News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको पुतलीबजार नगरपालिका–८ स्थित बहाकोट कालिका मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्व सहपाठीहरूले पहल थालेका छन् ।
- मन्दिर क्षेत्रको विकासका लागि होमस्टे, साइकल एक्सपिडिसन र खेलकुद सञ्चालन गर्ने योजनासहित दीर्घकालीन गुरुयोजना कार्यान्वयनमा ल्याउने सहमति भएको छ ।
- स्थानीय सरकार र बासिन्दाको साझेदारीमा एक करोड १८ लाख रुपैयाँ लागतमा मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ ।
८ साउन, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–८ स्थित बहाकोट कालिका मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँका पूर्व सहपाठीहरू एकजुट भएका छन् ।
बहाकोटमा जन्मिएर हाल देश तथा विदेशमा रहेका पूर्व विद्यार्थीहरूले स्थानीयवासीसँग अन्तरक्रिया गर्दै मन्दिर संरक्षण, पर्यटन प्रवर्द्धन र क्षेत्रको दीर्घकालीन विकासका योजनाबारे छलफल गरेका हुन् ।
बहाकोट सेरोफेरोका पूर्व सहपाठीहरूले आयोजना गरेको वृहत् अन्तरक्रिया तथा अनुभव आदान–प्रदान कार्यक्रममा मन्दिरको संरक्षण, पर्यटक आकर्षण, स्थानीय संस्कृति प्रवर्द्धन तथा रोजगारी सिर्जनाका सम्भावनाबारे छलफल भएको थियो । छलफलपछि दीर्घकालीन विकास योजना तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने सहमति भएको कार्यक्रम संयोजक सुवेदार इन्द्रबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको कालिका मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेपछि अब यसलाई धार्मिक पर्यटनसँग जोड्दै बहाकोट क्षेत्रको समग्र विकासमा ध्यान केन्द्रित गरिएको हो ।
अन्तरक्रियाले मन्दिर परिसरको करिब तीन रोपनी क्षेत्रमा स्थानीयको साझेदारीमा मौलिक होमस्टे सञ्चालन गर्ने, साइकल एक्सपिडिसन आयोजना गर्ने, क्रस कन्ट्री दौड सञ्चालन गर्ने तथा स्थानीय खानपान, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनलाई प्राथमिकता दिने निर्णय गरेको संयोजक थापाले बताए ।
सुवेदार मेजर सूर्यबहादुर थापाले मन्दिर पुनर्निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको उल्लेख गर्दै अब आवश्यक पूर्वाधार, व्यवस्थापन र सेवा–सुविधाको विस्तारमा जोड दिनुपर्ने बताए ।
चण्डीकालिका आमा समूहकी मीरा दर्लामी मगरले कार्यक्रममा तय भएका योजनाले बहाकोटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनका अनुसार यसबाट स्थानीय उत्पादन, कला, संस्कृति र गाउँको अर्थतन्त्रसमेत चलायमान बन्ने अपेक्षा गरिएको छ ।
अर्वाखोला, अरौदी खोला र बूढोखोलाको बीचमा रहेको पहाडी डाँडामा अवस्थित बहाकोट कालिका मन्दिर प्रदेश सरकार, पुतलीबजार नगरपालिका र स्थानीयवासीको साझेदारीमा एक करोड १८ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरिएको हो । पुनर्निर्माणको काम २०८० साल असोजमा सम्पन्न भएको थियो ।
मन्दिरका पूजारी उदयराज मरासिनीका अनुसार यहाँ चैतेदशैंको अष्टमी र बडादशैंको महानवमीमा विशेष पूजा हुने गर्छ भने वर्षभर नियमित पूजा सञ्चालन हुँदै आएको छ ।
स्थानीय भरतकुमार रानाका अनुसार मन्दिर परिसरबाट स्याङ्जा, तनहुँ, नवलपरासी, गोरखा, म्याग्दी, लमजुङ, पर्वत, बागलुङ र पाल्पालगायत जिल्लाका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र स्थानीय संस्कृतिको संगम बनेको बहाकोटलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित स्थानीयवासी र पूर्व सहपाठीहरूले अभियान अघि बढाएका छन् ।
प्रतिक्रिया 4