ ।

अर्घाखाँची अहिले परिवर्तनको दोबाटोमा छ । विकासका पूर्वाधार पुगे पनि जनशक्ति बाहिरिँदा गाउँ रित्तिँदै छन् । खेतबारी बाँझिँदै जाँदा उत्पादन प्रणाली कमजोर बन्दैछ ।

बसाइँसराइको मूल कारण रोजगारी अभाव, कृषिको जोखिम, बजार अस्थिरता र सामाजिक सेवा गुणस्तरलाई सम्बोधन गर्न सकिएन भने बाँझो जमिनको क्षेत्र अझ बढ्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?