+
+
Shares

सडकका जेनजीको प्रश्न- आन्दोलनको मर्म भुलेर मुठभेडमा जान खोजेको हो ?

जेनजी आन्दोलनका बलमा सत्तामा पुगेकाहरूले उबेला सडकमा उत्रिने आफ्नै सहयोद्धाहरूमाथि डन्डा बर्साउन थालेका छन् । धरपकड र जर्बजस्ती बढेपछि सडकका जेनजीहरू आक्रोशित छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८३ असार २९ गते २१:२२

२९ असार,काठमाडौं । जेनजी अगुवा माजिद अन्सारी यतिबेला अस्पतालको शैयामा छन् । कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेको सुकुमवासीको अवस्था बुझ्न जाँदा उनीमाथि धरपकड भएको थियो । उनीसहित जेनजी अगुवा सरिस्मा थापा, नेल्सन घतानी पक्राउ परेका थिए । त्यस्तै, भूमि आयोगका पूर्वअध्यक्ष नहेन्द्र खड्कामाथि पनि दुर्व्यवहारसँगै धरपकड गरिएको थियो ।

यसरी पक्राउ परेकामध्ये माजिद अन्सारी प्रहरीको कुटपिटबाट घाइते पनि भए । त्यसपछि उनलाई शिक्षण अस्पताल पुर्‍याइयो । अहिले उनको उपचार भइरहेको छ । पक्राउ परे लगत्तै अनलाइनखबरसँग माजिदले भनेका थिए, ‘प्रहरीले कुटपिट र लछारपछार गर्दै नियन्त्रणमा लिएको छ, मेरो नाकबाट रगत समेत आएको छ ।’

अस्पतालमा उपचारत माजिद अन्सारीमाथि प्रहरीको निगरानी रोखिएको छैन । यतिसम्म कि, डिस्चार्ज भएसँगै पुनः नियन्त्रणमा लिने भन्दै उनी र त्यहाँ अस्पतालमा रहेका शुभचिन्तकलाई त्रासमा राखिएको छ । यसको लागि आइतबार रातिबाटै सिभिल ड्रेसमा खटिएका प्रहरीले रातभर निगरानी गरेका थिए भने सोमबार बिहान हुनासाथ ती प्रहरी अन्सारीले उपचार गराइरहेको बेडमै पुगेका थिए ।

अस्पतालमा उपचाररत माजिद अन्सारी

‘रातभर रेकी गर्‍यो । अनि एकाबिहानै अस्पतालको बेडमै पुगेर आतंकित बनायो,’ अन्सारीसँगै अस्पतालमा रहेका एक शुभचिन्तकले भने, ‘हामीले आपत्ति जनाएपछि बाहिर निस्किएका थिए । तर, त्यसपछि पनि पुन : पक्राउ गर्ने योजना देखिन्छ ।’

यसरी माजिद अन्सारी पक्राउ परिरहँदा त्यहीँ थिए– अर्का जेनजी अगुवा ओजस्वी थापा । तर, उनी सरकारको प्रतिनिधि दाबी गर्दै कीर्तिपुर होल्डिङ सेन्टर पुगेका थिए । आफू सरकारको तर्फबाट आएको बताउँदै त्यहाँ अर्ति-उपदेश दिँदै थिए ।

सँगै जेनजी आन्दोलनमा उत्रिएका एउटा साथी यसरी सरकारी प्रतिनिधि नै बनेर आइरहँदा अर्की जेनजी अगुवा सरिस्मा थापाले उनको आधिकारिकताबारे प्रश्न पनि गरेकी थिइन् । ‘न कुनै नियुक्ति छ, न कुनै पद । यसरी यहाँ आएर अर्ति दिने उहाँ को हो ?,’ थापाले ओजस्वीलाई लक्षित गर्दै भनेकी थिइन् ।

शनिबार दिनभरको यो क्रमले भन्दौ २३ गते सँगै सडकमा उत्रिएका जेनजीबीच नै कित्ताकाँट स्पष्ट देखिन्छ । कोही सत्तामा पुग्दा कोही सडकमै छन् । त्यही सत्तालाई प्रश्न गरिरहेका छन् ।

तिनै मध्येका हुन्- माजिद अन्सारी, सरिस्मा थापा, अर्नब चौधरी, प्रदीप ज्ञावाली, युजन राजभण्डारी, रक्षा बम लगायतका जेनजी अगुवा ।

माजिद भने अझै पनि आफूमाथि सरकारी धरपकडको जोखिम कायम रहेको बताउँछन् । कारण- उनलाई अहिलेसम्म पक्राउको कारण बारेमा कुनै जानकारी दिइएको छैन । न त उनलाई कुनै पक्राउ पुर्जी देखाइएको छ ।

