+
+
Shares

अर्घाखाँचीमा वन जोगाउन पोखरी अभियान

अर्घाखाँचीका विभिन्न सामुदायिक वन क्षेत्रमा निर्माण गरिएका पोखरीले डढेलो नियन्त्रण, भू–जल पुनर्भरण र वन्यजन्तुलाई पानी उपलब्ध गराउने काममा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८३ जेठ २४ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रण र वन्यजन्तु संरक्षणका लागि विभिन्न सामुदायिक वन क्षेत्रमा १६ वटा पुनर्भरण पोखरी निर्माण गरेको छ ।
  • कार्यालयका अनुसार सन्धिखर्क, भूमिकास्थान, पाणिनी र शितगंगा नगरपालिकाका विभिन्न सामुदायिक वनहरूमा ती पोखरीहरू निर्माण गरिएका हुन् ।
  • यी पोखरीले भू–जल पुनर्भरण, वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

२४ जेठ, अर्घाखाँची । अर्घाखाँचीका विभिन्न सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय अर्घाखाँचीले जिल्लाभर वन क्षेत्रमा पानीको उपलब्धता बढाउने, वन डढेलो नियन्त्रणमा सहयोग पुर्‍याउने, भू–जल पुनर्भरण गर्ने तथा वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले रिचार्ज पोखरी निर्माण अभियान सञ्चालन गरेको हो ।

वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा हालसम्म १६ वटा पुनर्भरण तथा बहुउपयोगी पोखरी निर्माण भइसकेका छन् ।

‘पानीको स्रोत नभएका सुख्खा वन क्षेत्रमा वन्यजन्तुलाई पानी उपलब्ध गराउने, डढेलो नियन्त्रणका लागि आवश्यक पानीको जोहो गर्ने तथा भू–जल पुनर्भरण बढाउने उद्देश्यले प्रकृतिमैत्री पोखरी निर्माण अभियान सञ्चालन गरिएको हो,’ खड्काले भने, ‘यी पोखरीले वन संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेका छौँ ।’

डिभिजन वन कार्यालयले सामुदायिक वन उपभोक्ता समूहहरूसँगको सहकार्यमा सन्धिखर्क नगरपालिकामा ७, भूमिकास्थान नगरपालिकामा ३ र पाणिनी गाउँपालिकामा २ गरी १२ वटा पोखरी निर्माण गरेको छ ।

डिभिजन वन कार्यालयको प्राविधिक सहयोग र पुनरुत्थान परियोजनाको आर्थिक सहयोगमा  सामुदायिक वन समूहले शितगंगा नगरपालिकाका विभिन्न वन क्षेत्रमा ४ वटा प्रकृतिमैत्री पोखरी निर्माण भएका छन् । जिल्लाभर निर्माण गरिएका पुनर्भरण पोखरीको संख्या १६ पुगेको वन कार्यालयले जनाएको छ ।

वन विज्ञहरूका अनुसार यस्ता पुनर्भरण पोखरीले वर्षायाममा संकलित पानीलाई जमिनभित्र पुनर्भरण गर्न मद्दत गर्छन् । यसबाट भू–जलको सतह बढ्नुका साथै आसपासका मुहान, कुवा तथा साना जलस्रोतहरूको संरक्षणमा समेत सहयोग पुग्ने विश्वास छ ।

जलवायु परिवर्तनका कारण पानीका स्रोतहरू सुक्दै गएको अवस्थामा यस्ता संरचनाले दीर्घकालीन रूपमा वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको विश्वास छ ।

‘यी पोखरीहरू केवल पानी संकलन गर्ने संरचना मात्र होइनन् । वन क्षेत्रमा पानीको अभाव हुने समयमा वन्यजन्तुका लागि बहुउपयोगी हुने छन्,’ सुवेदी भन्छन्, ‘गर्मीयाममा जंगली जनावरहरू पानीको खोजीमा बस्ती प्रवेश गर्दा मानव–वन्यजन्तु द्वन्द्व बढ्ने सम्भावना रहन्छ । वनभित्रै पानी उपलब्ध भएपछि त्यस्ता समस्या कम हुने विश्वास गरिएको छ ।’

वन्यजन्तु तथा वन संरक्षणलाई केन्द्रमा राखेर पोखरी निर्माण गरिएको शितगंगा नगरपालिका–११ स्थित गैडे सामुदायिक वन उपभोक्ता समूहकी सचिव सीता बेल्वासेले बताइन् । ‘वन डढेलो व्यवस्थापनमा पानी आवश्यक पर्ने, वन्यजन्तु तथा घरपालुवा जनावरलाई सुख्खा समयमा पानीको व्यवस्था होस् भनेर प्रकृतिमैत्री तथा वन्यजन्तुमैत्री पोखरी निर्माण गरेका हौँ,’ उनले भनिन्, ‘यी पोखरी बहुउपयोगी छन् । स्थानीय स्तरमै पाइने ढुंगा, माटो र अन्य सामग्री प्रयोग गरेर निर्माण गरेका छौं ।’

वन डढेलो अर्घाखाँचीका वन क्षेत्रको प्रमुख चुनौतीमध्ये एक हो । प्रत्येक वर्ष सुख्खा मौसममा लाग्ने डढेलोले हजारौँ हेक्टर वन क्षेत्र प्रभावित हुने गरेको छ । डढेलो नियन्त्रणका लागि पानीको उपलब्धता नहुँदा सुरक्षाकर्मी, वन कर्मचारी तथा स्थानीय समुदायले ठूलो कठिनाइ भोग्नुपर्ने अवस्था छ । यस्ता पोखरी वन डढेलो नियन्त्रणमा पनि उपयोगी सावित हुने शितगंगा नगरपालिका–१३ स्थित धिरेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायण पौडेलको विश्वास छ ।

‘पहिले वन संरक्षणलाई केवल रुख रोप्ने वा वन हेरचाह गर्ने कार्यका रूपमा बुझ्ने गरिन्थ्यो । अहिले पानी संरक्षण, जैविक विविधताको संरक्षण र जलवायु अनुकूलनका गतिविधिहरू पनि वन व्यवस्थापनका महत्वपूर्ण पक्षका रूपमा स्थापित हुन थालेका छन्,’ उनी भन्छन् ।

डिभिजन वन कार्यालय अर्घाखाँचीले आगामी वर्षहरूमा समेत यस्ता संरचनाको विस्तार गर्ने योजना बनाएको जनाएको छ । वन क्षेत्रमा पानीको उपलब्धता बढाउँदै डढेलोको जोखिम न्यूनीकरण, वन्यजन्तु संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न सामुदायिक वन उपभोक्ता समूहहरूसँग सहकार्यलाई अझ सुदृढ बनाइने बरिष्ठ वन अधिकृत चन्द्रबहादुर भाटले जानकारी दिए ।

प्रकृतिसँग मेल खाने गरी निर्माण गरिएका यी बहुउपयोगी रिचार्ज पोखरी अहिले अर्घाखाँचीका वन क्षेत्रका लागि केवल पानीको स्रोत मात्र बनेका छैनन्, वन संरक्षण, डढेलो व्यवस्थापन, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणका प्रभावकारी माध्यमका रूपमा पनि स्थापित हुँदै गएका छन् । वनभित्रका यी साना जलाशयहरूले भविष्यमा हरियाली जोगाउने, वन्यजन्तुको जीवन बचाउने र वातावरण संरक्षणको अभियानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?