News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२० को निर्वाचनमा धाँधली भएको दाबी गर्दै चीनले २२ करोड मतदाताको विवरण चोरेको गम्भीर आरोप लगाएका छन्।
- ट्रम्पले अमेरिकी जासुसी संस्थाहरूले चुनावी सत्यता लुकाएको आरोप लगाउँदै एफबीआई र सीआईएलाई घटनाको गहिरो अनुसन्धान गर्न निर्देशन दिएका छन्।
- यद्यपि, अमेरिकी सञ्चारमाध्यम र पूर्व अनुसन्धानहरूले ट्रम्पका दाबीहरू पुष्टि नभएको र चुनावी नतिजामा छेडछाडको ठोस प्रमाण नभएको जनाएका छन्।
१ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चुनावी सुरक्षाको विषयमा राष्ट्रको नाममा विशेष सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनका क्रममा उनले सन् २०२० को राष्ट्रपति चुनावमा धाँधली भएको पुरानो दाबीलाई पुनः दोहोर्याउँदै अमेरिकी जासुसी संस्थाहरूमाथि गम्भीर आरोप लगाएका छन्।
ट्रम्पले ह्वाइट हाउसबाट केही गोप्य चुनावी सुरक्षा कागजातहरू सार्वजनिक गर्दै चीनले २०२० को चुनावमा २२ करोड अमेरिकी मतदाताको डाटा चोरेको सनसनीपूर्ण दाबी गरेका छन्।
ट्रम्पले आफ्नो सम्बोधनमा २ लाख ७८ हजार गैर-नागरिक मतदाता दर्ता भएको आरोप लगाए । उनले अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) को अनुसन्धानलाई उद्धृत गर्दै संघीय चुनावका लागि करिब २ लाख ७८ हजार गैर-नागरिकहरू मतदाताको रूपमा दर्ता भएको दाबी गरे।
डेमोक्र्याट शासित राज्यहरूले डाटा नदिएका कारण वास्तविक सङ्ख्या यो भन्दा धेरै हुन सक्ने उनको भनाइ छ।
ट्रम्पले भोटिङ मेसिन ह्याक हुने खतराबारे पनि बोलेका छन् । अमेरिकी भोटिङ मेसिन, मतदाता डाटाबेस र मतपेटिका गणना गर्ने प्रणालीहरू साइबर आक्रमणको उच्च जोखिममा रहेको ट्रम्पले बताए। उनले रुस, चीन, इरान र उत्तर कोरियालाई यसको प्रमुख सम्भावित खतराको रूपमा औंल्याए।
ट्रम्पले चुनाव सुरक्षासँग जोडिएका गोप्य कागजातहरू सार्वजनिक गर्ने घोषणा गर्दै राष्ट्रिय जासुसी निर्देशक, एफबीआई, सीआईए र न्याय विभाग (डीओजे) लाई यस विषयमा गहिरो अनुसन्धान गर्न र दोषी अधिकारीहरूमाथि आपराधिक मुद्दा दर्ता गर्न निर्देशन दिएका छन्।
सम्बोधनको क्रममा ट्रम्पले मिडियामाथि आक्रोश पनि पोखे । उनले प्रमुख अमेरिकी टेलिभिजन नेटवर्कहरू एनबीसी र एबीसीले आफ्नो सम्बोधन प्रत्यक्ष प्रसारण नगरेको भन्दै कडा आक्रोश पोखेका छन्।
उनले मिडियाको एउटा तप्का चुनावी धाँधली लुकाउने षड्यन्त्रमा सामेल भएको र जनताको विश्वास तोड्ने मिडियाको ब्रोडकास्ट लाइसेन्स खारेज हुनुपर्ने चेतावनी दिए।
