News Summary
Generated by OK AI. Editorially reviewed.- न्यायको माग गर्दै सिंहदरबार अगाडि धर्ना बसेका निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ।
- प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिई अनुसन्धान अघि बढाएको छ।
- घरेलु हिंसा र अन्यायमा परेको गुनासो गर्दै आएका उनीहरू तीन दिनदेखि प्रहरी वृत्त सिंहदरबारको हिरासतमा रहेका छन्।
८ साउन, काठमाडौं । न्याय माग्दा निहारिका राजपुत र बिनु यादवमाथि मुद्दा दायर भएको छ ।
न्याय माग्दै सिंहदरबारको गेट अगाडि पुगेका उनीहरू उल्टै अहिले मुद्दा खेप्नु पर्ने अवस्थामा पुगेका हुन् । तीन दिनदेखि अहिले उनीहरू दुवैजना प्रहरी हिरासतमा छन् । उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर प्रहरीले उनीहरूमाथि अनुसन्धान अघि बढाएको हो ।
उनीहरू गत बुधबार सिंहदरबार गेट अगाडिबाट पक्राउ परेका थिए । झरीमा रुझ्दै उनीहरू न्याय माग्दै र गृहमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका थिए । तर प्रहरीले उनीहरूलाई सिंहदरबार पस्न नदिइ रोकेको थियो । त्यसपछि गेट अगाडि सडकमै उनीहरू धर्ना बसेका थिए ।
आवत जावत नै अवरुद्ध हुने गरी सडकमा धर्ना बसेको र सार्वजनिक शान्तिमा खलल पुर्याएको भन्दै उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाइएको हो ।
निहारिका कुमारी आमाको रुपमा चर्चामा आएकी थिइन् । निहारिकालाई शिवराज श्रेष्ठले विवाह गर्ने भन्दै पटक पटक करणी गरेको र पछि विवाह नगरी अलपत्र छाडेका थिए । यता अविवाहित रहेकी निहारिकाले भने छोरा जन्माएकी थिइन् ।
त्यसपछि कुमारी आमा भनेर उनी चिनिदै आएकी थिइन् । आफू बलात्कार भएका भन्दै कानूनी उपचार खोज्दा प्रशासनले असहयोग गरेको उनले बताउँदै आएकी थिइन् । निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन् ।
उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुन: जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन् । शिवराज र आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग निहारिकाको थियो ।
१८ कात्तिक २०७९ मा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको बच्चाको डीएनए जाँच श्रेष्ठबाट निकालिएको डीएनएनको नमूनासँग मेल खायो । त्यसपछि निहारिका र शिवराजबीच मिलापत्र भयो ।
शिवराजले निहारिकालाई विवाह गरे । तर पछि भने उनलाई श्रीमतीको रुपमा व्यवहार गरिएन । घर परिवारबाट पनि बुहारीको रुपमा व्यवहार नगर्ने र घरेलु हिंसा भएको भन्दै छोरा लिएर न्याय माग्दै सडकमा आएकी छिन् ।
यता बिनु यादवको पनि कथा उस्तै छ । रामेछापका प्रदीप कडायतले आफूलाई श्रीमतीको रुपमा व्यवहार नगरेको घर परिवारबाट पनि हिंसा भएको आरोप छ ।
आफ्नै प्रेमिबाट बलात्कृत भएको उजुरी लिएर उनी २९ वैशाख २०७५ कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् बिनु । यहाँबाट सुरु भएको उनको न्याय यात्रा अझै टुंगिएको छैन । बलात्कारको उजुरीपछि २५ मंसिर २०७६ मा भद्रकाली मन्दिरमा प्रदीप र बिनुको विवाह भएको थियो ।
त्यसपछि रामेछापस्थित श्रीमानको घर गएपछि उनीमाथि निरन्तर हिंसा भएको बिनुको भनाइ छ । जबरजस्ती गर्भपतनसमेत गर्न लगाएको उनको भनाई छ । ७ असोज २०७७ मा बिनुविरुद्ध श्रीमान् प्रदीपले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरे । ७ वैशाख २०७९ मा रामेछाप जिल्ला अदालतका न्यायाधीश बद्रिप्रसाद ओलीको इजलासले सम्बन्ध विच्छेद हुने फैसला गर्यो । आफूलाई जानकारी नै नदिइ एक पक्षीय रुपमा फैसला गरेको भन्दै उनी उच्च्च अदालत पुग्नि । उच्च अदालतले जिल्लाको फैसला उल्ट्यायो । यता यो फैसलाविरुद्ध प्रदीप भने सर्वोच्च अदालत गएका छन् । अहिले यो मुद्दा बिचाराधीन अवस्थामै छ ।
प्रतिक्रिया 4