+
+
Shares

कसले रोक्ने श्रीलंका टप्पुको कटान ?

श्रीलंका टप्पुस्थित चिलिया क्षेत्रमा सप्तकोशी नदीको प्रवाहले तीव्र रूपमा कटान गर्न थालेपछि जनधन क्षति हुनबाट बचाउन ६ दिनदेखि बाँस र बालुवा भरिएका बोरा राख्ने काम भइरहेको छ ।

प्रदीप मेन्याङ्बो प्रदीप मेन्याङ्बो
२०८३ साउन ८ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी र उदयपुरको सीमामा पर्ने श्रीलंका टप्पुको चिलिया क्षेत्रमा सप्तकोशी नदीले तीव्र कटान गर्दा ३ हजार जनसङ्ख्याको बसोबास जोखिममा परेको छ ।
  • स्थानीय बासिन्दाले छ दिनदेखि श्रमदान गरी बाँस र बालुवा भरिएका बोराको सहायताले नदी कटान नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।
  • सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीले नदीको दिगो व्यवस्थापनका लागि कोशी परियोजना र भारतीय पक्षसँग समन्वय आवश्यक रहेको बताए ।

८ साउन, सुनसरी । श्रीलंका टप्पुस्थित चिलिया क्षेत्रमा सप्तकोशी नदीको प्रवाहले तीव्र रूपमा कटान गर्न थालेपछि जनधन क्षति हुनबाट बचाउन ६ दिनदेखि बाँस र बालुवा भरिएका बोरा राख्ने काम भइरहेको छ ।

तर जनशक्तिको अभावले नदी कटान नियन्त्रण गर्न गाह्रो भइरहेको छ । सप्तकोशीको पानीको वहाव बढ्ने बित्तिकै सतह नाघेर जाने सम्भावना रहेकाले त्यसलाई रोकथाम र नियन्त्रण गर्न दीर्घकालिन तटबन्ध गर्नुपर्ने अवस्था छ ।

करिब ३ हजार जनसंख्याको बसोबास रहेको श्रीलङ्का टप्पु सप्तकोशीको बीचमा पर्छ । यो टप्पुको पूर्वी भागमा कोशीको मुख्य नदी र पश्चिमी भागमा सहायक भंगालो बग्ने गर्छ ।

टप्पुको पूर्वी भाग सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ वडा अन्तर्गत पर्छ भने पश्चिम क्षेत्र उदयपुरको बेलका नगरपालिका २ र ३ वडासम्म फैलिएको छ ।

नदीले सबैभन्दा बढी श्रीलंका टप्पुको चिलिया क्षेत्रमा क्षति पुर्‍याउँदै आएकाले बाँस र बालुवा भरेको बोराले नदी कटान नियन्त्रण गर्ने प्रयास भइरहेको स्थानीय बद्री राईले बताए ।

श्रीलंका टप्पुको चिलिया क्षेत्रमा कसरी नदी कटान नियन्त्रण गर्ने प्रयास भइरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले हामी केही दिनदेखि गाउले स्तरबाटै श्रमदान गरेर नदि कटान नियन्त्रण गर्ने प्रयासमा जुटेका छौं । बराहक्षेत्र नगरपालिका र बेलाका नगरपालिकाले बोरा र जालीहरुको दिएको छ । तर जनश्रमदानमा जुट्ने संख्या थोरै भएकाले कामले रफ्तार लिन सकेको छैन ।’

उनले छिटो भन्दा छिटो काम गर्न सकिए नदि कटान रोक्न सकिने आशा पलाएपनि आर्थिक अभावले भएका कामदारलाई खाजा पानी, नास्ता दिन भने नसकिएको पनि बताए ।

उनले भने, ‘हिजो बिहीबारसम्म त बराहक्षेत्र नगरपालिकाले खाजापानीको सहयोग गरेको थियो । आज नगरपालिकाबाट कोही आउन भएको छैन ।’