सम्बोधनको क्रममा उनले चुनावी प्रणालीमा सुधारको आवश्यकतामाथि जोड दिए । अमेरिकी चुनावी प्रणालीप्रतिको जनताको विश्वास टुटिसकेको भन्दै उनले अमेरिकालाई विश्वकै सबैभन्दा सुरक्षित, निष्पक्ष र पारदर्शी चुनावी प्रणाली आवश्यक रहेको बताए।
चीनद्वारा डाटा चोरी र जासुसी संस्थामाथि आरोप
सार्वजनिक गरिएका नयाँ कागजातहरूअनुसार, चीनले अमेरिकाका १८ वटा राज्यबाट २२ करोड मतदाताको नाम, ठेगाना, फोन नम्बर र राजनीतिक दलको सदस्यतासहितका संवेदनशील विवरणहरू ह्याक गरेर चोरेको ट्रम्पले बताए। यो अमेरिकी चुनावी इतिहासकै सबैभन्दा ठूलो साइबर घुसपैठ भएको उनको दाबी छ।
सबैभन्दा गम्भीर आरोप लगाउँदै ट्रम्पले भने, ‘सीआईए, एफबीआई लगायतका अमेरिकी खुफिया एजेन्सीहरूलाई यो कुरा पहिल्यै थाहा थियो, तर उनीहरूले तत्कालीन राष्ट्रपति, कंग्रेस र अमेरिकी जनताबाट यो सत्य लुकाए। उनीहरू लगातार यो चुनाव इतिहासकै सुरक्षित हो भनेर झुट बोलिरहे।’
यसैगरी, मिसिगनमा मतदाता दर्तामा भएको धाँधलीलाई बाइडेन प्रशासनले वर्षौंसम्म दबाएर राखेको भन्दै ट्रम्पले वर्तमान एफबीआई डाइरेक्टर कास पटेललाई यसको पूर्ण अनुसन्धान गरी दोषीमाथि कारबाही अघि बढाउन निर्देशन दिएका छन्।
आफ्नो सरकारको प्रशंसा गर्दै ट्रम्पले दुई वर्षअघि बर्बाद भएको अमेरिका अहिले सुरक्षित, बलियो र समृद्ध बनेको तथा सीमा सुरक्षा र अर्थतन्त्र पुनः लिकमा फर्किएको दाबी गरे।
यद्यपि ट्रम्पले गम्भीर आरोपहरू लगाए पनि अमेरिकी सञ्चारमाध्यम र अघिल्ला अनुसन्धानहरूले यी दाबीहरूलाई पूर्ण रूपमा पुष्टि गरेका छैनन् ।
न्युयोर्क टाइम्सको रिपोर्टमा ट्रम्पले लगाएका आरोपहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन। सार्वजनिक गरिएका कागजातहरूले मात्र उनका सबै दाबीहरूलाई स्पष्ट रूपमा प्रमाणित गर्दैनन्। २०२० को चुनावपछि गरिएका धेरै अडिट, पुनर्गणना र ६० भन्दा बढी अदालती सुनुवाइहरूमा व्यापक चुनावी धाँधलीको कुनै ठोस प्रमाण भेटिएको थिएन।
विज्ञहरूका अनुसार मतदाताको डाटा चोरी हुनु र भोटिङ मेसिन ह्याक गरेर चुनावको नतिजा नै बदल्नु दुई नितान्त फरक कुरा हुन्। डाटा चोरीले दुष्प्रचार फैलाउन मद्दत गर्न सक्छ, तर यसले भोट नै परिवर्तन गरेको कुनै प्रमाण छैन।
अमेरिकी खुफिया एजेन्सीहरूले २०२१ मा जारी गरेको आधिकारिक रिपोर्टअनुसार रुस, चीन र इरानले अमेरिकी जनमतलाई प्रभावित पार्ने प्रयास पक्कै गरेका थिए, तर कुनै पनि विदेशी राष्ट्रले भोटिङ मेसिन वा मतगणना प्रणालीमा छेडछाड गरेको थिएन।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4