News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि प्रसाद भुसालले नेपालको कृषि उत्पादन आयात प्रतिस्थापन र प्राकृतिक स्रोतको सदुपयोग गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
- उनले भने, ‘आज हामी कालीमाटी वा बल्खु तरकारीको मण्डीमा पुग्यौं भने नेपाली भन्दा बढी त्यहाँ भारतीय नम्बर प्लेट भएका ट्रकहरू बढी देख्छौं ।’
- कृषि र जडीबुटी क्षेत्रको उत्पादनदेखि बजारीकरणसम्मको स्पष्ट कार्ययोजना कार्यान्वयन गरेर आत्मनिर्भर नेपालको यात्रालाई गति दिनुपर्ने उनको भनाइ छ ।
३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि प्रसाद भुसालले सरकारको ध्यान नेपालको कृषि उत्पादन आयात प्रतिस्थापन र प्राकृतिक सहयोग स्रोतको सदुपयोग तर्फ आकर्षित हुनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले यसबारे जानकारी गराएका हुन् ।
‘आज हामी कालीमाटी वा बल्खु तरकारीको मण्डीमा पुग्यौं भने नेपाली भन्दा बढी त्यहाँ भारतीय नम्बर प्लेट भएका ट्रकहरु बढी देख्छौं’ उनले भने, ‘हामी ती सवारी सँगै दैनिक लाखौं रुपैयाँ बराबरका तरकारी र फलफूल नेपाल भित्रिरहेका छन् ।’
यसपछि उनले सरकारको ध्यान नेपालको कृषि उत्पादन आयात प्रतिस्थापन र प्राकृतिक सहयोग स्रोतको सदुपयोग तर्फ आकर्षित हुनुपर्ने बताएका हुन् ।
‘दु:खको कुरा के हो भने ती मध्ये अधिकांश बाली हाम्रो आफ्नै माटोमा सहजै उत्पादन गर्न सकिन्छ समस्या उत्पादन क्षमताको होइन उत्पादनलाई प्रोत्साहन गर्ने नीति बजारको सुनिश्चितता र किसान प्रतिको विश्वासको अभावको हो’ उनले भने, ‘किसानले केवल उत्पादन गर मात्र भनेर पर्याप्त हुँदैन सरकारले वैज्ञानिक माटो परीक्षण स्थानीय भूगोल अनुसार उपयुक्त बालीको सिफारिस गुणस्तरीय बिउ आधुनिक प्रविधि र सबैभन्दा महत्वपूर्ण उत्पादित वस्तुको बजारीकरणको ग्यारेन्टी गर्न सक्नु पर्दछ ।’
किसानले आफ्नो उत्पादन बिक्री हुन्छ भन्ने विश्वास पाएपछि खेत बाँझो नरहने उनको बुझाइ छ । यसो भयो भने बारी बाँझो नरहने र युवाहरु विदेशिन नपर्ने र आयातको निर्भरता पनि कम हुँदै जाने उनले बताए ।
‘मेरो जिल्ला अर्घाखाँची पनि यसको उत्कृष्ट उदाहरण बन्न सक्छ जहाँ सुन्तला अधुवा बेसार कफी तरकारी तथा विभिन्न नगदे बालीका साथै बहुमूल्य जडीबुटी उत्पादनको ठूलो सम्भावना छ’ उनले भने, ‘उचित योजना प्रशोधन र बजार व्यवस्थापन भए अर्घाखाँची मात्र होइन देशका अधिकांश पहाडी जिल्लाले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान दिन सक्छन् भन्ने मलाई लाग्दछ ।’
नेपालको पहाड जंगल र खोल्सीमा पाइने बहुमूल्य जडीबुटी वर्षेनी खेर गइरहेको उल्लेख गर्दै उनले भने, ‘यिनको वैज्ञानिक संकलन प्रशोधन र बजार व्यवस्थापन गर्न सके लाखौं नागरिकहरुको आय आर्जन बढ्न सक्छ ।’
यसका लागि सिंहदरबार वैद्यखानालाई अझ सुदृढ स्रोत साधन सम्पन्न दरबन्दी पूर्ण र आधुनिक प्रविधि सहित सशक्त बनाउनु आवश्यक रहेको उनले बताए ।
‘ताकि स्वदेशमै जडीबुटी प्रशोधन औषधि उत्पादन र मूल्य अभिवृद्धि गर्न सकियोस् । यसले आयात प्रति प्रतिस्थापन मात्र होइन निर्यात प्रवद्धनमा समेत टेवा पुर्याउन सक्छ’ उनले भने, ‘युवा पलायन कम गर्नेछ बेरोजगारी समस्या धेरै हद सम्म कम गर्ने छ ।’
यसमा उनले सरकारको गम्भीर ध्यानाकर्षण गर्दै भने, ‘देश तब मात्र सम्पन्न समृद्ध बन्छ जब नागरिकको आय बढ्छ, व्यक्तिको आम्दानी बढेपछि क्रय शक्ति बढ्छ, रोजगारी सिर्जना हुन्छ र अर्थतन्त्र सुदृढ बन्न सक्छ ।’
त्यसैले आयात प्रतिस्थापनलाई नारामा सीमित नराखी कृषि र जडीबुटी क्षेत्रको उत्पादनदेखि प्रशोधन र बजारीकरणसम्मको स्पष्ट कार्ययोजना कार्यान्वयन गर्नुपर्ने उनको आग्रह छ, ‘अब आफ्नै माटो आफ्नै स्रोत र आफ्नै सम्भावनामा विश्वास गरेर आत्मनिर्भर नेपालको यात्रालाई गति दिने समय आएको छ ।’
प्रतिक्रिया 4