News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्षमा नियम विपरीत कार्य गर्ने व्यवसायीबाट २ करोड ६१ लाख २३ हजार ३ सय रुपैयाँ जरिबाना असुल गरेको छ ।
- विभागले देशभरि ९ सय ६५ अनुगमन टोली परिचालन गरी कुल ४ हजार ४ सय ८१ व्यावसायिक फर्मको अनुगमन गरेको थियो ।
- अनुगमनका क्रममा ५ सय ३७ फर्मलाई कारबाही गरिएको, ३ हजार ४ सय ६२ लाई सचेत गराइएको र १ सय १५ फर्ममात्र नियमसंगत अवस्थामा फेला परेका छन् ।
८ साउन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्ष २०८२/८३ मा बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट २ करोड ६१ लाख २३ हजार ३ सय रुपैयाँ जरिबाना असुल गरेको छ ।
विभागले शुक्रबार वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्दै उपभोक्ता संरक्षण ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम गरेको बजार अनुगमन क्रममा ५ सय ३७ व्यावसायिक फर्मलाई कारबाही गर्दै उक्त रकम जरिबाना तिराएको जनाएको छ ।
गत आव देशभरि ९ सय ६५ अनुगमन टोली परिचालन गरी कुल ४ हजार ४ सय ८१ व्यावसायिक फर्म अनुगमन गरिएको थियो ।
अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात् ३ हजार ४ सय ६२ फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ । त्यसैगरी ३ सय ६२ फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ ।
विभागको तथ्यांक अनुसार अनुगमन गरिएकामध्ये १ सय १५ फर्ममात्र सम्पूर्ण रूपमा सामान्य (नियमसंगत) अवस्थामा फेला परेका थिए ।
अनुगमन क्रममा कैफियत भेटिएका ४ फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाइएको विभागका प्रवक्ता अनिल किराँतीले जानकारी दिए ।
विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ । जसअन्तर्गत विभागको आफ्नै गुनासो प्रणालीमा आएका कुल ९ सय ८० गुनासोमध्ये ९ सय २१ वटा फर्छ्योट भइसकेका छन् भने ५८ गुनासो प्रक्रियामा छन् ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको ‘हेलो सरकार’ मार्फत विभागमा प्राप्त ३ सय २० गुनासोमध्ये ४६ वटा समाधान भएका छन् ।
बाँकी २ सय ३६ गुनासो प्रशोधन गरिँदै गरेको, ३७ वटा हेरिएको र एउटा गुनासो विभागसँग असम्बन्धित रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया 4