+
+
Shares

उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद् गठन प्रक्रियाले पायो पूर्णता

परिषद् पहिलो बैठकमा रोजगारदाता परिषद् सभापति प्रबलजंग पाण्डेको सभापतित्वमा गठित परिषद् सदस्यलाई महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले मनोनयनपत्र हस्तान्तरण गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत रोजगारदाता परिषद् गठन प्रक्रियाले पूर्णता पाएको छ ।
  • महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले श्रम क्षेत्र सुधारका लागि परिषद्ले नीतिगत पैरवी गर्नुपर्ने बताए ।
  • परिषद्को बैठकले बाबुकाजी कार्कीलाई रोजगारदाता परिषद्को उपसभापतिमा सर्वसम्मत मनोनयन गरेको छ ।

३२ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा रोजगार सम्बन्धी नीति, सामाजिक संवाद र रोजगारदाता हितको प्रतिनिधित्व गर्ने प्रमुख संस्थागत संयन्त्रका रूपमा रहेको रोजगारदाता परिषद् गठन प्रक्रियाले पूर्णता पाएको छ ।

आज महासंघ सचिवालय टेकुमा सम्पन्न परिषद् पहिलो बैठकमा रोजगारदाता परिषद् सभापति प्रबलजंग पाण्डेको सभापतित्वमा गठित परिषद् सदस्यलाई महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले मनोनयनपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा महासंघ अध्यक्ष श्रेष्ठले श्रम तथा रोजगार क्षेत्र सुधार, सुदृढीकरण तथा उद्योग–व्यवसायमैत्री श्रमसम्बन्ध स्थापना गर्न रोजगारदाता परिषद्को भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।

उनले वर्तमान औद्योगिक श्रमसम्बन्ध विगतको तुलनामा थप सकारात्मक र सुमधुर बन्दै गएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिकलाई क्षेत्रगत आधारमा निर्धारण गर्ने विषयमा मन्त्रालयस्तरमा छलफल भइरहेको जानकारी गराए ।

यस सन्दर्भमा परिषद् सदस्यले निजी क्षेत्रको साझा धारणा तयार गरी तथ्य, अध्ययन र अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा प्रभावकारी नीति पैरवी गर्नुपर्ने उनले बताए ।

अध्यक्ष श्रेष्ठले श्रम ऐन संशोधन प्रक्रिया पनि अगाडि बढिरहेको सन्दर्भमा भविष्यको श्रम बजार, औद्योगिक आवश्यकता, लगानी प्रवर्द्धन, उत्पादकत्व वृद्धि तथा नेपालको प्रतिस्पर्धी अर्थतन्त्र निर्माण मध्यनजर गर्दै महासंघको आधिकारिक धारणा विकास गरी सरकारसँग प्रभावकारी संवाद अघि बढाउन परिषद्ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

बैठकले महासंघको विधान २०४९ (सातौँ संशोधन) को दफा ४३.१ बमोजिम परिषद्का निर्वाचित एसोसिएट सदस्यमध्येबाट एक जनालाई उपसभापतिमा मनोनयन गर्ने व्यवस्था अनुसार बाबुकाजी कार्कीलाई रोजगारदाता परिषद् उपसभापतिमा मनोनयन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

त्यसैगरी बैठकले परिषद्को दीर्घकालीन रणनीति (२०२६–२०२९) निर्माण, वार्षिक कार्ययोजना तर्जुमा, श्रम तथा रोजगार सम्बन्धी नीति पैरवी, अन्तर्राष्ट्रिय श्रम संगठन तथा अन्तर्राष्ट्रिय रोजगारदाता संगठनसँगको सहकार्य, सामाजिक सुरक्षा, औद्योगिक सम्बन्ध सुदृढीकरण, श्रम विवाद न्यूनीकरण तथा महासंघको लैङ्गिक उत्तरदायी सदस्यता विस्तार रणनीति लगायत विषयमा आगामी बैठकमा विस्तृत छलफल गर्ने निर्णय गरेको छ ।

रोजगारदाता परिषद् सभापति पाण्डेले महासंघ नेपालको निजी क्षेत्रको आधिकारिक रोजगारदाता प्रतिनिधि संस्था भएका कारण परिषद्ले सरकार, श्रमिक संगठन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विकास साझेदारसँगको त्रिपक्षीय सामाजिक संवाद अझ प्रभावकारी, परिणाममुखी र विश्वासयोग्य बनाउने धारणा राखे ।

परिषद्ले उद्योग–व्यवसायमैत्री श्रम वातावरण निर्माण, लगानी र उद्यमशीलता प्रवर्द्धन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मकता अभिवृद्धि, मर्यादित रोजगारी सिर्जना, सामाजिक न्यायसहितको श्रमसम्बन्ध विकास तथा नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउन अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?