+
+
Shares

सन् २०२६ भित्र ग्रोक इम्याजिन एआईले ‘द ओडिसी’ फिल्म बनाउँछ : एलन मस्क

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रविधि व्यवसायी एलन मस्कले आफ्नो एआई उपकरण ग्रोक इम्याजिनमार्फत सन् २०२६ को अन्त्यसम्म होमरको महाकाव्य ‘द ओडिसी’मा आधारित पूर्ण लम्बाइको फिल्म बनाउने घोषणा गरेका छन् ।
  • मस्कले क्रिस्टोफर नोलन निर्देशित फिल्मको कलाकार छनोटप्रति असन्तुष्टि जनाउँदै आफ्नो फिल्म ऐतिहासिक रूपमा सही र मूल कृतिप्रति इमानदार रहने दाबी गरेका छन् ।
  • नोलनको ‘द ओडिसी’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमा २६ करोड ४० लाख अमेरिकी डलर कमाउँदै बक्सअफिसमा कीर्तिमानी सफलता हात पारेको छ ।

सन फ्रान्सिस्को । प्रविधि व्यवसायी एलन मस्कले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स उपकरण ‘ग्रोक इम्याजिन’ ले होमरको प्राचीन ग्रिक महाकाव्य ‘द ओडिसी’मा आधारित पूर्ण लम्बाइको फिल्म सन् २०२६ को अन्त्यसम्म बनाउने बताएका छन् ।

क्रिस्टोफर नोलन निर्देशित ‘द ओडिसी’ ले बक्सअफिस कीर्तिमान बनाउन थालेपछि मस्कले फिल्मबारे प्रतिक्रिया दिएका हुन् । हालै ट्रिलियनियर बनेका मस्कले फिल्म प्रदर्शनअघि यसका विभिन्न कलाकार छनोटप्रति विरोध जनाएका थिए ।

मस्कले आफ्नै सामाजिक सञ्जाल एक्समा ग्रोक इम्याजिनले ‘ऐतिहासिक रूपमा सही’ फिल्म बनाउने उल्लेख गरेका छन् । उनले उक्त एआई फिल्म सन् २०२६ को अन्त्यसम्म तयार हुने बताएका छन् । ‘यो वर्ष समाप्त हुनुअघि ग्रोक इम्याजिनले ऐतिहासिक रूपमा सही र होमरको कलाप्रति इमानदार ‘द ओडिसी’को पूर्ण लम्बाइको फिल्म बनाउनेछ,’ मस्कले लेखेका छन्।

उनले एक्सका एक प्रयोगकर्ताले पोस्ट गरेको एआईबाट निर्मित ‘द ओडिसी’को तीन मिनेट लामो छोटो फिल्म पनि आफ्नो पोस्टसँगै राखेका छन् ।

करिब २ हजार ८ सय वर्ष पुरानो र काल्पनिक कृति मानिने ‘द ओडिसी’मा एक आँखे राक्षस साइक्लोप्स, छवटा टाउको भएको राक्षस र नाविकहरूलाई सुँगुरमा परिणत गर्ने एक जादुगर्नीजस्ता पात्र छन् । त्यसैले एआई वा अन्य कुनै माध्यमबाट बनाइने यसको पुनर्कथनलाई कति हदसम्म ‘ऐतिहासिक रूपमा सही’ मान्न सकिन्छ भन्ने प्रश्न उठ्न सक्ने देखिन्छ ।

मस्कले सम्भवतः फिल्मका पात्रको जातीय पक्षलाई संकेत गरेका हुन् । उनले ट्रोयकी हेलेनको भूमिकामा लुपिता न्योङ्ओलाई छनोट गरिएको विषयमा खुलेर विरोध जनाएका थिए । मस्कले मार्चमा ‘क्रिस नोलन श्वेतविरोधी नश्लवादी हुन्’ भनेर लेखेका थिए । न्योङ्ओलाई पुरस्कार पाउने उद्देश्यले मात्र कलाकारका रूपमा छनोट गरिएको दाबी गर्दै उनले लेखेका थिए, ‘उनी पुरस्कार चाहन्छन् ।’

मस्कले एक्समा पोस्ट गरेको छोटो एआई फिल्मका सबै कलाकार श्वेत देखिन्छन् । यद्यपि पुष्टि नभएको यो पक्ष मस्कले रुचाएको कलाकार छनोटसँग बढी मेल खाने देखिन्छ । मस्कले इलियट पेजसम्बन्धी ट्रान्सफोबिक पोस्टलाई पनि समर्थन गरेका थिए । सुरुमा धेरैले पेजले अकिलिसको भूमिका निर्वाह गरेको दाबी गरेका थिए । पछि पेजले सिनोनको भूमिका निर्वाह गरेको पुष्टि भयो ।

प्रदर्शनअघि मस्कले ‘द ओडिसी’बारे विभिन्न गुनासा गरे पनि फिल्म युनिभर्सलका लागि ठूलो सफलता बनेको छ । यो नोलनको अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने फिल्म बन्ने दिशामा देखिएको छ । फिल्मले विश्वव्यापी प्रदर्शनको पहिलो सप्ताहन्तमा २६ करोड ४० लाख अमेरिकी डलर कमाएको छ । आगामी सातामा पनि यसको बक्स अफिस यात्रा जारी रहने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?