+
+
Shares

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारी पक्राउ

बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारीसहित ५ जना पक्राउ गरेका छन् ।

वाइ पी सापकोटा वाइ पी सापकोटा
२०८३ साउन १ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्दियास्थित भूमि प्रशासन कार्यालयभित्रै मादक पदार्थ सेवन गरिरहेको आरोपमा सरकारी कर्मचारीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले पक्राउ परेकाहरूको स्वास्थ्य परीक्षण भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए ।
  • सेवाग्राहीबाट प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई कार्यालयको सुरक्षा कक्षबाट नियन्त्रणमा लिएको हो।

१ साउन, काठमाडौं । बर्दियामा भूमि प्रशासनको कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा सरकारी कर्मचारीसहित ५ जना पक्राउ गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले केही कर्मचारी पक्राउ परेको र अहिले उनीहरूको स्वास्थ्य परीक्षणको काम भइरहेको जानकारी दिए ।

‘कार्यालयको सेक्युरिटी बस्ने कोठाबाट केहीलाई नियन्त्रणमा लिइएको हो,’ प्रजिअ हमालले अनलाइनखबरसँग भने, ‘उनीहरूले मादक पदार्थ सेवन गरेको हो/होइन भन्ने पुष्टि गर्न स्वास्थ्य परीक्षणका लागि लगिएको छ।’

गोप्य सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले मादक पदार्थ सेवन गरीरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही कार्यालयमा खरिदार पदमा कार्यरत सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं ११ बस्ने युवराज आचार्य, सोही कार्यालयका सवारीचालक बारबर्दिया नगरपालिका वडा नं ७ बस्ने गुणबहादुर चौधरी रहेका छन् ।

त्यसैगरी गुलरिया नगरपालिका भू सेवा कार्यालयमा कार्यरत गुलरिया नगरपालिका वडा नं ६ बस्ने सन्तोष राना रहेका छन् । भने गुलरिया नगरपालिका वडा ४ बस्ने बिचौलीया सुभा थारू र दिलमाया डाँगी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक रेशम बोहराले बताए । कार्यालयमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा सेवाग्राहीले थाहा पाएपछि खबर जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । उक्त सूचना पाएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको कमाण्डमा प्रहरी सहित टोली त्यहाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?