News Summary
Generated by OK AI. Editorially reviewed.- निर्माता नमित मल्होत्राले अमेरिकाको कमिक-कनमा बलिउड फिल्म रामायणम्को ट्रेलर तत्काल विश्वव्यापी रूपमा सार्वजनिक नहुने घोषणा गरेका छन् ।
- मल्होत्राले ट्रेलर रिलिज स्थगित हुनुको स्पष्ट कारण नखुलाए तापनि यो फिल्म हलिउड फिल्मसरह विश्वभर प्रदर्शन हुने गौरवपूर्ण क्षण रहेको बताए ।
- निर्देशक नितेश तिवारी तथा कलाकार रणबीर कपूर र यश सहभागी हुने प्यानलमा ट्रेलरको केही झलक देखाइने अपेक्षा गरिएको छ ।
अमेरिकाको स्यान डिएगोमा हुन लागेको फिल्म मेला ‘कमिक-कन २०२६’ मा बलिउड फिल्म ‘रामायण’बारे महत्वपूर्ण जानकारी सार्वजनिक भएको छ । फिल्मको प्यानल सुरु हुनुभन्दा केही मिनेटअघि निर्माता नमित मल्होत्राले यसको ट्रेलर २४ जुलाईमा विश्वव्यापी रूपमा रिलिज नहुने जानकारी दिएका हुन् ।
कमिक-कनमा पहिलो झलक देखाइएपछि ट्रेलर अनलाइन रिलिज हुने प्रतीक्षामा रहेका प्रशंसक यो घोषणाबाट आश्चर्यमा परेका छन् ।
मल्होत्राले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज रामायणम्का लागि निकै विशेष दिन हो । सोनी पिक्चर्स इन्टरटेनमेन्टसँग मिलेर यो फिल्मलाई विश्वभर पुर्याउने हाम्रो सपना अब साकार हुँदै छ ।’
उनले ट्रेलर नयाँ मितिमा विश्वव्यापी रूपमा सार्वजनिक गरिने जानकारी दिए पनि उक्त मिति खुलाएका छैनन् ।
मल्होत्राका अनुसार भारतीय सिनेमाको इतिहासमा यो गौरवपूर्ण क्षण हुनेछ । पहिलोपटक ‘रामायणम्’जस्तो भारतीय कथालाई हलिउडको ठूलो फिल्मसरह विश्वव्यापी रूपमा प्रस्तुत गर्न लागिएको उनको भनाइ छ । यसबाट संसारभरका मानिसले भारतको संस्कृति र पौराणिक कथालाई नयाँ दृष्टिकोणबाट बुझ्ने अवसर पाउने उनको विश्वास छ ।
यद्यपि, ट्रेलरको रिलिज स्थगित गर्नुको स्पष्ट कारण उनले खुलाएका छैनन् । भारतमा जारी विद्यार्थी आन्दोलनबारे अन्तर्राष्ट्रिय स्तरमा चर्चा भइरहेका बेला यो निर्णय आएको हो । यसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अनुमान भइरहेका छन् ।
आफ्नो सन्देशको अन्त्यमा मल्होत्राले ‘रामायणम्’का सबै प्रशंसक र समर्थकलाई धन्यवाद दिएका छन् । देशका युवा नै भारतको भविष्य भएको र उनीहरूको राम्रो भविष्यका लागि सबै मिलेर काम गर्नुपर्ने उनले बताएका छन् ।
यो घोषणा मल्होत्रा, निर्देशक नितेश तिवारी तथा फिल्मका मुख्य कलाकार रणबीर कपूर र यश स्यान डिएगो कमिक-कनको बलरुम २० मा आयोजना हुने विशेष प्यानलमा सहभागी हुन लागेका बेला भएको हो । एक घण्टाको उक्त कार्यक्रममा फिल्मका केही विशेष दृश्य तथा ट्रेलरको पहिलो झलक देखाइने अपेक्षा गरिएको छ ।
यस वर्ष ‘रामायणम्’ कमिक-कनका सर्वाधिक चर्चित अन्तर्राष्ट्रिय परियोजनामध्ये एक बनेको छ । कार्यक्रममा यसलाई ‘इन्डियन स्पटलाइट’अन्तर्गत विशेष स्थान दिइएको छ ।
यसअघि ट्रेलर भारतीय समयअनुसार बिहान १० बजे रिलिज हुने समाचार आएको थियो । पीभीआर पिक्चर्सको आधिकारिक पेजमा पनि मिति र समय सार्वजनिक गरिएको थियो । तर अब ट्रेलरको नयाँ रिलिज मिति प्रतीक्षा गरिएको छ ।
सोनी पिक्चर्ससँगको सहकार्यपछि ट्रेलर अर्को साता ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’सँगै रिलिज हुन सक्ने चर्चा पनि छ । टम हल्यान्ड अभिनीत उक्त फिल्म ३० जुलाईमा हलमा रिलिज हुने तय छ । त्यसो भए दर्शकले ठूलो पर्दामा ‘रामायणम्’को ट्रेलर हेर्न पाउने अनुमान गरिएको छ ।
मल्होत्राले लेखेका छन्, ‘भारतीय सिनेमाको एक सय वर्षभन्दा लामो इतिहासमा रामायणम्लाई कुनै प्रमुख विश्वव्यापी हलिउड फिल्मसरह संसारभर प्रदर्शन गरिने यो गौरवपूर्ण क्षण हुनेछ । यो विशेष छ, किनभने यसले विश्वभरका मानिसलाई हाम्रो संस्कृति र कथाको समृद्धि नयाँ गौरव र उत्साहका साथ चिन्ने बाटो खोल्छ ।’
रणबीर अभिनीत ‘रामायणम्’ निर्माणको सुरुदेखि नै विश्वभरका दर्शकलाई ध्यानमा राखेर तयार गरिएको हो । विशेष अंग्रेजी संस्करणसहित यो फिल्म विभिन्न भाषामा रिलिज हुनेछ ।
प्रतिक्रिया 4