‘मेरो पक्राउको कानुनी हैसियत बारेमा पनि कुनै स्पष्टता छैन । के गृहमन्त्री वा प्रहरी प्रमुखज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानूनी कारबाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो ?,’ प्रश्न गर्दै माजिदले लेखेका छन्, ‘त्यसैले म सबै सम्बन्धित अधिकारीहरू, संघीय संसदका सबै माननीय सदस्यहरू, प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तराष्ट्रिय मानव अधिकार समुदायहरू तथा सबै मानव अधिकार रक्षकहरूलाई मेरो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछु ।’

सरकारको तर्फबाट पछिल्लो समय धरपकड बढेपछि सडकमा रहेको जेनजीहरू चिन्तित देखिन्छन् । आफूहरूको आन्दोलनबाटै यो सरकार बन्ने अवस्थामा आइपुगे पनि यसले पुनः जेनजी आन्दोलनको मर्मविपरीत काम गरिरहेको उनीहरूको भनाई छ ।

हिजो सडक संघर्षमा सँगै रहेका युवा र जेनजी पुस्ताको एउटा हिस्सा सत्तामा पुगेपछि आम नागरिकका एजेन्डा ओझेलमा परेको र सरकार दिनानुदिन निरंकुशतातर्फ उन्मुख भएको आरोप अभियन्ताहरूले लगाएका छन् ।

जेनजी अगुवा अर्नब चौधरीले पछिल्लो समय सडकबाट सत्तामा पुगेका युवा नेतृत्वले आफ्नो धरातल बिर्सिएर सडकमै रहेका आफ्ना समकालीन अभियन्ताहरूमाथि धरपकड सुरु गरेको बताए ।

सरकारको यो कार्यशैलीले अराजकता निम्त्याएको र लोकतान्त्रिक मूल्यको धज्जी उडाएको उनको ठहर छ ।

‘हामी आन्दोलनकारी भएकाले सरकारका गल्तीहरू औंल्याउनु हाम्रो धर्म हो,’ उनले भने, ‘जसरी एउटा शिक्षकले विद्यार्थीको कापी जाँच्दा गल्ती भएको ठाउँमा रातो मसीले टिक लगाउँछ, त्यसरी नै जनताले सरकारका गल्तीमा ‘रातो टिक’ लगाइदिनुपर्छ । सही कामको मूल्यांकन त स्वतः भइहाल्छ, तर गलत कुरा कसै न कसैले देखाइदिनुपर्छ । हामीले गरेको त्यति हो ।’

तर, वर्तमान सरकारले रचनात्मक आलोचना र गल्तीलाई आत्मसात् गर्नुको साटो उल्टै आक्रोश र प्रतिशोध साँध्ने गरेको चौधरीले बताए ।

अभियन्ता चौधरीका अनुसार सरकारबाट भइरहेका यी कमजोरीहरू अन्जानमा भएका भूल नभएर खराब नियतसहित भइरहेका छन् । जस्तो, स्वतन्त्र मिडियालाई तर्साउन खोज्नु, सडकका अभियन्ताहरूलाई धरपकड गर्नु, जथाभावी हिरासतमा लिने र आफ्नो जिम्मेवारीबाट पन्छिने खेल खेल्नुले यी सबै पुष्टि हुने उनको भनाई छ ।

यस्तो अवस्थामा हिजोका मुद्दा बिर्सेर आजको सत्ता जोगाउन कतिपय जेनजी अगुवाहरू नै लाग्नु दु:खद रहेको पनि उनले बताए ।

‘उनीहरू अहिले मुद्दा जोगाउनेभन्दा पनि जसरी भए पनि सत्ता जोगाउने ध्याउन्नमा छन्,’ चौधरीले थपे, ‘अहिले पनि आफूहरूले नै मुद्दा बोकिरहेको भ्रम छरेर क्रेडिट लिन खोज्ने तर पर्दापछाडि चाहिँ सत्ता टिकाउने सिपाही बन्ने दोहोरो चरित्र साथीहरूले देखाएका छन् ।’

अर्नब चौधरी

जेनजी अगुवा मोनिका निरौलाले पनि वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि र निराशा व्यक्त गरेकी छन् । सातै प्रदेशबाट अनुमोदित जेनजीसँग भएको १० बुँदे सम्झौताका आधारभूत कुराहरू समेत कार्यान्वयन गर्न सरकारले इच्छाशक्ति नदेखाएको उनको आरोप छ ।

गणतान्त्रिक मुलुकमा नागरिकले आवाज उठाउँदा प्रहरी प्रशासनबाट दमन हुने, कुटपिट र गालीगलौज गरिने र उल्टै नागरिकमाथि नै अभद्र व्यवहारको मुद्दा चलाउने प्रवृत्तिमा कुनै सुधार नआएको विश्लेषण उनको छ ।

