+
+
Shares

विगतका कमजोरी यो सरकारका लागि बहाना बन्न सक्दैनन् : सुशान्त वैदिक

उनले सरकार, सबै जनप्रतिनिधि र सरकारी कर्मचारीलाई अगाडि आउने हरेक फाइल एउटा कागजको थुप्रो नभएर कसैको जीवन भन्ने सोचेर काम गर्न आग्रह गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभामा बोल्दै सांसद सुशान्त वैदिकले गणेश नेपाली, अश्विन रावत र विवेक मण्डलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
  • उनले राष्ट्रको स्वास्थ्य नागरिकको आशा र संस्थागत विश्वासमा निर्भर हुने बताउँदै राज्य संयन्त्रको कमजोरीलाई आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गरे ।
  • वैदिकले सरकारी कर्मचारीहरूलाई फाइललाई कागजको थुप्रो नभएर जीवनको रूपमा हेर्न आग्रह गर्दै राज्य अभिभावक बन्नुपर्नेमा जोड दिएका छन् ।

३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशान्त वैदिकले गणेश नेपाली, अश्विन रावत र विवेक मण्डल प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मंगलबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले विगत केहि दिनमा भएका दु:खद् घटनाहरूले नेपाल राष्ट्रको आत्मालाई छोएको उल्लेख गर्दै केहि परिवारहरुले आफ्नो प्रियजन गुमाएको बताएका हुन् ।

‘केहि जीवनहरु यस्ता पिडामा पुगे जहाँ उनीहरुले आफ्नो अस्तित्व नै अन्तिम सन्देश बनाउने निर्णय गरे । यी घटनालाई केवल व्यक्तिगत कमजोर भनेर हेर्न मिल्दैन र एउटा सरकार एउटा कार्यालय वा एउटा निर्णयलाई दोष दिएर पनि हामी सत्यको नजिक पुग्दैनौँ’ उनले भने, ‘राष्ट्र एउटा निर्जीव संरचना होइन, राष्ट्र एउटा जीवित अस्तित्व हो यसको स्वास्थ्य केवल सडक भवन र आर्थिक सूचकहरुले मापन हुँदैन ।’

‘यसको वास्तविक स्वास्थ्य नागरिकको आशा संस्थामाथिको विश्वास र भविष्य प्रतिको भरोसामा देखिन्छ जब एउटा नागरिक राज्यसँग संवाद गर्दा गर्न खोज्दा आफू नसुनेको महसुस गर्छ’ उनले थपे, ‘जब सेवा लिन जाँदा सम्मानको सट्टा अपमान अनुभव गर्दछ जब अवसरको ढोका बन्द हुँदै गएको देख्छ त्यो एउटा व्यक्तिको मात्र पिडा होइन त्यो राष्ट्र संरचनामा आएको राष्ट्रको संरचनामा आएको कमजोरीको संकेत हो ।’

विगतका दशकहरुलाई इमान्दारी पूर्वक हेर्नुपर्ने उनको आग्रह छ ।

‘राजनीतिक अस्थिरता कमजोर संस्थाहरु प्रशासनिक जडता भ्रष्टाचार र दीर्घकालीन योजनाको अभावले हाम्रो विकासको सम्भावनालाई कमजोर बनाएको छ’ उनले भने, ‘हाम्रो सामाजिक विश्वास र राज्य प्रतिको भरोसामा पनि चोट पुगेको छ । जुन देशमा नागरिकले राज्यमाथि भरोसा नदेखेर आत्मसमर्पण गर्छन् त्यहाँ कमजोरी नागरिकको होइन, राज्यको हुन्छ ।’

वर्षौदेखि राज्यका संस्थाहरु र संरचनाहरु बिग्रदै जाँदाको सिस्टेमेटिक फेलियर भएको उनले बताएका हुन् ।

‘तर इतिहासलाई दोष दिएर भविष्य निर्माण हुँदैन । यसमा हामी सबै चुकेका छौ, राज्य चुकेको छ । हामीले एउटा पूर्ण प्रणाली प्राप्त गरेका छैनौं’ उनले भने, ‘हामीले धेरै पुराना समस्याहरु बोकेर अगाडि बढ्नु परेको छ । तर यो पनि सत्य हो कि विगतका कमजोरीहरु मेरो सरकारका लागि बहाना भन्न सक्दैनन् ।’

यहाँनेर उनले थपेका छन्, ‘आजको जिम्मेवारी आजकै हो एउटा स्वस्थ राष्ट्रले आफ्ना घाउहरु लुकाउँदैन उसले तिनलाई पहिचान गर्छ उपचार गर्छ र आफूलाई अझ बलियो बनाउँछ ।’

‘हामीले राज्य र नागरिक बीचको दुरी घटाउने काम गर्नुपर्ने छ, प्रशासनलाई उत्तरदायी सेवामुखी र मानवीय समेत बनाउनु पर्ने छ’ उनले भने, ‘कुनै पनि नागरिकले आफ्नो समस्या लिएर राज्यको ढोकामा पुग्दा आफू एक्लो र असहाय महसुस गर्नु नपरोस् ।’

उनले सरकार, सबै जनप्रतिनिधि र सरकारी कर्मचारीलाई अगाडि आउने हरेक फाइल एउटा कागजको थुप्रो नभएर कसैको जीवन भन्ने सोचेर काम गर्न आग्रह गरे ।

‘व्याप्त निराशाहरुलाई चिर्दै संरचनागत विभेद र बहिष्करणमा परेकालाई समान अवसरको ढोका खोल्दै सबै नागरिकलाई सुखी र खुसी बनाउने ध्येयमै सरकार तलिन्छ भन्नेमा विश्वस्त छु’ उनले भने, ‘हाम्रो सरकार छ जनताकै लागि छ राज्यका घाउहरु निको गर्दै छ सरकार अभिभावक हो नआत्तिनु होला आशा नमारनु होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?