उनले गएका वर्षमा भारतीय विहार सरकारले गाउँलेहरूलाई बोरामा बालुवा भर्न लगाएर नदी कटानको काम गर्ने बेलामा भागेको बताए ।

उक्त क्षेत्रमा नदीकटान नियन्त्रण गर्ने जिम्मेवारी र दायित्व कोशी प्रोजेक्टको हो । कोशी प्रोजेक्ट नेपाल भारतवीचको कोशी सम्झौता अनुसार भारत सरकारले संचालन गर्दै आएको छ ।

उनले भने, ‘अहिलेलाई हामी आफैले नदी नियन्त्रणको काम गरिरहेका छौं, कति सकिन्छ गर्दै जाने हो ।’

सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझी श्रीलंका टप्पुका बसोबास गर्ने अधिकांश परिवार कृषि र पशुपालनमा निर्भर रहेकाले जमिन जोगाउन लागिपरेको बताए ।

उनकाअनुसार स्थानीय किसानहरु मकै, धान, सब्जी खेती, पशुपालन र दूग्ध उत्पादन गरेर जिविका चलाउँदै आएका छन् ।

उनले भने, ‘सप्तकोशी नदीले वर्षायाममा बर्सेनि कटान गर्नाले स्थानीय त्रसित त हुनु नै परेको छ । कुनबेला नदीमा ठूलो बाढी बढेर आउने हो र सबै बगाउने हो भनेर राती पनि सुत्न सकेका छैनौं । खेतीयोग्य जमीन बग्दै गएको छ । बस्ती जोखिममा पर्दै आएको छ ।’

कटान नियन्त्रणका लागि स्थानीय बासिन्दा जुटेर नदीको किनारमा बाँसका घोचा ५ देखि ८ फुटसम्म गाडेका छन् । बाँधेर बालुवा भरेका बोरा नाइलनको डोरीले बाधेर कटान क्षेत्रमा भर्दै आएका छन् ।

माझीले भने, ‘३ सय घना बाँस कोशी किनामा पर्ने चिलिया क्षेत्रमा गाडी सकेका छौं । ती मध्ये ५०/६० वटा बाँस नदीले बगाएर लग्यो ।’

नदी कटान रोक्न पहिले नै बनाइएको १८ वटा स्पर मध्ये ९ वटा स्पर पूर्ण रुपमा क्षतिग्रस्त भएकाले कटान नियन्त्रण गर्न गाह्रो भएको स्थानीय बासिन्दाले बताएका छन् ।

सप्तकोशी नदीको कटान रोक्न सुरक्षा निकाय र उदयपुरको बेलका नगरपालिका र सुनसरीको वराहक्षेत्र नगरका संयन्त्रसमेत खटिएको स्थानीयले बताएका छन् ।

 सशस्त्रका १४ जना र नेपाली सेना ३४ जना खटिरहेको सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीले बताए ।

उनले भने, ‘यो नदी कटान नियन्त्रण गर्न सानोतिनो बजेटले हुँदैन । दीर्घकालीन समाधानका लागि कोशी परियोजना, जिल्ला प्रशासन कार्यालय र भारतीय पक्षसँग समन्वय गरेर निस्केको निष्कर्ष अनुसार गर्नु पर्छ । तर हामीले बुझ्दा भारत सरकारले चासो नदिएको जस्तो देखिएको छ ।’

०४५ सालमा सप्तकोशी नदीले धार परिवर्तन गरेपछि नदीको प्रवाह पूर्वतर्फ बग्दै आएको छ । कोशी नदीले धार परिवर्तन गरेपछि विशाल क्षेत्रफल नदी उकास जग्गाका रुपमा परिणत भएको छ ।

सुनसरी निर्वाचन क्षेत्र ४ मा पर्ने श्रीलंका टप्पुका मतदाताले यसपटकको संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र रास्वपाका दिपक साहलाई सांसद बनाएर पठाएका छन् । यसअघि नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले यही क्षेत्रबाट जित्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?