+
+
Shares

ऐसेलुखर्कमा सामुदायिक होमस्टे

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित ऐसेलुखर्कमा पर्यटकलाई लक्षित गरी हलेसी चाम्लिङ सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ ।
  • नगरपालिकाको एक करोड रुपैयाँ खर्चमा निर्माण गरिएको उक्त होमस्टेमा एकैपटक ४० जना पाहुना बस्न सक्ने व्यवस्था मिलाइएको छ ।
  • नगरपालिकाका मेयर बिमला राईले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै स्थानीयलाई आत्मनिर्भर बनाउन होमस्टेको अवधारणा कार्यान्वयनमा ल्याइएको बताइन् ।

३ साउन, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ऐसेलुखर्कमा सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको छ ।

त्रि–धार्मिकस्थल हलेसी र किरात समुदायको उद्गम थलो तुवाचुङमा आउने दर्शनार्थी एवं पर्यटकलाई लक्ष्यित गर्दै हलेसी चाम्लिङ सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो ।

ऐसेलुखर्कका आठ घर सम्मिलित सामुदायीक होमस्टे साउन २ गते हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले उद्घाटन गरेका छन् ।

हलेसी नजिकै रहेको ऐसेलुखर्कको किरात चाम्लिङ राई वस्तीमा नगरपालिकाकै प्रवर्द्धनमा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो । दुई वर्षको प्रयासपछि ऐसेलुखर्कमा सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको मेयर राईले बताइन् ।

होमस्टेका लागि आवश्यक पूर्वाधार तयार गर्न नगरपालिकाको एक करोड खर्च भएको छ । हाललाई ४० जना पाहुनालाई अटाउनेगरी होमस्टे सञ्चालनमा ल्याइएको हो ।

घरैमा उत्पादन भएको र घरैमा पाकेको अर्गानिक उत्पादनलाई प्रवर्द्धन गर्दै स्थानीयलाई आम्दानीसँग जोड्नका लागि सामुदायिक होमस्टेको परिकल्पना गरिएको मेयर राईले बताइन् ।

होटलको तुलनामा सामुदायिक होमस्टेको खाना, खाजा र आवास सस्तो हुने सञ्चालकहरु बताउँछन् । सादा खाना दुई सयमै उपलब्ध छ ।

सिंगल बेडको भाडा दुई सय निर्धारण गरिएको छ । लोकल चिकेन र मटनको प्रतिप्लेट मूल्य १५० रुपैयाँ छ । पाहुनाले माग गरे अनुसार अर्गानिक खाना, खाजा र नास्ताको साथमा वास पाउने हलेसी चाम्लिङ सामुदायीक होमस्टेका सदस्य मोहितराम राईले बताए । होमस्टेमा आएका पाहुनालाई लोकल भाले, ढिँडो, गुन्द्रुक, दाल, तरकारी लगायतका परिकारको स्वाद चखाउने व्यवस्था छ ।

होमस्टेमा बस्ने पाहुना विशेषगरी किरातजन्य खानपान र संस्कृतिमा रम्न पाउने सामुदायिक होमस्टे सञ्चालक रबिन चाम्लिङ बताउँछन् । पाहुनाले इच्छाएको खण्डमा होमस्टेमा साकेला नाच देखाउने सुविधा मिलाइएको छ ।

हलेसी आसपासमा हाललाई ऐसेलुखर्कमा सामुदायीक र माल्खुमा व्यक्तीगत होमस्टे स्थापना गरिएको हो । माल्खुमा होमस्टेसम्म जाने सडक ढलान गरिएको छ ।

ऐसेलुखर्कमा हलेसीबाट जाने २१ सय मिटर सडक ग्राभेलिङ गरिएको छ । यस्तै, एक घरबाट अर्को घरमा जाने सिमेन्टेड सिँडी निर्माण गरिएको छ ।

होमस्टे सञ्चालनका लागि नगरपालिकाले चरणवद्ध रुपमा कुकसम्बन्धी तालिम तथा अध्ययन भ्रमण गराएको थियो । नगरपालिकाले ब्राण्डिङ गरेको कोदोको तीन पाने रक्सीलाई बिक्रीवितरणका लागि समेत होमस्टेको प्रवर्द्धन गरिएको मेयर राईले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?