News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत परिमार्जन गरेका नयाँ करका दरहरू शुक्रबारदेखि कार्यान्वयनमा आएका छन् ।
- सेयर कारोबारमा अल्पकालीन १० र दीर्घकालीन ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्ने व्यवस्था आर्थिक ऐनले गरेको छ ।
- पाँच वर्षभन्दा बढी स्वामित्वको घरजग्गा बिक्रीमा ७.५ प्रतिशत र सोभन्दा कमको हकमा १० प्रतिशत पूँजीगत लाभकर कायम गरिएको छ ।
३२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत परिवर्तन गरेका करका दरहरू शुक्रबारदेखि लागु हुने भएका छन् । सो अनुसार शुक्रबारदेखि सेयर कारोबारमा १० र ७.५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ ।
सरकारले सेयर कारोबारबाट भएको आयमा पुँजीगत लाभकर २.५ प्रतिशत बिन्दुले वृद्धि गरी अन्तिम हुने घोषणा बजेट मार्फत गर्यो । तर, आर्थिक ऐनमा पूँजीगत लाभकर अन्तिम हुने उल्लेख नहुँदा केही विवाद पनि आएको थियो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमा सेयर कारोबारको हकमा पूँजीगत लाभकर अन्तिम हुने उल्लेख गरे । तर, आर्थिक ऐन २०८३ मा धितोपत्र बिक्री गर्दा लाग्ने पूँजीगत लाभकर अन्तिम हुनेछ भन्ने स्पष्ट व्यवस्था गरेको छैन ।
आय कर ऐन संशोधन गरी पूँजीगत लाभकर अल्पकालीन १० र दीर्घकालीन ७.५ प्रतिशत बनाइएको छ । यसअघि यस्तो करको दर अल्पकालीन ७.५ र दीर्घकालीन ५ प्रतिशत थियो । एक वर्षसम्म सेयर होल्ड गरेर बिक्री गरेको खण्डमा अल्पकालीन र सो भन्दा धेरै समय होल्ड गरेर सेयर बिक्री गरेको खण्डमा दीर्घकालीन कर लाग्दै आएको छ ।
त्यसैगरी सरकारले घरजग्गाको स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी कायम भएको सम्पत्ति बिक्रीबाट नाफा कमाए साढे ७ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ । हाल यस्तो घरजग्गा कारोबारमा पाँच प्रतिशत लाभकर तिरे पुग्थ्यो ।
यदि पाँच वर्षभन्दा कमको स्वामित्व भएको घरजग्गा कारोबारमा हाल साढे ७ प्रतिशत रहेको लाभकरलाई बढाएर १० प्रतिशत पुर्याइएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएका यी करका दरहरु शुक्रबारदेखि कार्यान्वयनमा आउनेछन् ।
प्रतिक्रिया 4