त्यस्तै, फिल्डमा अनधिकृत व्यक्तिहरू पठाएर दमन र ह्यारेसमेन्ट गराउने प्रवृत्ति झन डरलाग्दो भएको उनले बताइन् ।

‘विडम्बना के भने, ‘नेपो बेबी’ ट्रेन्ड विरुद्ध सुरु भएको आन्दोलन आज ‘नेपो बेबी’हरूकै नियुक्तिमा सकियो कि भन्ने डर पैदा भएको छ,’ निरौलाले भनिन्, ‘यसले गर्दा बजारमा ‘युवा वा जेनजी पुस्ताले नेतृत्व गर्नै सक्दैनन्, यिनीहरू त स्वेच्छाचारी र खराने ग्याङ मात्र हुन् भन्ने गलत भाष्य सिर्जना भएको छ ।’

मोनिका निरौला

यस्तो प्रवृत्तिले समग्र युवा पुस्ताको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाएर भोलि नेपाली जनताले युवालाई कहिल्यै नपत्याउने वातावरण बन्ने खतरा रहेको निरौलाको चिन्ता छ ।

त्यस्तै, सडक आन्दोलनकै जगमा बनेको वर्तमान सरकारले सोही आन्दोलनको मर्म मिचेको जेनजी अगुवा युजन राजभण्डारीको तर्क छ । उनले यो सरकार रिजल्ट ओरियन्टेड देखिने नाममा प्रक्रिया मिचिरहेको आरोप लगाए ।

‘सरकार प्रक्रियालाई ध्यान नदिई केवल चर्चाका लागि मात्रै दौडिरहेको छ । लोकप्रियता रहुन्जेल त वाहवाही होला, तर लोकप्रियता गुमेको दिन यही प्रवृत्ति सरकारका लागि ठूलो बोझ बन्नेछ,’ राजभण्डारीले भने, ‘विगतमा केपी ओलीले पाएको लोकप्रियता कस्तो थियो हामीलाई थाहा नै छ । त्यसैले प्रक्रिया मिचेर काम गर्छु भन्नु सही लय होइन ।’

सरकार रिजल्ट ओरियन्टेड हुन खोज्दा प्रक्रिया बिर्सेको र यसको जेनजी आन्दोलनको प्रमुख मुद्दा नै कुल्चिएको उनको तर्क छ । जेनजीले संस्था बलियो बन्नुपर्ने र व्यक्ति हाबी हुने क्रम रोकिनुपर्ने माग राखेपनि अहिले सरकार त्यो बाटोमा नहिँडेको उनले बताए ।

युजन राजभण्डारी

‘अहिले सरकारले न त प्रक्रिया समात्न सकेको, न त ठोस नतिजा नै दिन सकेको छ,’ राजभण्डारीले भने, ‘जेनजी आन्दोलनको मर्म बिर्सिएर मुडभेडको मुडमा सरकार पुगेको देखिन्छ । यो एकदमै गलत छ ।’

आफूहरू सरकारको सफलता चाहनेमध्येका भएकाले सही लयमा हिँड्न उनले अनुरोध गरे । सरकार असफल हुँदा आफूहरूको आन्दोलन असफल हुने भएकाले सरकारलाई सहयोग गर्ने आफूहरुको इच्छा रहेको उनले बताए ।

‘अहिले पारम्परिक राजनीतिक दलहरू आफैँ जीर्ण अवस्थामा छन् र नागरिक समाज पनि सुस्ताएको छ । सरकारको लय पनि सही छैन । यस्तो अवस्थामा सरकारले नागरिकको आवाज र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्न सक्नुपर्छ,’ उनले थपे ।

यसरी जेनजी आन्दोलनको जगमा बनेको सरकारले नै त्यसको मर्म विपरीत अघि बढिरहेकोमा आन्दोलनका अगुवाहरू (जो आज पनि सडकमा छन्) चिन्तित देखिन्छन् । जेनजी अगुवा प्रदीप ज्ञावाली पनि शासन व्यवस्थाको शोषणको सूत्र यसभन्दा अगाडि पनि नटिकेको र अब पनि नटिक्ने स्मरण गराउँछन् ।

‘यो देशको बागडोर तिमीहरूको हातमा सुम्पिन सयौं नौजवानहरूले आफ्नो ज्यानको कुर्बानी दिएका थिए । बानेश्वरमा बगेको रगत अझै सुकेको छैन,’ सरकारलाई सुझाव दिँदै ज्ञावाली भन्छन्, ‘त्यसमै फेरि रगत थपिनेवाला छ । अझै रगतको होली यो शासन व्यवस्थालाई पुगेको छैन । सकिन्छ भने अबदेखि निर्णयहरू सेवक सरकार बनेर लिइनेछन्, होइन भने शासन व्यवस्थाको शोषणको सूत्र यसभन्दा अगाडि पनि टिकेको थिएन, र अब पनि टिक्ने छैन ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?