News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरीका आधारमा एकैदिन ५६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाएको छ ।
- विभागले १९ वटा नयाँ मुद्दा दर्ता गरी थप ३३ जनालाई पक्राउ गर्न अनुमति लिइएको जानकारी गराएको छ ।
- विभागको पहलमा चार जना पीडितको उद्धार हुनुका साथै ८ वटा मुद्दा मिलापत्रमार्फत टुंग्याइएको छ ।
३१ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले एकैदिन ५६ जनाविरुद्ध पक्राउ पुर्जी लिएको जनाएको छ । वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरीका आधारमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
विभागले मुद्दा अनुसन्धान, अनुगमन, उद्धार तथा गुनासो व्यवस्थापनमा सक्रियता बढाएको जनाएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार एकै दिन १९ वटा नयाँ मुद्दा दर्ता भएका छन् भने ४ जना वैदेशिक रोजगार पीडितको उद्धार गरिएको छ ।
विभागअन्तर्गतको मुद्दा तथा अनुसन्धान शाखाले १९ वटा नयाँ मुद्दा दर्ता गरेको छ । शाखाले ६ जनालाई पक्राउ गरी उपस्थित गराएको छ भने ५६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । साथै, थप ३३ जनालाई पक्राउ गर्न अनुमति मागिएको विभागले जनाएको छ ।
सोही अवधिमा ८ वटा मुद्दा मिलापत्रमार्फत टुंग्याइएको छ । बैंकलाई लेखिएका पत्र, अभियोगपत्र र रायपत्रसहित शाखाबाट कुल १४१ वटा पत्राचार गरिएको विभागले जनाएको छ ।
संस्था अनुगमन शाखाले ३ वटा राहदानी वितरण गरेको छ भने ७ वटा नयाँ उजुरी दर्ता गरेको छ । म्यानपावर कम्पनीहरूलाई ४ वटा पत्राचार गरिएको छ । साथै, फोनमार्फत प्राप्त ७ वटा गुनासो तत्काल समाधान गरिएको विभागले जनाएको छ ।
जनगुनासो व्यवस्थापनतर्फ कल सेन्टरमा प्राप्त ६६ गुनासोमध्ये ६५ वटाको समाधान गरिएको छ । हेलो सरकारमार्फत प्राप्त ६ वटा गुनासोमध्ये ५ वटाको सम्बोधन गरिएको छ भने एउटा असम्बन्धित गुनासो सम्बन्धित निकायमा पठाइएको विभागले जनाएको छ ।
राहत, उद्धार तथा समन्वय शाखामा २ वटा नयाँ उजुरी दर्ता भएका छन् । शाखाको पहलमा ४ जनाको उद्धार गरिएको छ भने ३ वटा क्षतिपूर्तिसम्बन्धी काम सम्पन्न भएका छन् । यस अवधिमा ६ वटा द्विपक्षीय छलफलसमेत सञ्चालन गरिएको विभागले जनाएको छ ।
यस्तै, संस्था दर्ता तथा नवीकरणतर्फ ५१ वटा म्यानपावर कम्पनी तथा १४ वटा पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रदायक संस्था (पीडीओटी) को नवीकरण गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया 4