+
+
Shares

पोखरामा शृङ्खलाबद्ध चोरी : ४ विदेशीसहित ९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा शृङ्खलाबद्ध चोरी गर्ने दुई भारतीय र दुई चिनियाँ नागरिकसहित नौ जनाको गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ परेकाहरूमाथि जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभयो ।
  • प्रहरीले गिरोहको साथबाट चोरी गरिएका नौ थान मोबाइल, एक थान ल्यापटप, एक थान स्मार्ट घडी र सुनको ब्रासलेट बरामद गरेको छ ।

२ साउन, पोखरा । पोखरामा शृंखलाबद्ध चोरीका घटना सार्वजनिक भएका छन् । कास्की प्रहरी मातहतले चोरी गर्ने गिरोहलाई नै पक्राउ गरेको छ ।

प्रहरीले चोरीमा प्रत्यक्ष संलग्न तथा उनीहरूलाई सहयोग गर्ने २ जना भारतीय नागरिक र २ जना चिनियाँ नागरिकसहित कुल ९ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबै अभियुक्तहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार यो गिरोहले मध्यरात तथा बिहानको सुनसान समयलाई प्रयोग गरेर पोखराका विभिन्न वडाहरूमा व्यक्तिगत घर तथा कोठाहरूलाई निशाना बनाउँदै शृङ्खलाबद्ध रूपमा चोरी गर्ने गरेको खुलेको छ ।

गिरोहले असार १४ गते राति अन्दाजी दुई बजे पोखरा वडा नं. १८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला बराबरका सुनका गरगहना र नगद सत्तरी हजार रुपैयाँ चोरी गरेको थियो ।

त्यस्तै असार ४ गते बिहान एक बजे वडा नं. १७ छोरेपाटनस्थित शिवप्रसाद बरालको घरको ढोका फोडी आधा तोला सुनको गहना, डेढ लाख रुपैयाँ नगद, एक थान ल्यापटप र एक थान मोबाइल चोरी गरेको थियो ।

असार १५ गते राति दुई बजे वडा नं. १८ भकुण्डेस्थित गिरीधारी श्रेष्ठको घरबाट दुई थान मोबाइल र एक तोला चौवन लाल बराबरको सुनको गहना चोरी गरेको कास्की प्रहरीले जनाएको छ ।

असार २३ गते मध्यरातमा वडा नं. ८ ज्ञानकुञ्ज मार्गस्थित मोहसेन खातुनको कोठाबाट एक थान मोबाइल र पच्चिस हजार रुपैयाँ नगद तथा सोही राति साढे दुई बजे वडा नं. ६ लेकसाइडस्थित हिरामणि लामिछानेको घरबाट आइफोन लगायतका सामानहरू चोरी भएको व्यहोरा प्रहरीले जनाएको छ ।

शृङ्खलाबद्ध चोरीमा भारतको उत्तर प्रदेश निवासी २३ वर्षीय राहुल निषाद र भारतकै महाराष्ट्र निवासी ४० वर्षीय सोमनाथ हनुमंत जाधव गरी २ जना भारतीय नागरिक संलग्न रहेको प्रहरीको दाबी छ ।

उनीहरूसँगै चीनका ३० वर्षीय वेन जिए र चीनकै ३७ वर्षीय वाङ लियानयिनलाईसमेत प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको छ । गिरोहमा विदेशी नागरिकका साथै पाँच जना नेपाली सहयोगीहरूसमेत संलग्न रहेको भन्दै पक्राउ समाएको छ ।

जसमा स्याङ्जा चापाकोटका ४२ वर्षीय राजकुमार बिक, कास्की अन्नपूर्णका ५० वर्षीय राजु केसी भन्ने खिमबहादुर क्षेत्री, अर्घाखाँची भूमिकास्थानका २९ वर्षीय अशोक पोखरेल, पोखरा महानगरपालिका वडा नं. १६ का ५१ वर्षीय केशव पाइजा मगर र बागलुङका २७ वर्षीय अनिल बिक रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट विभिन्न ब्रान्डका ९ थान मोबाइल, १ थान ल्यापटप, १ थान स्मार्ट घडी र सुनको ब्रासलेट १ थानसमेत जफत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?