News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ लैजान नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने बताएका छन् ।
- अध्यक्ष अग्रवालले कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स र ड्रोन प्रविधिजस्ता नवप्रवर्तनमार्फत युवा जनशक्ति र डिजिटल पहुँचलाई उत्पादनशील अर्थतन्त्रसँग जोड्न सके नेपाल दक्षिण एसियाकै महत्त्वपूर्ण केन्द्र बन्न सक्ने उल्लेख गरे ।
- उनले अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी उद्योग, बजार र समाजसँग जोड्न विश्वविद्यालय, निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।
१० साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने बताएका छन् ।
सनवे कलेजद्वारा आयोजित ‘इनोभेसन फेस्ट २०२६’ उद्घाटनमा अध्यक्ष अग्रवालले विश्व चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, बिग डाटा, इन्टरनेट अफ थिङ्स, ब्लकचेन, क्वान्टम कम्प्युटिङ तथा जैविक प्रविधिले विश्व अर्थतन्त्र र उद्योगको स्वरूप परिवर्तन गरिरहेको बताए ।
उनले प्राकृतिक स्रोत वा सस्तो श्रमशक्तिभन्दा ज्ञान, अनुसन्धान, नवप्रवर्तन र प्रविधि नै राष्ट्रको प्रतिस्पर्धात्मक क्षमताको प्रमुख आधार बनेको उल्लेख गर्दै नेपालले पनि युवा जनशक्ति, सिर्जनशीलता र डिजिटल पहुँचलाई उत्पादनशील अर्थतन्त्रसँग जोड्न सके दक्षिण एसियाकै महत्त्वपूर्ण नवप्रवर्तन केन्द्र बन्न सक्ने धारणा राखे ।
त्यसैगरी फेस्टले एआई, रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन र भविष्यका सिप विकास एकै मञ्चमा ल्याएको उल्लेख गर्दै यी क्षेत्र नै भविष्यको रोजगारी, उद्योग, उत्पादन र आर्थिक विकासका आधार स्तम्भ रहेको उनले बताए ।
एआईले शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, बीमा, पर्यटन, सार्वजनिक सेवा, उत्पादन तथा व्यापारका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरिरहेको उल्लेख गर्दै यसको प्रयोग पारदर्शिता, गोपनीयता, नैतिकता र मानव हित केन्द्रमा राखेर गर्नुपर्नेमा अग्रवालले जोड दिए । प्रविधिले मानव विस्थापित गर्ने नभई अझ सक्षम बनाउने उद्देश्यसाथ विकास हुनुपर्ने उनको भनाइ छ ।
रोबोटिक्सले औद्योगिक उत्पादन, स्वास्थ्य सेवा, स्वचालन, जोखिमपूर्ण कार्य तथा विपद् व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै उनले नेपालको भौगोलिक अवस्था अनुसार कृषि, वन संरक्षण, भूनक्सांकन, पूर्वाधार निरीक्षण, विपद् उद्धार, औषधि ढुवानी तथा पर्यटन प्रवर्द्धनमा ड्रोन प्रविधिको व्यापक उपयोग गर्न सकिने बताए ।
अध्यक्ष अग्रवालले अनुसन्धानविना नवप्रवर्तन सम्भव नहुने उल्लेख गर्दै विश्वविद्यालय, अनुसन्धान संस्था, निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । अनुसन्धान प्रयोगशालामा सीमित नराखी उद्योग, बजार र समाजसँग जोड्नुपर्ने आवश्यकता उनले औँल्याए ।
उनले स्टार्टअप, इनक्युबेसन सेन्टर, एक्सेलेरेटर, भेन्चर क्यापिटल तथा बौद्धिक सम्पत्ति अधिकारको प्रभावकारी संरक्षण मार्फत नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
युवालाई रोजगारी खोज्नेमात्र होइन, रोजगारी सिर्जना गर्ने उद्यमशील सोचसाथ अघि बढ्न आग्रह गर्दै भविष्यमा सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता, डिजिटल सिप, नेतृत्व र निरन्तर सिकाइ नै सफलताको आधार हुने उनको भनाइ थियो ।
चेम्बर प्रविधिमैत्री अर्थतन्त्र निर्माण, डिजिटल रूपान्तरण, स्टार्टअप प्रवर्द्धन, उद्योग शैक्षिक सहकार्य तथा अनुसन्धानमा आधारित उद्यम विकासका लागि निरन्तर प्रतिबद्ध रहेको अध्यक्ष अग्रवालले बताए ।
सरकार समक्ष राष्ट्रिय एआई नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, अनुसन्धान तथा विकासमा लगानी वृद्धि गर्ने, विश्वविद्यालय उद्योग सहकार्यलाई संस्थागत गर्ने, स्टार्टअपलाई कर तथा वित्तीय प्रोत्साहन उपलब्ध गराउने, डिजिटल पूर्वाधार, साइबर सुरक्षा र डाटा संरक्षण सुदृढ बनाउने, एआई, रोबोटिक्स, सेमिकन्डक्टर डिजाइन, डाटा साइन्स, साइबर सुरक्षा तथा हरित प्रविधिमा दक्ष जनशक्ति विकास गर्ने, महिला तथा सीमान्तकृत समुदायको प्रविधिमा पहुँच विस्तार गर्ने र बौद्धिक सम्पत्ति अधिकारको प्रभावकारी संरक्षण सुनिश्चित गर्न सरकारसँग अग्रवालले आग्रह गरे ।
उनले फेस्टलाई केवल प्रदर्शनी नभई नेपालको भविष्य निर्माण गर्ने साझा मञ्चका रूपमा व्याख्या गर्दै अनुसन्धान, नवप्रवर्तन र प्रविधिमा आधारित विकास मार्फत समृद्ध नेपाल निर्माण गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको औँल्याए ।
प्रतिक्रिया 4