२९ असार, काठमाडौं । मकवानपुरमा कुलेखानी नजिकैको सिमखोलामा आएको बाढीले स्कुटरसहित एक चालकलाई बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा सोमबार दिउँसो उक्त घटना भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पुष्कर बोगटीले घटना दिउँसो साढे ३ बजेको रहेको जानकारी दिए । ‘त्यहाँ यात्रामा रहेका अन्य प्रत्यक्षदर्शीहरूले बताएअनुसार बाढीले स्कुटरसहित नै चालकलाई बगाएर बेपत्ता बनाएको छ,’ उनले भने, ‘सुरक्षा निकायको टोलीले खोजी कार्य गरिरहेको छ । अहिलेसम्म केही पत्ता लागेको छैन ।’
घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थलमा परिचालित भएको उनले जानकारी दिए ।
एसपी बोगटीका अनुसार अहिलेसम्म स्कुटरको नम्बर र बेपत्ता व्यक्तिको पहिचान भएको छैन । ‘प्रत्यक्षदर्शीले बताएभन्दा बाहेक थप जानकारी केही पनि प्राप्त भएको छैन । लगातार पानी र ठूलो बाढीका कारण खोजी कार्य पनि सहज छैन,’ उनले भने ।
प्रतिक्रिया 4