२२ असार, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा घरजग्गा कारोबारमा सुधार आएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिक तुलनामा चालु आवको सोही अवधिमा कारोबार रकम करिब दोब्बर भएको छ ।
चालु आवको तेस्रो त्रैमासमा १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बरारबको घरजग्गा खरिद बिक्री भएको केन्द्रीय बैंकले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १ खर्ब बराबरको घरजग्गा खरिद बिक्री भएको थियो ।
चालु आवको तेस्रो त्रैमासमा कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढेको बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार संख्या ४.५२ प्रतिशत घटेको थियो ।
चालु आवको तेस्रो त्रैमासमा घरजग्गा कारोबारमध्ये लिखतपारित अन्तर्गतको कारोबार संख्या ०.६२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो कारोबार संख्या ६.७१ प्रतिशतले घटेको थियो ।
केन्द्रीय बैंकका अनुसार चालु आवको तेस्रो त्रैमासमा लिखतपारित अन्तर्गतको राजीनामा कारोबार संख्या १२.१७ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो कारोबार संख्या ३.२६ प्रतिशतले घटेको थियो ।
चालु आवको तेस्रो त्रैमासमा कारोबार भएको कुल क्षेत्रफल १.६० प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही अवधिमा यस्तो क्षेत्रफल १०.८४ प्रतिशतले घटेको थियो ।
गत माघ महिना देखि चैतसम्ममा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व २३.७२ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । गत आवको सोही अवधिमा यस्तो राजस्व १३.४७ प्रतिशतले बढेको थियो ।
चालु आवको तेस्रो त्रैमासमा घरजग्गा कारोबारबाट संकलन भएको पूँजीगत लाभकर ३१.४२ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो लाभकर १८.३१ प्रतिशतले बढेको थियो । चालु आवको तेस्रो त्रैमासमा घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ५.५५ प्रतिशतले बढेको छ । गत अवाको तेस्रो त्रयमासमा यस्तो कर्जा ७.५२ प्रतिशतले बढेको थियो ।
बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ३३.०१ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ४.७९ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।
अन्य सबै प्रदेशमा यस्तो कारोबार संख्या बढेको छ । सो अवधिमा घरजग्गाको कारोबार भएको कुल क्षेत्रफल अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै २४.८४ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा सबैभन्दा धेरै ९.३३ प्रतिशत घटेको छ ।
तेस्रो त्रैमास अवधिमा सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा धेरै १३१.५२ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम २२.६७ प्रतिशतले कारोबारको कुल मूल्य बढेको छ ।
सातवटै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा धेरै कारोबार भएका छन् । गत आवको तेस्रो त्रैमासमा मधेश प्रदेशमा २० आना भन्दा बढीका प्लटमा सबैभन्दा धेरै कारोबार भएको थियो भने अन्य सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लट सबैभन्दा धेरै कारोबार भएको थियो ।
चालु आवको तेस्रो त्रैमासमा ६ वटै महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकामा घरजग्गाको कुल कारोबार संख्या सबैभन्दा धेरै १०८.४२ प्रतिशत बढेको छ ।
त्यसपछि क्रमशः पोखरा महानगरपालिकामा ८२.१५ प्रतिशत, ललितपुर महानगरपालिकामा ७३.८१, वीरगन्ज महानगरपालिकामा ३१.०७, भरतपुर महानगरपालिकामा २९.२१ र बिराटनगर महानगरपालिका २७.९२ प्रतिशतले बढेको छ ।
चालु आवको तेस्रो त्रैमासमा कारोबार भएको कूल क्षेत्रफल ६ वटै महानगरपालिकामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै ११९.८९ प्रतिशत र भरतपुर महानगरपालिकामा सबैभन्दा कम २९.२१ प्रतिशत रहेको छ ।
घरजग्गा कारोबारको कूल मूल्य ६ वटै महानगरपालिकामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै २२३.१२ प्रतिशत छ ।
आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा कलैया उप–महानगरपालिका बाहेक सबै उपमहानगरपालिकामा घरजग्गा कारोबारको संख्या बढेको छ ।
बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै ५६.७९ प्रतिशतले बढेको छ । कलैया उपमहानगरपालिकामा भने यस्तो कारोबार संख्या ६.९५ प्रतिशतले घटेको छ । सो अवधिमा कारोबार भएको कुल क्षेत्रफल कलैया र नेपालगञ्ज बाहेक सबै उपमहानगरपालिकामा बढेको छ । तुलसीपुरमा सबैभन्दा धेरै ४२.७४ प्रतिशतले बढेको छ । नेपालगञ्जमा कारोबार भएको कुल क्षेत्रफल ६८.२९ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।
चालु आवको तेस्रो त्रैमासमा घरजग्गा कारोबारको कुल मूल्य ११ वटै उपमहानगरपालिकामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा धेरै १३४.४६ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4