News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघ र श्रीलंकाको सिलन चेम्बर अफ कमर्सबीच व्यावसायिक लगानी प्रवर्द्धन गर्ने सम्बन्धमा छलफल भएको छ।
- महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा जलविद्युत् र जडीबुटी क्षेत्रमा लगानी गर्न श्रीलंकाका व्यवसायीलाई आग्रह गरे।
- सिलन चेम्बरका डेपुटी सेक्रेटी जनरल अलेका परेराले नेपालको पर्यटन पूर्वाधार, जलविद्युत् र जडीबुटी उद्योगमा लगानी गर्न तयार रहेको बताए।
२२ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र श्रीलंकाको सिलन चेम्बर अफ कमर्सबीच बीटुबी बैठक सम्पन्न भएको छ। महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठ टोलीको नेतृत्वमा गएको व्यावसायिक भ्रमणका क्रममा दुई देशका उद्योगी व्यवसायीबीच लगानी प्रवद्र्धन गर्ने सम्बन्धमा छलफल भएको थियो।
उक्त छलफलमा सिलन चेम्बरमा आबद्ध उद्योगी व्यवसायीहरूले आफूहरू नेपालमा लगानी गर्न तयार भएको बताएका हुन् ।
कार्यक्रममा नेपाली उद्योग व्यवसायीको प्रतिनिधित्व गर्दै महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले नेपालमा तत्कालै ४० हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन सम्भावना रहेको र यसका लागि नेपाल सरकारले समेत स्वागत गरिरहेको बताए ।
अहिले नेपालमा करिब दुई तिहाइ बहुमतको सरकार रहेको र सरकारले नै विदेशी लगानी प्रवर्द्धनका लागि सहजीकरण गरिरहेको उनले बताए । साथै उनले हाल नेपाल सरकारले वैदेशिक लगानीको लागि एकद्वार नीति लिएको बताए । नेपालमा पनि श्रीलङ्काजस्तै जडीबुटी उद्योगका लागि आवश्यक कच्चा पदार्थ प्रचुर मात्रामा रहेको भन्दै उनले सोही अनुरुप उद्योग खोल्नका लागि श्रीलंकाली उद्योगी व्यवसायीलाई आग्रह गरे ।
हाल नेपालले सस्तो मूल्यमा जडीबुटी उद्योगका लागि आवश्यक कच्चा पदार्थ निर्यात गरिरहेको जानकारी दिँदै अबको दिनमा यसलाई प्रशोधन गरेर बिक्री गरी लाभ लिन श्रीलंकाका व्यवसायीलाई उनले आग्रह गरे ।
सरकारले जलविद्युतमा लगानी प्रवर्द्धनका लागि सहज नीति लिएको उनले बताए । ‘नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट श्रीलंकाका उद्योग व्यवसायीहरूलाई नेपालमा सहज रुपमा लगानी भित्र्याउनका लागि हामी सहजीकरण गरिदिने छौँ’ उक्त बैठकमा उपाध्यक्ष श्रेष्ठले भने, ‘यदि तपाईहरू नेपालमा ठूलो मात्रामा लगानी गर्नुहुन्छ भने त्यसका लागि हामी सरकारसँग कुरा गरेर सहजीकरण गरिदिनेछौं।’
यसैगरी नेपालमा स्थायी सरकार रहेकाले लगानीका लागि राम्रो वातावरण रहेको श्रीलंका स्थित नेपाली दूतावासका फर्स्ट सेक्रेटेरी सागर भण्डारीले बताए । नेपालमा जलविद्युतको उच्च सम्भावना रहेको भन्दै लगानीका लागि उनले आग्रह गरे ।
कार्यक्रममा सिलन चेम्बरका डेपुटी सेक्रेटी जनरल अलेका परेराले नेपालमा पर्यटन पूर्वाधार, जलविद्युत् र जडीबुटी उद्योगमा श्रीलंकाका उद्योगी व्यवसायी लगानी गर्न तयार भएको बताएका थिए। जडीबुटी उद्योगमा श्रीलंका धेरै अगाडि रहेको र नेपालमा पनि त्यसको कच्चा पदार्थ पर्याप्त मात्रामा रहेकाले आफू नेपालमा त्यस्ता उद्योग स्थापनाका लागि तयार रहेको उनले बताए ।
साथै उनले नेपालमा श्रीलंकाको जस्तै पर्यटन उद्योगको सम्भावना भएको भन्दै यदि नेपाल सरकारले सहजीकरण गरिदिए आफूहरुले ठूलो मात्रामा लगानी गर्ने बताएका हुन् । उक्त छलफल श्रीलङ्का उद्योगी व्यवसायीले नेपालको जलविद्युत् क्षेत्रमा समेत लगानी गर्न चासो देखाएका थिए।
प्रतिक्रिया 4